विद्यालय शिक्षामा लेटर ग्रेडिङ प्रणालीको महत्व र प्रयोग गर्ने तरिका (भिडियोसहित)

काठमाडौं/२२ मंसिर – अक्षरांकन प्रणाली भनेको कुनै भाषा वा बोलीलाई लेख्नका लागि प्रयोग गरिने निश्चित चिन्ह, अक्षर वा प्रतीकहरूको सेट हो । लेटर ग्रेडिङ (Letter Grading) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कन पश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुतिलाई जनाउँछ । यो शिक्षाको मूल्याङ्कन प्रणाली हो । जसले विद्यार्थीको शैक्षिक उपलब्धिलाई विभिन्न वर्गमा विभाजन गर्न प्रयोग गरिन्छ। यो प्रणालीले विद्यार्थीको सिकाइ स्तरलाई सरल, स्पष्ट र तुलनात्मक बनाउन सहयोग गर्छ । सामान्यतया, A, B, C, D र F जस्ता अक्षरहरूले विभिन्न स्तरका उपलब्धिलाई जनाउँछन् । उदाहरणका लागि, “A“ उत्कृष्ट उपलब्धिलाई, “B“ राम्रो, “C“ सामान्य, “D“ न्यूनतम स्तर र “F“ असफलतासँग सम्बन्धित हुन्छ । केही प्रणालीमा “+“ र “–“ को प्रयोग गरेर थप विशिष्टता प्रदान पनि गरिन्छ । यो प्रणालीले शिक्षण र सिकाइलाई पारदर्शी बनाउँदै विद्यार्थीलाई आफ्नो क्षमताबारे अवगत गराउन सहयोग गर्छ ।


उद्देश्यहरू :
(१) विद्यार्थीको शैक्षिक प्रगतिलाई सरल र स्पष्ट तरिकाले मूल्याङ्कन गर्न सहयोग गर्छ ।
(२) विद्यार्थीको ज्ञान, सीप र उपलब्धिलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्छ ।
(३) विद्यार्थीहरूको उपलब्धिलाई एउटै मापदण्डमा तुलना गर्न सजिलो बनाउँछ ।
(४) उच्च ग्रेड प्राप्त गर्ने लक्ष्य राख्न विद्यार्थीलाई प्रेरित गर्छ ।
(५) विस्तृत टिप्पणीको सट्टा संक्षेपमा मूल्याङ्कन गर्ने माध्यम प्रदान गर्छ ।
(६) शिक्षण संस्थाहरूको मूल्याङ्कन प्रक्रिया समान र पारदर्शी बनाउन सहयोग गर्छ ।


विशेषताहरू :
(१) लेटर ग्रेडिङ प्रणाली संक्षिप्त र सजिलै बुझ्न सकिने हुन्छ ।
(२) सबै विद्यार्थीको मूल्याङ्कन एउटै स्तरमा हुन्छ । जसले समानता सुनिश्चित गर्छ ।
(३) A, B, C, D, F जस्ता ग्रेडले उपलब्धिका तहहरूलाई दृष्टान्तमूलक रूपमा दर्शाउँछ ।
(४) यसले विभिन्न मूल्याङ्कन पद्धतिहरूसँग सहजै समायोजन गर्न सक्छ ।
(५) लेटर ग्रेडिङ प्रणालीले धेरैजसो विषय र क्षमताहरूलाई समेट्न सक्छ ।
(६) विद्यार्थीहरूले आफूले हासिल गरेको स्तर र सुधार गर्नुपर्ने क्षेत्र स्पष्ट रूपमा बुझ्न सक्छन् ।


विद्यालय शिक्षामा लेटर ग्रेडिङ प्रणालीको महत्व


विद्यार्थीको शैक्षिक प्रगतिलाई स्पष्ट र व्यवस्थित रूपमा प्रस्तुत गर्न सहयोग गर्छ । यस प्रणालीबाट शिक्षक, विद्यार्थी र अभिभावकलाई मूल्याङ्कनको परिणाम सहज रूपमा बुझ्न सक्छन् । यसको महत्व निम्नानुसार रहेको छ :


१. शिक्षण र सिकाइको प्रगतिको मापन : लेटर ग्रेडिङ प्रणालीले विद्यार्थीको उपलब्धिको स्तरलाई सरल रूपमा वर्गीकृत गर्दछ। यसले शिक्षकलाई विद्यार्थीको ज्ञान, सिप र क्षमता बुझ्न सहयोग गर्छ ।


