दीर्घ शिक्षा सेवाबाट ८३ शिक्षक सम्मानित

भक्तपुर/१ मंसिर – नेशनल प्याब्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा–२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरू “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेशनल प्याब्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरूमा १० वर्ष भन्दा बढी समयदेखि हालसम्म निरन्तर अध्यापनरत शिक्षकहरूलाई बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले दीर्घ शिक्षा सेवा सम्मान पत्र प्रदान गरेका थिए ।


साथै सम्मान कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले दोसल्ला ओढाएर थप हौसला प्रदान गरे । प्रमुख अतिथि मन्त्री थापाले नेशनल प्याब्सनले यसरी शिक्षा सेवामा इमान्दारीता र सक्रियतापूर्वक सेवा गर्ने शिक्षकलाई सम्मान गरेकोमा नेशनल प्याब्सन भक्तपुरलाई आभार प्रकट गरे । उनले आफू स्वास्थ्य मन्त्री भए देखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्य अवस्था बारे सूक्ष्म ढगंले अध्ययन गरी सबै जनताले उपचारबाट बन्चित हुन नपरोस भनि लागि परेको बताए । साथै विद्यालयहरूमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्न सुझाव दिदै यसमा सहयोगी भूमिका खेल्ने बताए ।


नेशनल प्याब्सन जिल्ला अध्यक्ष संजय खड्काले सदस्य विद्यालयको जस्तो सुकै परिस्थितिमा पनि साथ दिएर बालबालिकाको शिक्षामा अनवरत सेवामा एउटै स्कुलमा रहेर अध्यापन गराउनु हुने शिक्षकहरूलाई दीर्घ शिक्षा सेवा सम्मान गरिएको बताए ।


नेशनल प्याब्सनका जिल्ला सचिव कुमार थापामगरले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवाँले गर्नु भएका थिए भने उपस्थित व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष रामप्रसाद खाताखोले गरेका थिए ।


नवौं वार्षिक साधरण सभाको दोश्रो चरणमा कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको थियो । अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो । साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढीकरणको लागि प्रस्तावहरू पारित गरिएको थियो ।