काठमाडौं/१८ मंसिर – संस्कृति इन्टरनेसनल स्कूलको छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न भएकोछ । यही मंसिर १२ गतेदेखि १४ गतेसम्म संस्कृति स्कुल परिसरमा आयोजना भएको उक्त ३ दिने कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र समस्याको समाधानमा आधारित छलफलमा सहभागी गराएर विद्यार्थीहरूमा नेतृत्वदायी क्षमता र कूटनीतिक सोच विकास गराउनु कार्यक्रमको उद्देश्य रहेको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यालयहरूसँगै बिर्तामोड, विराटनगर, पोखरा लगायतका विभिन्न सहरका १९ विद्यालयका ४ सय विद्यार्थीहरू सहभागीता रहेको थियो ।सहभागी विद्यार्थीहरूले संयुक्त राष्ट्र संघका विभिन्न देशका प्रतिनिधिहरूको भूमिका निर्वाह गर्दै जलवायु परिवर्तन, शान्ति स्थापना, मानव अधिकार र शिक्षा जस्ता महत्वपूर्ण र जटिल मुद्दाहरूमा समेत छलफल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले भने, “संयुक्त राष्ट्र संघले विशेष गरी बालबालिका र महिलाको अधिकारको स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हामी नागरिकहरू पनि ती अधिकारहरूप्रति जिम्मेवार बन्न आवश्यक छ । नेपालको १९ भन्दा बढी विद्यालयका ४०० प्रतिनिधिहरूलाई एउटै स्थानमा सहभागिता जनाउँदै गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ । यो संस्कृति स्कुलले गरेको एक प्रभावशाली प्रयास हो ।”
संस्कृति इन्टरनेसनल स्कुलकी फाउन्डर डाइरेक्टर दीप्ति आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै छैटौँ संस्कृति एमयुएनले विद्यार्थीहरूलाई नेतृत्व विकास, सहकार्य र समस्या समाधानका लागि सोच्न प्रेरणा दिएको बताइन । यो कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा छलफल गर्ने क्षमता विकासमा विशेष टेवा प्रदान गरेको र यस कार्यक्रममा विद्यार्थीहरूको उत्साह देखेर निकै नै प्रोत्साहित भएको उनको भनाई थियो ।
त्यसैगरी युनिसेफ नेपालका प्रतिनिधि युनिसेफ प्रतिनिधि चाहना सिंह राणाले उक्त कार्यक्रमका बारेमा आफ्नो विचार राख्दै भनिन्, “यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूको जोश र ऊर्जा देख्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । हामीलाई विश्वास छ कि यस सम्मेलनका सहभागीहरूले केवल संयुक्त राष्ट्र संघका बारेमा मात्र नभई आफ्नो अभिव्यक्तिको स्वतन्त्रताको अधिकारलाई व्यवहारमा उतार्ने शैलीबारे पनि जानकारी प्राप्त गर्नुभएको छ ।”
उक्त कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तामा समस्याको समाधान खोज्ने क्षमता विकास गर्नु र जिम्मेवार नागरिकका रूपमा उनीहरूलाई तयार गर्नु रहेको थियो । यसले विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका समसामयिक चुनौतीहरूप्रति सचेत बनाउनुका साथै सहकार्य, तर्कसङ्गत सोच र संवादको विकासमा योगदान पु¥याउने विश्वास लिइएको थियो ।
त्यस्तै संस्कृति मोडल युनाइटेड नेसनले सहभागी विद्यार्थीहरूलाई भविष्यमा नेतृत्वदायी भूमिकामा उभिनका लागि आधारभूत ज्ञान र सीपको विकास हुने विश्वास गरिएको जानकारी दियो । कार्यक्रमले विविध पृष्ठभूमिका प्रतिभावान् युवाहरूलाई एकै स्थानमा ल्याएर सहकार्य र समझदारीको उदाहरण प्रस्तुत गरेको थियो ।