२. स्पष्ट र बुझाइमा सहज : अक्षर (A, B, C, D, E) आधारित मूल्याङ्कनले विद्यार्थी र अभिभावकले सजिलै बुझ्न सक्छन् । यसले विस्तृत अङ्कीय प्रणालीको समस्यालाई हटाउँछ ।


३. प्रोत्साहन र आत्मविश्वास वृद्धिमा सहयोगी : उच्च ग्रेड (जस्तै A+ वा A) प्राप्त गर्न विद्यार्थीलाई प्रेरित गर्न सकिन्छ। यो प्रणालीले कम उपलब्धि गर्ने विद्यार्थीलाई सुधार गर्न अवसर दिन्छ ।


४. प्रतिस्पर्धात्मक भावना सिर्जना : ग्रेडिङ प्रणालीले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्न उत्प्रेरणा दिन्छ । यसले उनीहरूलाई शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्दछ ।


५. शिक्षक र अभिभावकका लागि सहजरूपमा बुझ्न मिल्ने उपकरण : लेटर ग्रेडले विद्यार्थीको शैक्षिक स्थिति र सुधारको आवश्यकता के छ भन्ने कुरा छिट्टै देखाउँछ। यसले सुधारात्मक कदम चाल्न सजिलो बनाउँछ ।

६. समान मूल्याङ्कनको आधार : यस प्रणालीले सबै विद्यार्थीलाई समान मापदण्डमा मूल्याङ्कन गर्ने अवसर प्रदान गर्छ । जसले निष्पक्षता सुनिश्चित गर्छ ।


७. मानसिक तनाव कम : अङ्क आधारित प्रणालीले विद्यार्थीमा अनावश्यक दबाब सिर्जना गर्न सक्छ। लेटर ग्रेडिङले यसलाई कम गर्दै विद्यार्थीलाई शान्त रहन र सिकाइमा केन्द्रित गर्छ ।


लेटर ग्रेडिङ् सम्बन्धी विश्व इतिहास
शैक्षिक संस्थानहरूमा विद्यार्थीहरूको उपलब्धि मूल्याङ्कन गर्न प्रचलित लेटर ग्रेडिङ् प्रणालीको इतिहास औपचारिक शिक्षाको विकास र मूल्याङ्कनको मानकीकरणसँग जोडिएको पाइन्छ । यसको विकास विस्तारै भएको पाइन्छ :


१. प्रारम्भिक लेटर ग्रेडिङ अभ्यास (१८औं शताब्दीभन्दा पहिले)


लेटर ग्रेडिङ प्रणालीको अवधारणाअघि शिक्षा प्रणालीहरू अनौपचारिक र मौखिक रुपमा रहेका थिए। शिक्षकहरूले विद्यार्थीहरूको मूल्याङ्कन प्रायः अवलोकन, मौखिक परीक्षा वा हस्तलिखित मार्फत गर्दथे । ग्रेडिङ्को अवधारणा अस्तित्वमा भएको पाइदैन् । प्रतिक्रिया व्यक्तिगत र गैर–मानकीकृत थियो ।


(क) मध्ययुगीन विश्वविद्यालयहरू : बोलोनिया र अक्सफोर्ड जस्ता प्राचीन युरोपेली विश्वविद्यालयहरूमा मौखिक बहस र विषयको ज्ञानलाई व्यक्तिपरक मापदण्डका आधारमा मूल्याङ्कन गरिन्थ्यो। शिक्षकहरूले गुणात्मक प्रतिक्रिया दिने गर्दथे ।


(ख) प्रशिक्षण प्रणालीहरू (अपरेन्टिसिप) : गिल्डहरूमा व्यावहारिक शिक्षा काम वा परियोजनाको सम्पन्नतामार्फत दक्षता प्रमाणित गर्ने प्रणालीमा आधारित हुन्थ्यो । जसमा संख्यात्मक वा लेटर ग्रेडिङ् हुँदैनथ्यो ।


२. ग्रेडिङको उदय (१८औं–१९औं शताब्दी)
१८औं र १९औं शताब्दीमा ग्रेडिङ प्रणालीहरू देखा पर्न थाल्यो । जसलाई मानकीकृत शिक्षा र विद्यालयहरूको विस्तारले प्रेरित गर्दै गयो ।


(क) Yale College : यस कलेजले ० देखि ४ सम्मको अङ्क प्रणाली प्रयोग गरी विद्यार्थीहरूको स्तराङ्कन गर्ने प्रारम्भिक प्रयास ग¥यो । यो प्रणाली प्राथमिक चरणमा भए पनि विद्यार्थी उपलब्धिलाई प्रमाणित गर्न सुरु ग¥यो ।


