शिक्षकले जान्ने पर्ने एकिकृत पाठ्यक्रम र पढाउने तरिका (भिडियोसहित)

काठमाडौं/२० मंसिर – एकीकृत पाठ्यक्रम (Integrated Curriculum) भनेको शिक्षण प्रक्रियामा विभिन्न विषयवस्तु र क्षमताहरुलाई एकीकृत ढंगले समेटेर प्रस्तुत गरिने प्रणाली हो । यसलाई बालबालिकाको समग्र विकासलाई लक्षित गरी विभिन्न विषयवस्तुहरूलाई एकीकृत रूपमा सिकाइ–सञ्चालन गर्ने शिक्षण विधि पनि भन्न सकिन्छ । यसले विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्छ र विषयगत ज्ञानलाई व्यावहारिक जीवनसँग जोड्छ । एकीकृत पाठ्यक्रमले अलग–अलग विषयहरूको सट्टा एकआपसमा सम्बन्धित गतिविधि, परियोजना र सिकाइ सामग्रीमार्फत ज्ञान प्रदान गर्छ । यसले विभिन्न विषयहरूलाई बालबालिकाको जीवनसँग सम्बन्धित विषयवस्तुहरूसँग जोडेर सिकाइ सहज र अर्थपूर्ण बनाउने प्रयास गर्छ । सिकाइलाई सहज, रोचक र प्रभावकारी बनाउँदै बालबालिकाको सिर्जनशीलता, समालोचनात्मक सोच र समस्यासामाधान क्षमताको विकासमा सहयोग पु¥याउँछ ।


विशेषताहरू :
(क) समग्र विकासमा केन्द्रित ः बालबालिकाको बौद्धिक, सामाजिक, भावनात्मक र शारीरिक विकासमा ध्यान दिन्छ ।
(ख) सम्बन्धित विषयहरूको समायोजन ः गणित, भाषा, विज्ञान, सामाजिक अध्ययनजस्ता विषयवस्तुहरूलाई एकसाथ प्रस्तुत गरी बालबालिकालाई वास्तविक जीवनमा समस्या समाधानको दृष्टिकोण सिकाउँछ ।
(ग) अनुभव–आधारित सिकाइः बालबालिकाको दैनिक जीवनका अनुभवलाई पाठ्यक्रमको आधार बनाइन्छ ।
(घ) सहज र रमाइलो वातावरणः खेल, चित्रकला र सिर्जनात्मक क्रियाकलापहरूको प्रयोग गरी सिकाइलाई रमाइलो र प्रभावकारी बनाइन्छ ।
(ङ) साझेदारी र सहभागिताः विद्यार्थीहरूलाई क्रियाशील बनाएर सिकाइमा सक्रिय सहभागिता गराइन्छ ।


उद्देश्य :
१. बालबालिकाको स्वाभाविक रुचि र क्षमतामा आधारित सिकाइ सुनिश्चित गर्ने ।
२. वास्तविक जीवनका समस्याहरू समाधान गर्न सक्षम बनाउने ।
३. शिक्षण प्रक्रियालाई रोचक र अर्थपूर्ण बनाउने ।


उदाहरण : “जंगलको जीवन” भन्ने एक शीर्षकमा सिकाइ भइरहेको छ भने यस अन्तर्गत सिकाउन सकिने कुराहरु निम्नानुसार हुन सक्छन् :
(क) भाषा : जंगलमा बस्ने जनावरहरूको बारेमा लेख्न लगाउने ।
(ख) गणित : जंगलमा विभिन्न जनावरहरूको सङ्ख्या गणना गर्ने ।
(ग) विज्ञान : जनावरहरूको आहार, बसोबास र जनावरका प्रकारको अध्ययन गर्ने ।
(घ) सामाजिक अध्ययनः जंगलको संरक्षणको महत्वबारे छलफल गर्ने ।


एकिकृत पाठ्यक्रमको महत्व
एकीकृत पाठ्यक्रमले बालबालिकाको समग्र विकास र उनीहरूको सिकाइलाई सहज र प्रभावकारी बनाउने लक्ष्य राख्छ । यसको महत्व निम्नानुसार रहेको छन् ।


