काठमाडौं/१० मंसिर- विद्यालयका कार्यरत शिक्षकहरूको पेसागत सीप विकास तथा अभिवृद्धि गर्ने उदेश्यले दीप बोर्डिङ हाई स्कुल, बुटवल र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच सम्झौता गरिएको छ ।
एक समारोहकाबिच काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, हात्तीवन, ललितपुरमा दीप बोर्डिङ हाई स्कुलका प्रधानाध्यापक टिकाराम न्यौपाने, संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद ढोँजू तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुइटेलबिच सम्झौता पत्र हस्तान्तरण गरिएको हो ।
प्रा.डा. लुइटेलले यस सहकार्यबाट शिक्षकहरूको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिक स्तरमा सुधार तथा २१औँ शताब्दीका सीपहरू एवं सेवा आदान प्रदान हुने कुरा व्यक्त गरे ।
विद्यालयका तर्पmबाट विद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूले विश्वविद्यालयसँगको यस सहकार्यले शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा थप योगदान पुग्ने दृढ विश्वास रहेको भनाई राखे ।
विद्यालयका प्रधानाध्यापक न्यौपानेले विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको र यसका लागि शिक्षकहरू निरन्तर सक्रिय सिकारुको रूपमा अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् । साथै न्यौपानेले शिक्षण सिकाईका गतिविधिहरूमा परिवर्तनकारी नवीनतम लक्ष्य हासिलका निमित्त पनि विश्वविद्यालय सँगको सहकार्य अपरिहार्य रहेको बताए ।