(ख) Harvard : यसले “¥याङ्क“ वा “क्लास“ जस्ता वर्णनात्मक वर्गीकरणहरू प्रस्तुत ग¥यो । जसमा विद्यार्थीहरूलाई सर्वश्रेष्ठ तल्लो जस्ता वर्गहरूमा राखिन्थ्यो ।


३. अक्षर ग्रेडहरूको सुरु (१९औं शताब्दीको अन्त्य–२०औं शताब्दीको सुरु)


आधुनिक लेटर ग्रेडिङ् प्रणाली १९औं शताब्दीको अन्त्यतिर अमेरिकामा विकसित हुन थाल्यो ।
(क) माउन्ट होलिओक कलेज (१८९७) : पहिलो पटक लेटर ग्रेडिङ् प्रणाली माउन्ट होलिओक कलेजमा प्रयोग भयो। “A“ ले ९५–१००%, “B“ ले ८५–९४% मानिन थालियो ।
(ख) संयुक्त राज्यमा प्रसारः अक्षर ग्रेडको सरलताले यसलाई लोकप्रिय बनायो । २०औं शताब्दीको सुरुवातमा अमेरिकी विद्यालय र कलेजहरूले यस प्रणालीलाई व्यापक रूपमा अपनाउन पुगे ।


४. विश्वव्यापी अपनत्व र विविधता
(क) संयुक्त राज्य : A–F प्रणाली अधिकांश अमेरिकी विद्यालयमा मानक बन्यो। तर पास÷फेल वा संख्यात्मक प्रतिशत प्रणाली पनि यससँगै रहन थाल्यो ।
(ख) युरोप : युरोपेली देशहरूले फरक ग्रेडिङ प्रणाली विकास गरे। जस्तै जर्मनीले १ (उत्तम) देखि ६ (असफल) सम्मको संख्यात्मक स्केल प्रयोग गर्न थाल्यो ।
(ग) एशिया : जापान र चीन जस्ता देशहरू परम्परागत रूपमा संख्यात्मक स्कोरमा केन्द्रित रहन पुगे ।


(५) आधुनिक विकास
२०औं शताब्दीको मध्यतिर लेटर ग्रेडिङ् प्रणाली धेरै स्थानमा स्थिर भए पनि यसले सिकाइ र मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे आलोचना हुन थालेको पाइन्छ ।समयसँगै उच्च ग्रेडहरूको प्रवृत्ति देखियो । जसले कठोरता र मापदण्डबारे बहस सुरु ग¥यो ।
(क) वैकल्पिक विधिहरू : अक्षर ग्रेडको सट्टा, योग्यता–आधारित शिक्षा, वर्णनात्मक मूल्याङ्कन र पोर्टफोलियो मूल्याङ्कन लोकप्रिय हुँदै गएका छन् ।
(ख) डिजिटल प्रभाव : आधुनिक ग्रेडिङ प्रणालीहरूले डिजिटल प्लेटफर्महरूलाई समावेश गर्दै विद्यार्थी र अभिभावकलाई वास्तविक–समय प्रतिक्रिया र विश्लेषण उपलब्ध गराउँछन्।


नेपालमा अक्षरांकन पद्दतिको अभ्यास


राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७१ असार ३० गते बसेको बैठकबाट सैद्धान्तिक निर्णय गरी सो परिषद्को २०७१ मङ्सिर २४ गते बसेको बैठकबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) मा अक्षराङ्कन पद्धति ( Letter Grading System) लागु गर्ने निर्णय भयो । यसैका आधारमा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ तयार भई २०७२ मङ्सिर २३ मा जारी भयो । विद्यालय तहमा विद्यार्थी उपलब्धिको मापन तथा मूल्याङ्कनका लागि अक्षराङ्कन पद्धतिबारे अवधारणागत एकरूपता, कार्यान्वयनमा सहजता र स्पष्टता प्रदान गर्न विद्यमान अङ्क प्रणालीका सट्टामा वि.स. २०७१ मा एसएलसी परीक्षामा प्राविधिक तथा व्यावसायिक धारतर्फ परीक्षणका रूपमा र २०७२ देखि साधारण, प्राविधिक तथा व्यावसायिक र संस्कृत धारको एसएलसी परीक्षामा समेत अक्षराङ्कन पद्धति लागु भयो । यसमा परीक्षार्थीले प्राप्त गरेको अङ्कलाई ९ वर्गान्तरमा श्रेणीकरण गरी विषयगत अक्षराङ्कन (A+, A, B+, B, C+, C, D+, D र E ) सहितस्तरीकृत अङ्क तथा औसत स्तरीकृत अङ्क (GPA) उल्लेख भएको प्रमाण पत्र जारी गर्न थालियो । यसैअनुसार २०७४ मा कक्षा ११ र २०७५ मा कक्षा १२ मा ९ वर्गान्तरयुक्त अक्षराङ्कन पद्धति लागु गरिएको थियो । लेटर ग्रेडिङ् निर्देशिकाअनुसार “पाठ्यघण्टा (Credit hour) भन्नाले पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई जनाउँछ । त्यसैगरी “स्तरीकृत अङ्क (Grade point) भन्नाले अक्षरमा गरिएको विद्यार्थी मूल्याङ्कनको स्तरीकरणलाई अङ्कमा प्रस्तुत गरिएको आनुसाङ्ख्यिक मान सम्झनु पर्छ भन्ने उल्लेख गरिएको छ ।