१. समग्र विकासमा योगदान :
(क) एकीकृत पाठ्यक्रमले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र नैतिक पक्षहरूको समान विकासलाई प्रोत्साहन गर्छ ।
(ख) बालबालिकाको प्राकृतिक जिज्ञासा र सिक्ने इच्छालाई सम्बोधन गर्छ ।


२. व्यावहारिक सिकाइमा जोड :
(क) पाठ्यक्रमले जीवनोपयोगी सिपलाई प्राथमिकता दिन्छ ।
(ख) बालबालिकालाई विषयवस्तुहरूलाई वास्तविक जीवनमा कसरी प्रयोग गर्ने भनेर सिकाउने प्रयास गर्छ ।


३. सहज सिकाइ वातावरण :
(क) एकीकृत पाठ्यक्रमले विषयवस्तुहरूलाई अलग–अलग रूपमा नभएर एक–आपसमा सम्बन्धित ढंगले प्रस्तुत गर्दछ । जसले गर्दा बालबालिकाले सहज रूपमा सिक्न सक्छन् ।
(ख) खेल, गतिविधि र कहानीहरूको माध्यमबाट सिकाइलाई रमाइलो बनाउँछ ।


४. सिप र सिर्जनशीलताको विकास :
(क) बालबालिकालाई सिर्जनशील सोच र समस्या समाधानको सिप विकास गर्न प्रोत्साहन दिन्छ । जस्तैः कला, संगीत, गणित, भाषा र विज्ञानलाई समेटेर गतिविधि गराउँदा बहुआयामिक सिपको विकास हुन्छ ।


५. एकीकृत सिकाइको लचिलोपन :
(क) एकीकृत पाठ्यक्रम लचिलो हुन्छ । स्थानीय आवश्यकताहरू, परम्परा तथा संस्कृतिलाई समेट्न सक्षम हुन्छ । यसले बालबालिकालाई आफ्नो समुदायसँग जोड्न सहयोग गर्छ ।


६. बालमैत्री दृष्टिकोण :
(क) बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार शिक्षण गरिन्छ ।
(ख) बालबालिकामा आत्मविश्वास बढाउँछ र उनीहरूलाई सक्रिय सिकाइमा सहभागी गराउँछ ।


७. समाज र संस्कृतिसँग सम्बन्ध :
(क) एकीकृत पाठ्यक्रमले बालबालिकालाई स्थानीय समाज र संस्कृतिको ज्ञान दिन्छ ।
(ख) उनीहरूमा समुदायप्रतिको जिम्मेवारी र अपनत्वको भावना विकास गर्छ ।


८. शिक्षक र अभिभावकको भूमिकामा सुधार :
(क) शिक्षक र अभिभावकलाई पाठ्यक्रमलाई बालबालिकाको विकाससँग कसरी समायोजन गर्ने भन्ने जानकारी दिन्छ ।
(ख) बालबालिकाको प्रगतिमा सहयोग गर्न सबै पक्षलाई एकजुट बनाउँछ ।


एकिकृत पाठ्यक्रमको आवश्यकता :
१. बालबालिकाको सर्वाङ्गीण विकास : आधारभूत तहका बालबालिकामा सिकाइको आधार निर्माण गर्दछ । यो उमेरमा उनीहरूको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकास एकसाथ अगाडि बढ्नुपर्छ । एकिकृत पाठ्यक्रमले सबै विषयलाई अन्तरसम्बन्धित रूपमा प्रस्तुत गरेर सन्तुलित विकासमा सहयोग गर्छ ।


२. हाम्रो सन्दर्भमा सरल र प्राकृतिक सिकाइ : बालबालिकाहरूको प्राकृतिक चासो र रुचिलाई सम्बोधन गर्न एकिकृत पाठ्यक्रम प्रभावकारी हुन्छ । नेपालको ग्रामीण, शहरी र सांस्कृतिक विविधता समेट्न यो पाठ्यक्रम उपयुक्त छ । जसले स्थानीय स्रोत र परिवेशलाई सिकाइमा समेट्छ ।


