विद्यालय कर्मचारीको थप सेवा सुविधा आगामी बजेटमा निर्धारण गरिने छ : शिक्षामन्त्री

काठमाडौं/१ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय कर्मचारीहरूलाई थप सेवा सुविधा आगामी बजेटमा निर्धारण गरिने बताएकी छन् । थप सेवा सुविधा दिन्छौँ भनेर प्रतिबद्धता गरिएको र कति दिने, के गर्ने भन्ने आगामी बजेटमा निर्धारण गरेर जाने बताएकी हुन् ।


खबर एजुकेशनसँग शिक्षामन्त्री कार्यक्रममा शिक्षक तथा विद्यालय कर्मचारीहरूले राखेको प्रश्नको जवाफमा उनले सो कुरा बताएकी हुन् । उनले भनिन् “विद्यालय कर्मचारीहरूका लागि हाल तोकिएको सेवा सुविधा उपलब्ध हुँदै आएको छ । साथै सङ्घीय सरकारबाट हाल उपलब्ध हुँदै आएको रकममा थप रकमको व्यवस्था गर्न स्थानीय तहलाई सङ्घीय सरकारले अनुरोध समेत गर्दै आएको छ । तर अझै पनि थप सेवा सुविधा दिनुपर्ने कुरामा हामीले प्रयत्न गरिरहेका छौँ । थप सेवा सुविधा दिन्छौँ भनेर प्रतिबद्धता पनि गरिरहेका छौँ । यसमा कति दिने, के गर्ने भन्ने कुरामा आगामी बजेटमा हामीले निर्धारण गरेर जाने छौँ ।”


त्यसैगरी २०७६ पछि नियुक्त भएका शिक्षकहरूको पेन्सन सुविधाको विषय र दरबन्दीको विषय अहिलेको सङ्घीय संसदको समितिमा दफावार छलफलमा रहेको र विधेयक पारित हुने सन्दर्भमा यी विषयहरूलाई समेटेर लगिने बताइन । उक्त विधेयक संसदबाट पारित भई कानुनका रूपमा कार्यान्वयन हुँदा यी विषयहरूलाई समाधान गरेर अगाडी बढ्ने उनको भनाई छ ।


“२०७६ पछि नियुक्त भएका शिक्षकहरूको पेन्सन सुविधाको विषय र दरबन्दीको विषय अहिलेको सङ्घीय संसदमा छलफलमा रहेको विधेयकमा यी विषय संशोधनका रूपमा पनि आईरहेका छन् । त्यो विधेयक पारित हुने सन्दर्भमा यी विषयहरूलाई समेटेर लगिने छ । उक्त विधेयक संसदबाट पारित भई कानुनका रूपमा जब कार्यान्वयन हुन्छ यी विषयहरूलाई समाधान गरेर हामी अगाडी बढ्ने छौँ “उनले भनिन् ।


हेर्नुहोस भिडियोमा