तेह्र विश्वविद्यालयद्वारा संयुक्त घोषणा पत्रमा हस्ताक्षर

काठमाडौं/६ कार्तिक – मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित “हुबेई (चीन) र दक्षिण एसियाका विश्वविद्यालय अध्यक्षहरूको फोरममा” सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेको छ ।


मध्यपश्चिम विश्वविद्यालयका तर्फ बाट उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यका साथ सहयोगी पहलहरूबारे छलफल गर्न दक्षिण एसिया र चीनका तेह्र संस्थाहरूका सम्मानित अध्यक्ष एवं प्रतिनिधि बीच उक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् ।


फोरम एवं घोषणा पत्रको मुख्य उदेश्य शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिनु रहेको छ । घोषणाले साझेदारीलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्नेलगायतका क्षेत्रहरूलाई रेखाङ्कित गरेको छ । यसले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्त्वलाई समेत समावेश गरेको छ भने सहभागी विश्वविद्यालयहरू बीच उच्च–स्तरीय अनुसन्धानलाई बढावा दिदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।


कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. गौतम लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूले घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।