विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी सङ्गठनहरू पुनःसंरचना गरीने : शिक्षामन्त्री

काठमाडौं/१ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रालय अन्तर्गत विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी सङ्गठनहरू पुनःसंरचना गरी एकीकृत रणनीति बनाई कार्यक्रमहरू तय गर्ने योजना मन्त्रालयको रहेको बताउकी छन् । विज्ञान र प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति चालु सोर्हौ योजनाले लिएको बताउँदै सो कुरा बताएकी हुन् ।


बाह्रौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देशको औद्योगिक तथा व्यापार क्षेत्रलाई समय सान्दर्भिक र सशक्त बनाई अर्थतन्त्रलाई सम्वृद्ध बनाउन कुल ग्रार्हस्थ उत्पादनमा प्रमुख योगदान दिने कृषि, वन, ऊर्जा, उद्योग, पर्यटन लगायतका क्षेत्रमा विज्ञान प्रविधि र नवप्रवर्तनको माध्यमबाट तत्कालै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने प्रमुख चुनौती हामीसामु रहेको बताइन ।


“विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि” भन्ने नाराका साथ हामी यस वर्ष बाह्रौं राष्ट्रिय विज्ञान दिवस मनाइरहेका छौँ । अनुसन्धानलाई उत्पादनसँग जोड्नु, विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गर्नु र समग्ररूपमा विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजसँग जोड्ने यथार्थलाई बोध गरी यस वर्षको विज्ञान दिवसको नारा तय गरिएको छ” उनले भनिन् ।