३. विषयहरूको अन्तरसम्बन्ध : अलग–अलग विषय पढाउनुको सट्टा एकिकृत पाठ्यक्रमले विषयहरूलाई जीवन उपयोगी बनाउँछ । उदाहरणका लागि विज्ञान, भाषा र गणितलाई एकैसाथ प्रयोग गरेर सिकाइ प्रासंगिक बन्छ ।


४. सिकाइलाई रमाइलो बनाउनु : खेल, गतिविधि, कला र कथा मार्फत सिक्न बालबालिकालाई सजिलो र रमाइलो हुन्छ । एकिकृत पाठ्यक्रमले यस प्रकारका गतिविधिलाई जोड दिन्छ ।


५. सिकाइमा तनाव कम गर्नु : छुट्टाछुट्टै विषयमा ध्यान दिनु भनेको बालबालिकालाई धेरै सामग्री र पाठ्यक्रमको भारी दिनु हो । एकिकृत पाठ्यक्रमले शिक्षालाई सहज र व्यवस्थित बनाउँछ ।


६. शिक्षकका लागि पनि सजिलो : एकिकृत पाठ्यक्रमले शिक्षकमाथिको कार्यभार पनि कम गर्छ । विषयबीचको समन्वय र तालमेल मिलाउन सजिलो हुन्छ । उनीहरूमा सिर्जनात्मक र प्रभावकारी शिक्षण विधि अपनाउन प्रेरित गर्छ ।


७. बालमैत्री शिक्षण पद्धति : एकिकृत पाठ्यक्रम बालबालिकाको स्वाभाविक जिज्ञासालाई प्रोत्साहित गर्ने भएकाले यो पद्धति बालमैत्री हुन्छ ।


८. दीर्घकालीन प्रभावकारीता : जीवनसँग प्रत्यक्ष सम्बन्धित शिक्षा प्रदान गर्ने भएकाले बालबालिकाले सिकेका कुराहरू दीर्घकालसम्म सम्झन र प्रयोग गर्न सक्छन् ।


एकीकृत पाठ्यक्रमका विषयक्षेत्रको शिक्षणलाई प्रभावकारी बनाउन निम्नानुसारका शैक्षिक सामग्रीहरुको प्रयोग गर्न सकिन्छ :
१. सामाजिक अध्ययन :
(क) चित्र/फोटो : परिवार, विद्यालय, समुदाय, परम्परा र संस्कृति झल्काउने चित्रहरू ।
(ख) मानचित्र र ग्लोब : नेपाल र विश्वलाई बुझाउनका लागि ।
(ग) कथावाचन सामग्री : इतिहास, संस्कृति र जीवनशैलीसँग सम्बन्धित कथाहरू ।
(घ) रोल प्ले सामग्री : समुदाय र सामाजिक व्यवहार झल्काउने ।
(ङ) स्थानीय सामग्री : स्थानीय लोकगीत, कला तथा परम्परागत वस्तुहरू ।


२. विज्ञान तथा वातावरण :
(क) प्रायोगिक सामग्री : बीउ रोप्ने किट, पानी फिल्टरिङ्ग सेट, थर्मोमिटर आदि ।
(ख) प्राकृतिक सामग्री : पात, फूल, पत्थर, बालुवा, पानी आदि ।
(ग) मोडेलहरू : पृथ्वी, सूर्य, चन्द्रमा, जलचक्र तथा वनस्पति झल्काउने मोडेलहरु आदि ।
(घ) दृष्य सामग्री : भिडियो क्लिप वा एनिमेसन आदि ।
(ङ) स्थलगत भ्रमण : नजिकको उद्यान, खेत वा तालतिरको भ्रमण आदि ।


३. स्वास्थ्य तथा शारीरिक शिक्षा :
(क) सफा र स्वास्थ्य सामग्री : ब्रश, साबुन, तौलिया आदि ।
(ख) खेलकुद सामग्री : बल, हुप्स, जम्प डोरी आदि ।
(ग) चार्टहरू : स्वस्थ भोजन, शारीरिक व्यायाम र सरसफाइका नियमहरू ।
(घ) डेमो किट : प्राथमिक उपचारको लागि सानो किट आदि ।


