परिष्कृत शिक्षा प्रणाली आजको आवश्यकता

काठमाडौं/२३ भदौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले परिष्कृत शिक्षा प्रणाली आजको आवश्यकता रहेको बताएकी छन् । संविधानको कार्यान्वयनसँगै दिगो विकासको लक्ष्य हासिल गर्न संरचनागत तथा कार्यमूलक सुधार सहित समग्रतामा परिमार्जन र परिष्कृत शिक्षा प्रणाली आजको आवश्यकता रहेको बताएकी हुन् ।


५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना दिँदै शिक्षालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरिएकोले स्थानीय, प्रदेश र सङ्घका बीच समन्वयात्मक योजनाका साथ अगाडि बढ्दै साक्षरताका कार्यक्रम सञ्चालन गरी साक्षर नेपाल अभियान अगाडि बढाउनुपर्ने उनको भनाई छ ।


त्यसैगरी नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्वीकार गरी आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको उल्लेख गर्दै यसको कार्यन्वयन गरीने बताएकी छन् ।


अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ बनिसकेको अवस्थामा यसको कार्यान्वयन गर्नु राज्यको प्रमुख दायित्व रहेको र सरकारले यस ऐनलाई कार्यान्वयन गर्नका लागि कार्यान्वयन ढाँचा समेत तयार गरेको स्पष्ट पारेकी छन् ।


‘हाल साक्षरता कार्यक्रम अन्तर्गत आधारभूत साक्षरता, साक्षरोत्तर कार्यक्रम र महिला लक्षित आय आर्जन कार्यक्रम रहेका छन् । सामुदायिक सिकाइ केन्द्रले साक्षरता र जीवनपर्यन्त सिकाइ कार्यक्रम सञ्चालनमा सहयोग गरिरहेका छन् । युवा तथा प्रौढहरूमा कार्यमूलक साक्षरताको अभिवृद्धि गर्नु र पढ्ने बानीको विकास गराउनु साक्षरता र जीवनपर्यन्त सिकाइको मूल उद्देश्य रहेको छ । बालबालिकाको साक्षरतालाई निरन्तरता दिन वैकल्पिक र अनलाइन शिक्षाको माध्यमबाट अघि बढ्ने योजनामा नेपाल सरकार प्रतिबद्ध रहेको छ । साक्षरता अभियानलाई सफल बनाउन हामी सबैको हातेमालो आवश्यक रहेको छ’ मन्त्री भट्टराईले भनेकी छन् ।