लेटर ग्रेडिङ् निर्देशिका, २०७८ मा २०८१।०३।१६ गते चौथो संशोधन भई निम्नानुसार लागू भएको छ ।

विद्यालयमा लेटर ग्रेडिङ प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्नका लागि अपनाउने कदमहरू :


१. स्पष्ट मापदण्ड र संरचना निर्माण : ग्रेडिङ प्रणालीका लागि स्पष्ट मापदण्ड तयार पार्नु पर्छ । उदाहरणA±,A, B±, B, आदि ग्रेडलाई कुन प्रतिशत वा उपलब्धि स्तरले प्रतिनिधित्व गर्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ । विषय अनुसार आवश्यकता अनुसार फरक–फरक मानक तयार गर्न पनि सकिन्छ ।


२. शिक्षकहरूको तालिम : शिक्षकहरूलाई लेटर ग्रेडिङ प्रणालीको उद्देश्य, फाइदा र कार्यान्वयन प्रक्रियाबारे तालिम दिनुपर्छ।मूल्याङ्कन गर्दा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न उनीहरूलाई उचित निर्देशन दिनुपर्छ ।


३. विद्यार्थी र अभिभावकको सहभागिता : विद्यार्थी र अभिभावकलाई ग्रेडिङ प्रणालीको महत्व, मूल्याङ्कन विधि र यसको प्रभावबारे जानकारी दिनुपर्छ । नियमित बैठक र कार्यशालाहरू आयोजना गरेर उनीहरूलाई प्रणालीप्रति विश्वस्त बनाउनु पर्छ ।


४. मूल्याङ्कनमा विविधता : परीक्षा मात्र नभई होमवर्क, परियोजना, प्रस्तुतिकरण र अन्य गतिविधिहरूलाई पनि ग्रेडिङमा समावेश गर्नुपर्छ । यसले विद्यार्थीको विविध क्षमता मापन गर्न सहयोग गर्छ ।


५. पृष्ठपोषण प्रणालीको विकास : ग्रेडसँगै पृष्ठपोषण दिनुपर्छ । जसले विद्यार्थीलाई आफ्नो बलियो पक्ष र सुधार गर्नुपर्ने पक्षबारे स्पष्ट बनाउँछ ।


६. सूचना व्यवस्थापन प्रणालीको उपयोग : प्रगतिशील ग्रेडिङका लागि डिजिटल प्रणाली वा सफ्टवेयर प्रयोग गर्न सकिन्छ । यसले ग्रेडिङ प्रक्रिया छिटो, सजिलो र त्रुटिरहित बनाउँछ ।


७. निरन्तर अनुगमन र सुधार : ग्रेडिङ प्रणाली लागू गरेपछि यसको प्रभावको नियमित मूल्याङ्कन गर्नुपर्छ। विद्यार्थी, शिक्षक र अभिभावकको प्रतिक्रिया संकलन गरेर आवश्यक संशोधन गरिनुपर्छ ।


८. प्रेरणादायी वातावरणको सिर्जना : ग्रेडिङ प्रणालीलाई प्रतिस्पर्धात्मक मात्र नभई प्रोत्साहनात्मक बनाउनुपर्छ।विद्यार्थीसँग ग्रेड सुधारका लागि व्यक्तिगत योजना तयार पार्न सहयोग गर्नुपर्छ ।


विद्यालयमा शिक्षामा लेटर ग्रेडिङ प्रणाली लागू गर्दा देखा परेका समस्या र त्यसका समाधानका उपायहरु


विद्यालयमा शिक्षामा लेटर ग्रेडिङ प्रणाली लागू गर्दा केही समस्या देखापर्न सक्छन् । ती समस्या र तिनका समाधानका उपायहरू निम्नानुसार रहेका छन् :