४. सिर्जनात्मक कला :
(क) रङ्ग र कागज : पानी रङ, तेल रङ, कागज आदि ।
(ख) हस्तकला सामग्री : क्ले, धागो, बाँस वा प्लास्टिकका भाँडा आदि ।
(ग) संगीत सामग्री : सानो ड्रम, बाँसुरी, ताल बजाउने सामग्री आदि ।
(घ) थ्रिडी मोडेल सामग्री : साना खेलौनाहरू वा फोल्डिङ्ग पेपरहरू आदि ।


५. हाम्रो सरोफेरो :
(क) स्थानीय वस्तुहरू : माटोका भाँडा, बाँसका सामग्री आदि ।
(ख) चार्ट र पोस्टर : स्थानीय जीवजन्तु, वनस्पति र प्राकृतिक स्रोतहरू ।
(ग) स्थलगत भ्रमण सामग्री : नोटबुक र स्केचप्याड आदि ।
(घ) स्थानीय कथा/गीत : बालबालिकाको सरोफेरोसँग सम्बन्धित गीत वा कथा आदि ।


६. गणित :
(क) सङ्ख्या कार्ड : गणना सिकाउन ।
(ख) मोडेल सामग्री : गोटी, पासा तथा ब्लकहरू ।
(ग) समूह खेल सामग्री : पजल खेल, फ्ल्यास कार्ड आदि ।
(घ) ग्राफ र चार्ट किट : रंगीन ग्राफ पेपर र सादा कागज आदि ।


७. भाषा :
(क) चित्र पुस्तकहरू : अक्षर र शब्द चिनाउन ।
(ख) फ्ल्यास कार्ड : शब्द र वाक्य संरचना अभ्यास गर्न ।
(ग) कथावाचन सामग्री : बालकथाका किताबहरू ।
(घ) संगीत र कविता : बालबालिकालाई रमाइलो गराउने गीत/कविता ।


बहुविषयक एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा शिक्षण गर्नका लागि निम्न विधिहरू अपनाउन सकिन्छ :


१. सिप र गतिविधिमा आधारित शिक्षण : बालबालिकालाई गतिविधिमा सक्रिय रूपमा संलग्न गराउनुपर्छ । उदाहरणका लागि :


(क) हाम्रो सरोफेरोमा : वर्ग कोठाबाट बाहिर प्राकृतिक स्रोतहरू (जस्तै, रूख, फूल, जीवजन्तु) अवलोकन गराउन सकिन्छ ।
(ख) गणितमा : खेल–खेलमा संख्याहरू सिकाउने (जस्तै, रङ्गीन वस्तुहरूको समूह बनाउने र गन्ने) ।
(ग) नेपाली भाषामा : कथावाचन र चित्र हेरेर कथा बनाउने गतिविधि गर्ने ।
(घ) अङ्ग्रेजी भाषामा : चित्रमार्फत सरल शब्दहरू सिकाउने ।


२. एकीकृत पाठ्यक्रमका उद्देश्यहरूमा केन्द्रित हुनु : विषयहरू एकअर्कासँग सम्बन्धित छन् भन्ने देखाउनुपर्छ ।
उदाहरणका लागि : नेपाली भाषामा एक कथाको वाचन गर्दै त्यही कथाको आधारमा गणितीय समस्या समाधान गराउने ।
(क) हाम्रो सरोफेरो र गणितको तालमेलः जंगलको बारेमा पढ्दा त्यहाँका जीवजन्तुको संख्या गन्न लगाउने ।


३. स्थानीय स्रोत र सन्दर्भको उपयोग : स्थानीय संस्कृति, समुदाय र स्रोतहरूको प्रयोगले सिकाइलाई अझ प्रभावकारी बनाउँछ ।
(क) हाम्रो सरोफेरोमा : गाउँघरको वातावरणको वर्णन गर्ने ।
(ख) नेपाली भाषामा : स्थानीय बोलिने कथाहरू समावेश गर्ने ।


