काठमाडौं/१४ मंसिर – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विद्यालय शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुने बताएका छन् । शुक्रवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन सत्रमा सो कुरा बताएका हुन् ।
दाहालले नेपालको शिक्षा विकासका लागि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक र निजी विद्यालयले एक अर्काको बलियो पक्षहरूबाट सिक्दै अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।
आफूले प्रधानमन्त्रीको तेस्रो कार्यकालमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरेको उल्लेख गर्दै विद्यालय शिक्षा विधेयक २०८० लाई संसद्मा पेस गर्नुलाई सबैभन्दा ठुलो उपलब्धिका रूपमा चित्रित गरे । उनले भने, ’सङ्घीय शिक्षा ऐनले अहिलेको शिक्षा क्षेत्रमा विद्यमान सबै समस्या समाधान गरोस् भनेर बडो मेहनतका साथ मेरो नेतृत्वको सरकारले विधेयकलाई संसद्मा पु¥याएको छ । मेरै नेतृत्वमा त्यसलाई संसद्मा त पु¥याइयो तर त्यसलाई छलफल गरेर टुङ्गोमा पु¥याउन बाँकी छ । अहिले समितिमा त्यो छलफलका क्रममा छ र आउने हिउँदे अधिवेशनमा त्यसलाई पारित गर्ने हाम्रो प्रयास छ ।’
सरोकारवालाहरूको माग मुद्दाका विषयमा समेत छलफल गरेर संशोधन मार्फत त्यसलाई समेटिएको भन्दै उनले अगाडी थपे, ’त्यो शिक्षा ऐनमा यहाँहरू समेतको सुझावलाई ध्यान दिँदै मैँले कार्यदल नै बनाएर सबै सरोकारवालाका चासो चिन्तालाई पनि सम्बोधन हुने गरी संशोधन हाल्न लगाएको छु । मलाई विश्वास छ ती संशोधन सहित शिक्षा ऐन पारित हुँदा अहिले हामीले भोगिरहेका थुप्रै नीतिगत र व्यवहारिक समस्याको सम्बोधन त्यसले गर्नेछ र सबैको भावना अधिकतम त्यसले समेट्नेछ ।’



