कक्षा १० र १२ को परीक्षा प्रणाली सुधारका लागि कार्यदलले अध्ययन गर्ने

काठमाडौं/१८ मंसिर – परीक्षा सम्बन्धी उच्चस्तरीय कार्यदलको सचिवालयले कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधारका लागि सुझाब सङ्कलन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको समग्र पुनः संरचनासहित परीक्षा पद्धतिमा गर्नुपर्ने सुधार सहितको सुझाब सङ्कलन गर्ने भएको हो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरको कार्तिक २० गतेको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको समग्र पुनः संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधारका लागि अध्ययन गर्न परीक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।


त्यसैगरी कक्षा १० को परीक्षा प्रदेश तहमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने रजिष्टेशन शुल्क, राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीबाट लिने गरेको विभिन्न शुल्क एवम् सेवा सञ्चालनका लागि आवस्यक स्रोत सुनिश्चितता, मौजुदा परीक्षा पद्धतिमा गर्नुपर्ने सुधार, विद्यमान परीक्षाको आवश्यकता र औचित्य, राष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना तथा कर्मचारी समायोजन र व्यवस्थापन, हाल अभ्यासमा रहेका कक्षा १० र कक्षा १२ एवम् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका छुट्टाछुट्टै परीक्षा नियन्त्रण कार्यालयलाई एकीकृत गरी विद्यमान परीक्षा पद्धतिलाई अझ व्यवस्थित र वैज्ञानिक ढंगले सेवा प्रवाह गर्न आवश्यक सुधार एवम् नीतिगत, कानुनी र व्यवस्थापकीय कार्यक्षेत्रहरूका विषयमा अध्ययन गर्ने भएको छ ।


पूर्व सचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्य रहेको रहेको कार्यदलले अध्ययन पश्चात् राय सुझावसहितको प्रतिवेदन पेस गर्ने छ । कार्यदलले मन्त्रालयमा पेश गर्ने प्रतिवेदनलाई व्यवहारिक र कार्यमूलक बनाउन सरोकारवालाहरूबाट सुझाब माग गरेको हो । सुझावहरू १५ दिन भित्र उच्चस्तरीय परीक्षा सम्बन्धी कार्यदलको सचिवालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, विद्यालय शिक्षा महाशाखामा[email protected]  इमेल मार्फत पठाउन सकिने छ ।

हेर्नुहोस सूचना