हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा विज्ञान प्रर्वतक थियो : प्रधानमन्त्री

काठमाडौं/१ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक रहेको बताएका छन् । समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान नसकेको बताउँदै संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएको बताएका हुन् ।


प्रधानमन्त्री ओलीले १२औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य रहेको बताए । यसका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर रहेको दाबी उनको छ ।


उनले भनेका छन् ‘सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सवलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ ।’


त्यसैगरी सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरू केन्द्रित कार्यक्रमहरूका लागि सरकारले बजेट विनियोजन गरेको जनाएका छन् । देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरूको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरू निर्माण मार्फत् ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा हामी केन्द्रित हुन आवश्यक रहेको उनको भनाई छ ।