समस्याहरु
१. ग्रेडिङ प्रणालीको अस्पष्टता : विद्यार्थी, अभिभावक र शिक्षकहरूले लेटर ग्रेडको आधारभूत मूल्याङ्कन प्रणालीलाई स्पष्ट रूपमा नबुझेका कारण विद्यार्थीको वास्तविक क्षमता निर्धारण गर्न कठिनाइ हुन सक्छ ।


२.प्रतिस्पर्धात्मक भावना कमी : लेटर ग्रेडिङले विद्यार्थीहरूलाई व्यक्तिगत अङ्कभन्दा समूहमा राख्दा स्वस्थ प्रतिस्पर्धा कम हुन सक्छ ।


३.विश्लेषणात्मक मूल्याङ्कनको अभाव : विद्यार्थीको कमजोर पक्ष र सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न कठिन हुन्छ । लेटर ग्रेडिङले विस्तृत विवरण प्रदान गर्दैन ।


४. मनोवैज्ञानिक दबाब : कम ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूले आत्मविश्वास गुमाउन सक्छन् ।


५. समान मान्यता : एकै ग्रेडमा फरक क्षमताका विद्यार्थीलाई राख्दा मेधावी र कमजोर विद्यार्थीको बीचमा उचित भिन्नता नदेखिन सक्छ ।


समाधानका उपायहरू


१. लेटर ग्रेडिङको स्पष्ट दिशानिर्देश : विद्यार्थी, अभिभावक र शिक्षकलाई प्रणालीको उद्देश्य, मूल्याङ्कन मापदण्ड र यसको फाइदाबारे जानकारी दिन कार्यशाला, गोष्ठी र अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्छ।


२. समीक्षा प्रणाली लागू गर्नु : ग्रेडिङसँगै विवरणात्मक प्रतिवेदनप्रदान गरिनुपर्छ । जसले विद्यार्थीको विशेषताहरू, सुधार गर्नुपर्ने क्षेत्र र सिपहरूको विश्लेषण प्रस्तुत गर्नुपर्छ ।


३. मिश्रित मूल्याङ्कन प्रणाली : लेटर ग्रेडिङ प्रणालीलाई अन्य मूल्याङ्कन विधिहरूसँग (जस्तै, परियोजना, प्रस्तुति, मौखिक परीक्षा) संयोजन गरी विद्यार्थीको समग्र क्षमता पहिचान गर्न मद्दत पु¥याउनु पर्छ ।


४. मनोवैज्ञानिक सहयोग : कमजोर ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई परामर्श प्रदान गरी उनीहरूको आत्मविश्वास बढाउने प्रयास गर्नुपर्छ ।


५. उन्नत शिक्षण कार्यक्रम : मेधावी विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप र कमजोर विद्यार्थीका लागि विशेष सहयोग कार्यक्रमको व्यवस्था गर्नुपर्छ ।


६. सुधारको अवसर : विद्यार्थीहरूलाई आफ्नो उपलब्धि सुधार गर्न पुनः परीक्षा वा अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसर दिनु उचित हुन्छ ।


७. समग्र दृष्टिकोण : शैक्षिक नतिजाको साथै विद्यार्थीको व्यक्तिगत विकास (जस्तै अनुशासन, रचनात्मकता, नेतृत्व क्षमता) पनि मूल्याङ्कनको अंश बनाउनु पर्छ ।


निष्कर्ष
लेटर ग्रेडिङ प्रणाली शिक्षण र मूल्याङ्कनमा विद्यार्थीको क्षमता र उपलब्धिलाई श्रेणीकरण गर्ने प्रणाली हो । यसले विद्यार्थीको नतिजा स्पष्ट, तुलनात्मक र बुझ्न सजिलो बनाउँछ । यस प्रणालीले अङ्कको संक्षिप्त मूल्याङ्कनलाई सरल बनाएर A, B, C जस्ता ग्रेडमार्फत प्रस्तुत गर्दछ । यसले विद्यार्थीलाई आफ्नो उपलब्धि सुधार गर्न प्रेरणा दिन्छ र शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउँछ। लेटर ग्रेडिङ प्रणाली प्रभावकारी भए पनि यसको उपयोग सन्दर्भअनुसार सन्तुलित र न्यायसंगत हुनुपर्छ । लेखक खिलानाथ धमला पाठ्यक्रम विकास केन्द्रमा कार्यरत छन् ।


हेर्नुहोस भिडियोमा