काठमाडौं/९ असोज – विश्वविद्यालयमा राजनीति धेरै हुने गरेकोले उच्च शिक्षाको गुणस्तरमा कमी र विद्यार्थीहरूको आर्कषण घट्दै गएको प्रा.डा श्रीराम भगत माथेले बताएका छन् । पदाधिकारी छनोट देखि हरेक कुरामा दलीय राजनीति हँदा विश्वविद्यालयको शैक्षिक गुणस्तरमा असर परेको उनको भनाई छ ।
सारा विश्व टेक्नोलोजिमा अगाडी बढिरहेको अवस्थामा नेपालमा भने विद्यार्थीलाई पुरानै शैलीका विषयहरू पठन पाठन गरिएको तर साइन्स, टेक्नोलोजिमा, इन्जिनियरिङ र गणित जस्ता विषय पढाउन तर्फ ध्यान नदिएको बताए । उनले उच्च शिक्षामा कुल विद्यार्थी मध्ये करिब ८ प्रतिशत जति साइन्स, २ वा ३ प्रतिशत जति मेडिकल र इन्जिनियरिङ पढ्ने गरेको र कृषि र फरेस्टीमा सारै थोरै विद्यार्थी हुने गरेको धारणा व्यक्त गरे ।
सार्वजनिक विश्वविद्यालयहरूलाई राजनीतिले पुरै जरासम्म खाएको बताउँदै विश्वविद्यालयमा विद्यार्थी, शिक्षक र कर्मचारीहरूले पनि राजनीति गर्ने हुँदा यसलाई बन्द गर्नुपर्ने उनको धारणा छ ।
उनले भने ‘अब विश्वविद्यालय सुधार गर्ने हो भने विश्वविद्यालय ऐन संशोधन गरेर प्रधानमन्त्री कुलपति, शिक्षा मन्त्री सहकुलपति व्यवस्था हटाएर बोर्ड अफ ट्रस्टीमा राख्नुपर्छ । बोर्ड अफ ट्रस्टीमा पनि विश्वविद्यालयका पदाधिकारीको छनोट गर्दा राजनीति दलमा आबद्ध नभएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको व्यक्तिहरू मध्येबाट मेरिटका आधारमा छान्न सकिन्छ ।’
त्यसैगरी सार्वजनिक विश्वविद्यालय सुधार गर्नुको विकल्प नरहेको बताउँदै सार्वजनिक विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउँनका लागि निजी क्षेत्रलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने अवधारणा व्यक्त गरे । ‘कसैलाई पनि सम्बन्धन दिन नमिल्ने गरी, नाफा नकमाउने गरी निजी विश्वविद्यालय खोल्न दिनुपर्छ । सार्वजनिक विश्वविद्यालय सुधार गर्नका लागि भए पनि निजी विश्वविद्यालयको अवधारणा राज्यले ल्याउनु पर्छ । प्रतिस्पर्धा भयो भने मात्रै विश्वविद्यालयमा सुधार ल्याउन सकिन्छ’ उनले भने ।



