विद्यालयमा शिक्षामन्त्रीको अनुगमन

काठमाडौं/९ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जोरपाटी स्थित श्री खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालय, ललितपुरको न्यु मिलिनियम स्कुल र बुढानीलकण्ठको इम्पेरियल वर्ल्ड स्कुलको अनुगमन गरेकी छन् । विद्यालयको शैक्षिक अवस्था, शिक्षण सिकाई, पाठ्यक्रमको प्रभावकारिता र कार्यान्वयनको अवस्थाका बारे जानकारी लिने उदेश्यले अनुगमन गरेकी हुन् ।


मन्त्री भट्टराईले निरीक्षणका क्रममा कक्षाकोठामा पुगेर पाठ्यक्रमको अभ्यास, पाठ्यक्रममा देखिएका समस्या, अध्ययन गर्दै गर्दा भोगेका समस्या तथा सिकाईका बारेमा विद्यार्थीहरूसँग सोधेकी थिइन । सो क्रममा विद्यार्थीहरूले नेपालको विद्यालय शिक्षा सुधारमा मन्त्रीका योजनाका बारेमा प्रश्न गरेका थिए ।


साथै विद्यार्थीहरूले सैद्धान्तिक पढाई भन्दा प्रयोगात्मक तथा व्यवहारिक शिक्षा आफुहरूलाई आवश्यक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेको थिए । श्री खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूहरूलाई व्यवहारिक शिक्षा चाहिएकोले तालिमको पनि व्यवस्था गरिदिन माग गरे ।


अवलोकन पछि मन्त्री भट्टराईले विशेष शिक्षाका बारेमा राज्यले छुट्टै अवधारणा बनाएर विद्यार्थीहरूको सिकाईमा ध्यान दिन आवशयक रहेको र त्यसबारे आफूले विशेष पहल गर्ने बताएकी छन् । त्यसैगरी संस्थागत विद्यालय र सामुदायिक विद्यालयबिच ज्ञान तथा शिक्षण सिकाईको आदान प्रदान गर्नुपर्ने, प्रोग्रेसिभ एजुकेशनको अवधारणालाई सबै विद्यालयमा लैजान आवश्यक रहेको र विद्यार्थीहरूलाई समान शिक्षा दिनुपर्नेे धारणा व्यक्त गरेकी छन् । आगामी दिनमा अन्य विद्यालय पनि अवलोकन गर्ने मन्त्री भट्टराई ले जानकारी दिइन ।