विदेशी सम्बन्धनका कलेजलाई नियमन गर्न तत्कालै नियमावली ल्याउँदैछौँँ : शिक्षामन्त्री

काठमाडौँ /१० जेठ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरुका लागि नियमावली ल्याउने तयारी भएको बताएका छन् । उक्त कलेजहरुबाट धेरै नै गुनासोहरु आउने गरेका बताउँदै नियमनका लागि अन्तिम ड्राफ्ट कनुन मन्त्रालयमा पठाएको जानकारी दिए ।


आइतबार आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको बताए । “सुरुमा अर्थ मन्त्रालयमा पठाई सकेका छौं । अर्थ मन्त्रालयबाट टिप्पिणी सहित फिर्ता आएपछि त्यो कनुन मन्त्रालयमा जान्छ” उनले भने । ती मन्त्रालयहरुको स्वीकृत तथा रायपछि मन्त्रिपरिषद्मा पेश गरिने उनले बताए ।


नियमावली आएपछि नियमन गर्नका लागि कुन कुन विश्वविद्यालयलाई दिन मिल्ने कुनलाई नमिल्ने, नेपाली विश्वविद्यालयलाई नियमन गरिएपनि विदेशी सम्बन्धनका कलेजहरुलाई आजसम्म राम्रो सँग नियमन पनि नभईरहेकोले नियमावलीमार्फत स्पष्ट गर्ने उनको भनाई छ ।


उनले तत्कालै तीन नियमावली शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसंवद्ध कलेज नियमनसम्बन्धी नियमावली ल्याउन लागिएको बताए ।