काठमाडौँ /३० कार्तिक – गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको पेसागत अभिवृद्धि गर्ने उदेश्यले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र शिखर स्कुलबिच सम्झौता भएको छ ।
विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षाकेन्द्र (सिपिइसी) मार्फत विद्यालयको आवश्यकता पहिचान, कार्यमूलक अनुसन्धान, कार्ययोजना निर्माण, कार्यशाला कार्यक्रमहरूको कार्यान्वयन, निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण तथा कार्यसम्पादनमा विद्यालयका शिक्षकहरूसँग निरन्तर सहकार्य गर्ने र शिक्षकहरूको पेसागत अभिवृद्धि गर्ने उदेश्यले सम्झौता भएको हो ।
काठमाडौँ विश्वविद्यालयका तर्फबाट असोसियट डिन प्रा.डा.हेमराज काफ्ले र शिखर स्कुलका तर्फबाट प्रिन्सिपल अञ्जिला बिस्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रा.डा.काफ्लेले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवम् सेवा आदानप्रदान हुने कुरा व्यक्त गरे ।
विद्यालयकातर्फबाट विद्यालयका प्रधानाध्यापक बिस्टले विश्वविद्यालयसँगको यस सहकार्यले शिक्षा आर्जनका निम्ति विद्यालयको ढोकासम्म आइपुगेका सम्पूर्ण बालबालिकाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास रहेको बताए ।
दुवै पक्षले कार्यक्रमको सफलताको लागि सम्झौता अनुसारको कार्यक्रम तोकिएको समयावधिभित्र कार्यान्वयन गर्ने र यसका लागि आवश्यक वातावरणको तयारी गर्ने कुरामा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।



