झापा/२ असोज – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विद्यार्थी पास हुँदा सबै भन्दा धेरै खुशी र फेल हुँदा पनि धेरै दुःख शिक्षकलाई नै लाग्नु पर्ने बताएका छन् । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माविमा मंगलबार आयोजित संस्थापक सम्मान तथा दाता परिवार सम्मान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
‘तपाईंले पढाएको विद्यार्थी पास हुँदा सबैभन्दा खुसी हुनुपर्छ, फेल हुँदा पनि धेरै दुःख तपाईंलाई लाग्नुपर्छ’ कार्यक्रममा बोल्दै उनले भने ।
विद्यार्थीको हरेक गतिविधिलाई शिक्षकले सूक्ष्म रुपमा अध्ययन–विश्लेषण गर्नुपर्ने बताउँदै प्राथमिक तहमा पढाउने शिक्षकले विश्वविद्यालयमा पढाउने भन्दा बढी मनोवैज्ञानिक रुपमा काम गर्नुपर्ने धारणा व्यक्त गरे । शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझेर डिल गर्नुभएको छ कि छैन ? व्यवहार गर्नुभएको छ कि छैन ? विचार गर्नुपर्ने उनको भनाई थियो ।
शिक्षा क्षेत्रको सुधारमा शिक्षक, व्यवस्थापन समिति, स्थानीय तहको विशेष भूमिका हुने बताउँदै उनले पालिकाका जनप्रतिनिधि आफू मातहत आएको शिक्षास्तर किन खस्कियो भनेर गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।