४. चित्र, खेल र दृष्य–सामग्रीको प्रयोग : बालबालिकाको रुचि जगाउनका लागि पाठ सामग्रीलाई दृष्यात्मक बनाउने ।
(क) परियोजना, चार्ट वा फ्ल्यास कार्डहरूको प्रयोग गर्ने ।
(ख) अङ्ग्रेजी सिकाउँदा : वर्णमाला र शब्दका लागि चित्रात्मक कार्डहरू प्रयोग गर्ने ।


५. सहभागितामूलक विधि : विद्यार्थीहरूलाई सिकाइमा सहभागी गराउने :
(क) समूहमा काम गर्ने, प्रश्न सोध्ने र विचार आदान–प्रदान गर्ने ।


६. निरन्तर मुल्यांकन प्रणाली : सिकाइको अवस्था बुझ्न निरन्तर मूल्याङ्कन गर्नुपर्छ ।
(क) गणितमा : समस्या समाधान गरेर बुझाइ परीक्षण गर्ने ।
(ख) नेपाली भाषामा : बालबालिकाबाट सानो कथा लेख्न लगाउने ।


७. समय व्यवस्थापन : सबै विषयलाई समयअनुसार सन्तुलनमा राख्नुपर्छ । हरेक दिनका गतिविधिहरूको योजना बनाई सबै विषयमा विद्यार्थीको ध्यान आकर्षित गराउने ।


८. शिक्षकको रचनात्मकता र तालिम : शिक्षण प्रक्रिया प्रभावकारी बनाउन शिक्षकले नयाँ तरिकाहरू अपनाउनु पर्छ । एकीकृत पाठ्यक्रमलाई लागू गर्न शिक्षकहरूले विशेष तालिम लिनुपर्छ ।


९. अभिभावकसँग सहकार्य : घरमा विद्यार्थीको सिकाइलाई सघाउन अभिभावकलाई मार्गदर्शन दिनुपर्छ । उदाहरणका लागिः घरमा नेपाली, गणित र अङ्ग्रेजी सिकाइलाई प्रोत्साहन गर्ने उपायहरू अपनाउन सकिन्छ ।


१०. प्रेरणा र सराहना : विद्यार्थीहरूको सानो प्रगतिको पनि प्रशंसा गर्नुपर्छ । यसले उनीहरूलाई नयाँ ज्ञान सिक्न प्रेरित गर्छ ।


एकिकृत पाठ्यव्रmमलाई अन्तरविषयक ढाचाका रुपमा शिक्षण गर्ने तरिका :


१. थिम वा एकीकृत विषयको छनौटः एउटै थिम अन्तर्गत विभिन्न विषयहरूलाई समेट्ने ।
उदाहरणः “हाम्रो समुदाय“ (सामाजिक अध्ययन, विज्ञान, स्वास्थ्य र सिर्जनात्मक कला समावेश गर्ने) । विद्यार्थीहरूलाई समुदायबारे सिक्ने क्रममा प्राकृतिक वातावरण, सामाजिक संरचना, स्वास्थ्य र कलात्मक अभिव्यक्ति जोड्न सक्ने बनाउनु पर्छ ।


२. एकीकृत पाठ योजनाको विकास : विषयहरूबीचको सम्बन्ध ख्याल गर्दै पाठ योजना बनाउने ।
उदाहरण :
(क) सामाजिक अध्ययन : गाउँ/शहरको जीवनका बारेमा जानकारी गराउने ।
(ख) विज्ञान तथा वातावरण : वातावरणका (पानी, माटो, हावा) बारेमा सिकाउने ।
(ग) स्वास्थ्य तथा शारीरिक शिक्षा : सरसफाइ र स्वास्थ्यकर जीवनशैली अपनाउन सिकाउने ।
(घ) सिर्जनात्मक कलाः समुदायको चित्र कोर्नु गीत र नृत्य मार्फत संस्कृति झल्काउन सिकाउने ।


