विद्यार्थी संख्या न्यून भएपछि गल्छीका ९ विद्यालय समायोजन

धादि/११ जेठ – विद्यार्थी संख्या न्यून भएपछि धादिङको गल्छी गाउँपालिकाले विद्यालय तथा बालविकास केन्द्र समायोजन गर्ने भएको छ । ९ वटा विद्यालय तथा बालविकास केन्द्रलाई अन्य विद्यालयमा समायोजन गर्ने भएको हो ।


गाउँपालिकाले “सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७” अनुसार विद्यार्थी संख्या, शैक्षिक अवस्था र व्यवस्थापनको अवस्थालाई आधार बनाएर समायोजन प्रक्रिया अघि बढाइएको जनाएको छ ।


समायोजन गरिएका विद्यालयहरूमा कालिदेवी आधारभूत विद्यालय, सुन्टार आधारभूत विद्यालय, रिपछाप बालविकास केन्द्र, शिवालय आधारभूत विद्यालय, धादिङ आधारभूत विद्यालय, भैरवी आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, असारे आधारभूत विद्यालय र ठाँटीचौर आधारभूत विद्यालय रहेका छन् । त्यस्तै अन्लेटार आधारभूत विद्यालयमा अब बालविकास कक्षा मात्रै सञ्चालन हुने व्यवस्था गाउँपालिकाले गरेको छ ।


गाउँपालिकाले समायोजित विद्यालयका विद्यार्थीहरूको आईईएमआईएस विवरण सम्बन्धित विद्यालयमा स्थानान्तरण गरिने जनाएको छ । साथै विद्यालयका चलअचल सम्पत्तिको व्यवस्थापनका लागि सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिने सूचनामा उल्लेख छ । समायोजनमा परेका विद्यालयका शिक्षक तथा कर्मचारीलाई शिक्षा, युवा तथा खेलकुद शाखामा उपस्थित भई तोकिएअनुसार विद्यालय छनोट गर्न आग्रह गरिएको छ ।