काठमाडौं/९ असोज – काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले पछिल्लो समय साइबर अपराध बढ्दै गएकोले यसबाट बच्न विद्यार्थीलाई आग्रह गरेकी छन् । कोभिड पछि अनलाइन माध्यमबाट विद्यार्थीलाई पढाउँदा मोबाइल तथा सामाजिक सञ्जालको धेरै प्रयोग भएको र जानेर वा नजानेर साइबर अपराधमा लाग्ने गरेर बताउँदै यसबाट बच्न आग्रह गरिन् ।
सामुदायिक प्रहरी र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले संयुक्त आयोजना गरेको साइबर अपराध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै साइबर मार्फत विभिन्न अपराध हुने गरेको र ग्याजेट्सको प्रयोग गर्दा आफूलाई आवश्यक परेको सामग्री मात्रै हेर्न विद्याथीहरूलाई आग्रह गरीन ।
उनले साइबर क्राइम विशेष गरेर कोभिडको समयमा र त्यस यता वृद्धि हुँदै गइरहेको जानकारी दिँदै अनलाइनबाट विद्यार्थीहरूलाई पढाउने गरिएको र यसले विद्यार्थीलाई मोबाइलमा गेम खेल्ने र सामाजिक सञ्जाल चलाउने जस्ता कुरामा लत बस्दै गएकोले समस्या आउने गरेको बताइन ।
२०५० सालदेखि विद्यालयमा प्रहरी कार्यक्रम सञ्चालन गरिएको र पाठ्यक्रम नै निर्माण गरेर अपराध सम्बन्धी विषयहरूका बारेमा विद्यार्थीलाई सचेतना गराइएको बताउँदै विद्यालयमा पनि प्रहरी शिक्षक राखेर उनीहरूलाई सचेतना गराउन आवश्यक रहेको धारणा व्यक्त गरीन । साथै विद्यार्थीहरूले कक्षा १० पास गरेपछि अभिभावकसँग बाइक र मोबाइलको माग गर्ने गरेकाले यसलाई नियन्त्रण गर्न अभिभावकसँग आग्रह गरीन ।
आर्थिक वर्ष २०७९/०८० मा ९ हजार ९३ वटा साइबर अपराध सम्बन्धी निवेदन परेकोमा १ सय २७ मुद्दा दर्ता भएको जानकारी दिइन । त्यस्तै २०८०/०८१ मा त्यो सङ्ख्या वृद्धि भएर १९ हजार ७ सय ३० पुगेको र यो आर्थिक वर्षमा साउन यता ४ हजार २ सय ६५ निवेदन परेको बताइन ।
त्यसैगरी काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरीयले विभिन्न लोभका कारण साइबर अपराध हुने गरेकोले बालबालिकालाई यसबारे सिकाउन आवश्यक रहेको बताए । साथीहरूको लैलैमा लागेर, विभिन्न अनलाइन गेमको लतमा फसेर यस्ता अपराध गर्ने गरेकोले यसमा सचेत हुन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरे । साथै नचिनेको मान्छेलाई साथी बनाउन नहुने, अभिभावकको अनुमति विना कसैसँग अनलाइनमा कुरा गर्न नहुने उनको भनाई थियो । उनले विद्यालयले विद्यार्थीको हरेक सिप र क्षमतालाई सम्मान गर्न सके विद्यार्थी कुनै गलत बाटोमा नलाग्ने धारणा राखे ।