अधिस्नातक तह पिजिडी एजुकेशनमा भर्नाका लागि आवेदन माग

काठमाण्डौं/१० पुस – त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, डीनको कार्यालयले अधिस्नातक तह पिजिडी एजुकेशन कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । शिक्षाशास्त्र सङ्कायमा १ वर्षे बी. एड. कार्यक्रमको विकल्पमा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पिजिडी एजुकेशन कार्यक्रमा भर्नाका लागि आवेदन माग गरेको हो ।


जुनसुकै विषय लिई स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सक्ने छन् । साथै शैक्षिक सत्र २०८१÷०८२ का लागि प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुनका लागि माघ २० गतेसम्म आवेदन फाराम बुझाउनु पर्ने छ ।


आवेदन फाराम विद्यार्थीहरूले भर्ना हुन चाहेको क्याम्पस/कलेजमा सम्पर्क गरी अनलाइन मार्फत बुझाउनुपर्नेछ । प्रवेश परीक्षा माघ २५ गते शुक्रबार दिनको ११ः०० -१३ः०० बजेसम्म हुने, नतिजा प्रकाशन माघ २९ गते गरिने, विद्यार्थी भर्ना माघ ३० गतेदेखि फागुन ९ गतेसम्म हुने र कक्षा सञ्चालन फागुन १० गतेदेखि हुने विश्वविद्यालयको तालिका छ ।