३. गतिविधिमा आधारित सिकाइ : विद्यार्थीहरूको सक्रिय सहभागिता गराउनका लागि क्रियाकलापहरू आयोजना गर्ने ।
(क) सामाजिक अध्ययन : आफ्नो समुदायको मानचित्र बनाउने ।
(ख) विज्ञान तथा वातावरण : आफ्नो गाउँ/शहरमा पाइने रुख बिरुवा अध्ययन गर्ने ।
(ग) स्वास्थ्य तथा शारीरिक शिक्षा : आफूले पालना गर्ने सरसफाइका उपायहरू अपनाउने ।
(घ) सिर्जनात्मक कला : आफ्नो समुदायको परम्परागत पोशाक र कला झल्काउने नाटक देखाउने ।


४. अनुभवमा आधारित सिकाइ : विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्या समाधान गर्न सिकाउने ।
उदाहरण :
(क) “आफूले अध्ययन गरेको विद्यालयमा पानीको व्यवस्थापन” विषयमा छलफल गर्ने । यसले विज्ञान, स्वास्थ्य र सामाजिक अध्ययनलाई एकसाथ समेट्छ ।


५. सहकार्यात्मक सिकाइ : विद्यार्थीहरूलाई समूहमा काम गर्न प्रेरित गर्ने ।
उदाहरण :
(क) थिमः “मौसम र हाम्रो जीवन” दिने । समूहलाई मौसम अनुसारको स्वास्थ्य, खानपान, लुगा र वातावरणको प्रभाव अध्ययन गर्न लगाउने ।


६. प्रदर्शन र समीक्षा : विद्यार्थीहरूले सिकेका कुरा उनीहरुलाई प्रस्तुत गर्न लगाउने ।
उदाहरण : चित्रकला प्रदर्शनी, नाटक वा पोस्टर प्रस्तुति गर्न लगाउने । यसले सिर्जनात्मक कला, स्वास्थ्य र सामाजिक अध्ययनलाई जोड दिन्छ ।


७. आन्तरिक मूल्याङ्कन : विद्यार्थीहरूको सिकाइलाई मल्टीडिसिपिलनरी दृष्टिकोणबाट मूल्याङ्कन गर्ने ।
उदाहरण : एउटा प्रदर्शनीमा विद्यार्थीहरूले सामाजिक ज्ञान, वातावरणीय बुझाइ, स्वास्थ्य सम्बन्धी तथ्य र सिर्जनशीलता कति राम्रोसँग प्रस्तुत गरेका छन् भनेर मूल्याङ्कन गर्ने ।


निष्कर्ष :
एकीकृत पाठ्यक्रम नेपालको विद्यालय शिक्षामा समावेशी र समग्र विकासको अवधारणामा आधारित रहेको हुन्छ । पाठ्यक्रम बालबालिकाको भौतिक, मानसिक, सामाजिक र नैतिक विकासलाई प्राथमिकतामा राख्दै तयार गरिन्छ । यसले विषयगत ज्ञानलाई व्यावहारिक जीवनसँग जोडेर सिकाइलाई सहज र रमाइलो बनाउने प्रयास गर्दछ । पाठ्यक्रम बहु–आयामिक सिकाइमा केन्द्रित हुन्छ । जसले बालबालिकाको सिर्जनशीलता, समालोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासलाई प्राथमिकता दिन्छ ।


पाठ्यक्रममा स्थानीय सन्दर्भ, भाषा र संस्कृति समेटेर बालमैत्री र समावेशी सिकाइ वातावरण सिर्जना गर्न खोजिएको हुन्छ । एकीकृत पाठ्यक्रमले बालबालिकालाई मूलभूत सिप र ज्ञान प्रदान गर्दै उनीहरूको व्यक्तित्व विकासका लागि आधार तयार गर्ने उद्देश्य राखेको हुन्छ । एकीकृत पाठ्यक्रमले विद्यार्थीलाई स्वतन्त्र, जिम्मेवार र समाजमा योगदान दिन सक्ने नागरिक बनाउन सहयोग पु¥याउने अपेक्षा गरेको हुन्छ ।
खिलानाथ धमला ।


हेर्नुहोस भिडियोमा