शिक्षकको दरबन्दी मिलान अद्यावधिक गर्ने काम भइरहेको छ : मन्त्री भट्टराई

काठमाडौं/२२ असोज – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिहार पछि लगतै छलफलमा रहेको विद्यालय शिक्षा ऐनको मस्यौँदा तयार गरीने बताएकी छन् । यस विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले काम गरिरहेको बताउँदै तिहारपछि १० दिन ऐन निर्माणका लागि समय छुट्याइएको उनको भनाई छ ।


राष्ट्रिय परीक्षा बोर्डले सोमवार आयोजना गरेको विद्यालय तहको परीक्षा मूल्याङ्कन र सुधारका पक्षहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै तिहार पछि लगतै दश दिनमा एउटा खाका तयार गरेर ऐनको संशोधन सहितको मस्यौदा तयार गर्ने बताइन ।


त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्र मर्ज गर्नुपर्ने कुराहरू आईरहको उल्लेख गर्दै त्यस बारे के गर्ने भन्ने विषयमा शिक्षा समितिमा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाई आफूले पर्खिरहेको बताइन । उनले परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रबिच समन्वय हुन आवश्यक रहेको उल्लेख गरीन ।


अर्को सन्दर्भमा बोल्दै मन्त्री विद्या भट्टराईले शिक्षक दरबन्दी मिलानको विषयलाई पनि अद्यावधिक गर्न आवश्यक रहेको बताईन । उनले २०७५ सालको दरबन्दी समायोजन सम्बन्धी प्रतिवेदन भएपनि दरबन्दी अद्यावधिक गर्न जरुरी रहेको र त्यस सम्बन्धी मन्त्रालयले काम गरिरहेको बताइन ।