रजिस्ट्रार पदका लागि दरखास्त आह्वान

काठमाडौं/३० भदौं-मध्यपश्चिम विश्वविद्यालयले रजिस्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ । रजिस्ट्रार पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता र मापदण्ड पुगेका योग्य नेपाली नागरिकद्वारा असोज ८ गतेभित्र दरखास्त दिन आह्वान गरेको हो ।


आवेदनका लागि शैक्षिक प्रशासनमा विशिष्टता प्राप्त गरेको व्यक्ति हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयका प्राध्यापक वा कम्तीमा दस वर्ष सेवा पुगेका सह–प्राध्यापक हुनुपर्ने, योग्यता र मापदण्डहरू खुलाइएको वैयक्तिक विवरण पेश गर्नुपर्ने, बढीमा तीन हजार शब्द सम्मको विश्वविद्यालय सुधार सम्बन्धी अवधारणा पत्र पेश गर्नुपर्ने योग्यता र मापदण्ड उल्लेख गरेको छ ।


साथै मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति हुने व्यवस्था अनुसार इच्छुक व्यक्तिहरूले निवेदन सहित उल्लिखित योग्यता र मापदण्डहरूको स्क्यान प्रति इमेल ठेगाना [email protected] मा पठाई दरखास्त दिन सकिने जनाएको छ ।