काठमाडौं/१७ मंसिर – राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका शिक्षकहरूलाई समावेशी शिक्षाको तालिम र समावेशी शिक्षाको लागि विद्यालयको न्यूनतम संरचनागत मापदण्ड तयार गर्नुपर्ने जनाएको छ । अपाङ्ग सम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा समस्या रहेको जानकारी गराउँदै अशक्त अपाङ्गता भएका शिक्षक विद्यार्थीहरूलाई समस्या हुने गरेको जनाएको हो ।
महासङ्घले अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसमा आयोजना गरिने विभिन्न कार्यक्रमहरूको जानकारी दिने उदेश्यले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सामाजिक विभेद, भौतिक अवरोधहरू र आवश्यकतामा आधारित शिक्षा नपाउँदा अपाङ्गता भएका शिक्षक विद्यार्थीहरूलाई समस्या भएकोले कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
साथै अपाङ्गता भएका बालबालिकाहरू अझै पनि विद्यालय बाहिर रहेको र विद्यालयमा पढ्दै गरेका बालबालिकाहरूले पनि अझै अन्य सरह समान रूपमा शैक्षिक गतिविधिमा सहभागी हुन नपाएको महासङ्घको भनाई छ । विद्यालय बाहिर रहेका बालबालिकालाई भित्र ल्याउन सहयोग प्रणाली स्थापना गर्नुपर्ने, सिकाइ विधि र प्रक्रियाहरू समावेशी बनाउनुपर्ने र परीक्षा प्रणालीलाई पहुँचयुक्त र समावेशी बनाउनुपर्ने विषयहरूमा जनचेतना र सार्वजनिक बहसहरू गर्नुपर्नेमा जोड् दिएको छ ।
त्यसैगरी श्रवण दृष्टिविहीन, बौद्धिक अपाङ्गता (डाउन सिन्ड्रोम समेत), अटिजम, पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्ति लगायत अन्य अपाङ्गता भएका ब्यक्तिहरूको शिक्षामा पहुँच बढाउन शिक्षक तालिम, शैक्षिक सामग्री, स्रोतकक्षाको स्तरोन्नति, अपाङ्गता छात्रवृत्तिमा बृद्धि, प्रविधियुक्त शिक्षण प्रणालीको विकास र प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३ औं अन्तर्राष्ट्रिय दिवस यही मंसिर १८ गते विश्वभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदै छ । यो वर्ष संयुक्त राष्ट्रसङ्घले तयको गरेको अन्तर्राष्ट्रिय नारामा रही नेपाल सरकार द्वारा निर्धारण गरिएको समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने राष्ट्रिय मूल नारा रहेको छ ।



