एसईईको उत्तरपुस्तिकामा परीक्षकबाट धेरै त्रुटि भएपछि निर्देशिका ल्याइँदै

काठमाडौं/२२ भदौं – राष्ट्रिय परीक्षा बोर्डले ‘परीक्षा व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०८१’ छिट्टै सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षालाई व्यवस्थित गर्ने त्रुटि कम होस भन्ने उदेश्यले नयाँ निर्देशिका तयार गरेको हो ।


२०८० सालको एसईईको नतिजामा उत्तरपुस्तिका परीक्षकको त्रुटि धेरै देखिएपछि यसलाई व्यवस्थित गर्न निर्देशिका ल्याउन लागिएको बोर्डले जनाएको छ । उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले हतार गरेको र उत्तरपुस्तिकामा प्रश्न जाँच्न छुटेको अवस्थामा सम्परीक्षकले समेत छुटाएकोले त्यसलाई व्यवस्थित गर्न निर्देशिका निर्माण गरिएको बोर्डको भनाई छ ।


यस अघिको निर्देशिकामा त्यसरी परीक्षक र सम्परीक्षकका कारणले नतिजामा त्रुटि हुँदा कारबाही हुने उल्लेख कतै नभएकोले उनीहरूलाई कस्तो कारबाही हुने विषयलाई समावेश गरेर निर्देशिका ल्याउने तयारी बोर्डको छ । साथै यस भन्दा अगाडीका नितजाहरूमा उनीहरूका कारणले त्रुटि हुँदा नामावली सार्वजनिक नगरी आन्तरिक रूपमा बोर्डले ब्ल्याक लिस्टमा राख्ने गरेको थियो । तर अब यसलाई सार्वजनिक गर्ने विषयमा समेत बोर्डले छलफल अगाडी बढाएको छ । बोर्डका अनुसार निर्देशिका आएपछि प्रदेशसँग छलफल गरेर सार्वजनिक गर्ने वा नगर्ने गर्ने भन्ने विषयमा निर्णय हुने जनाएको छ ।


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मा २०८० सालको एसईईको नतिजालाई लिएर पुनर्योगका लागि १८ हजार ६ सय १२ ले निवेदन दिएका थिए । तीमध्ये केहीको नतिजा साविकभन्दा धेरै परिवर्तन भएर आएको थियो । आवेदन दिएका मध्ये ७ सय ५४ उत्तरपुस्तिकामा त्रुटि भेटिएको छ । त्यसरी पुनर्योगमा नतिजा परिवर्तन हुँदा कुल आवेदनको ४.६४ प्रतिशतले नतिजामा सुधार भएको थियो ।


बोर्डका अनुसार ग्रेड परिवर्तन हुनुका कारणहरूमा उत्तरपुस्तिकामा प्रश्न जाँच्न छुटेको अवस्थामा सम्परीक्षकले समेत छुटाएको, उत्तरपुस्तिकाको भित्र दिइएको प्राप्ताङ्क बाहिर चढाउँदा त्रुटि भएको, बाहिर चढाएको प्राप्ताङ्क जोड्दा गलत भएको, उत्तरपुस्तिका भित्र दिएको प्राप्ताङ्क र बाहिर चढाएको प्राप्ताङ्क रुजु नभएको, प्राप्ताङ्कको जोड अङ्क र अक्षरमा लेख्दा त्रुटि रहेको, प्राप्ताङ्क दिँदा स्पष्ट अक्षर र अङ्कमा नलेख्दा प्राप्ताङ्क स्लिपमा चढाउँदा गल्ती भएको त्यसले गर्दा इन्ट्रि गलत भएको, परीक्षकले लेखेको प्राप्ताङ्क सम्परीक्षकले फरक पढेर निजबाट गलत लेखिएको, सम्परीक्षकले प्राप्ताङ्क परिवर्तन गरेकोमा प्राप्ताङ्क स्लिपमा नसच्याएकोले इन्ट्रि गलत भएको, प्राप्ताङ्क स्लिपको प्राप्ताङ्क कम्प्युटर इन्ट्रि गर्दा त्रुटि भएको, प्रश्नहरू जाँचेर प्राप्ताङ्क दिँदा दुई उत्तरको बीचमा अङ्क लेख्दा त्यसको गणना डवल वा छुट हुँदा प्राप्ताङ्कमा फरक परेको पत्ता लागेको जनाएको छ ।


साथै ७ सय ५४ त्रुटि सङ्ख्या मध्ये सबै भन्दा धेरै १ सय ८१ त्रुटि माक्र्स स्लिपमा चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा पाइएको छ । त्यसपछि अङ्क चढाउँदा र जोड्दा १ सय ५६, बाहिर अङ्क चढाउँदा १ सय ५२, प्राप्ताङ्क जोड्दा १ सय ३४, जाँच्ने विषयमा १ सय १७, जाँच्दा र जोड्दा दुबैमा १२, जोड्दा र इन्ट्रि गर्दा १ र जाँच्दा, चढाउँदा र जोड्दा तीनै विषयमा एउटा मात्रै त्रुटि रहेको देखिएको छ ।


त्यसैगरी जम्मा निवेदन दिने मध्येमा परीक्षणमा त्रुटि ०.७२ प्रतिशत, उत्तरपुस्तिका बाहिर अङ्क चढाउँदा त्रुटि भएको ०.९४ प्रतिशत, बाहिर प्राप्ताङ्क जोड्दा त्रुटि भएको ०.८३ प्रतिशत, मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा त्रुटि भएको १.११ प्रतिशत, जाँच्दा र जोड्दा दुवैमा त्रुटि भएको ०.०७ प्रतिशत, उत्तरपुस्तिका बाहिर चढाउँदा र जोड्दा त्रुटि भएको ०.९६ प्रतिशत, जोड्दा र इन्ट्रि गर्दा त्रुटि भएको ०.०१ प्रतिशत र परीक्षण गर्दा, अङ्क चढाउँदा र जोड्दा तीन वटैमा त्रुटि भएको ०.०१ प्रतिशत रहेको पाइएको छ ।