काठमाडौं/३० भदौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत)सँग सम्बन्धित रहेको र दोस्रोमा शिक्षा (स्थानीय तहसमेत)सँग सम्बन्धीत रहेको जनाएको छ । आयोगको चौतिसौँ वार्षिक प्रतिवेदनमा सङ्घीय मामिला ३८ दशमलव ९१ प्रतिशत छ भने शिक्षामा १५ दशमलव ७९ प्रतिशत रहेको उल्लेख छ ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) पेस गरेका थिए ।
आयोगले आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा कुल २ सय १ वटा मुद्दा दर्ता गरिएको मध्ये नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४ मुद्दा दर्ता भएका छन् । नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४ मुद्दामा १० जना महिला र २४ जना पुरुष रहेका छन् ।
त्यसैगरी बढी उजुरी परेका १० सङ्घीय मन्त्रालयको विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तेस्रो स्थानमा रहेको छ । गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका उजुरीमा १ सय ६९, आर्थिक वर्ष २०८०/०८१मा दर्ता भएका उजुरी १ हजार ५४ गरी कुल १ हजार २ सय २३ रहेको आयोगले जनाएको छ ।
आव २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार नौ सय १८ उजुरी प्राप्त भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३६ हजार एक सय ८६ रहेको छ । तीमध्ये ७६ दशमलव ५९ प्रतिशत उजुरी अर्थात् २७ हजार सात सय १४ उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरिएका छन् ।



