अमेरिकाको एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा चार जनाको मृत्यु

काठमाडौं/२० भदौं-अमेरिकाको जर्जिया राज्यको एक हाईस्कुलमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार सो घटनामा अन्य ९ जना घाइते भएका छन् ।


ब्यारो काउन्टीको अपलाची हाई स्कुलमा बुधबार १४ वर्षीय बालक कोल्ट ग्रेले गोली चलाउँदा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएको अधिकारीहरुले जनाएका छन् । गोली चलाउने बालक पनि सोही विद्यालयको विद्यार्थी भएको स्थानीय प्रहरीले बताएका छन् ।


करीब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे १० बजेको समयमा गोलाबारी भएको अधिकारीहरुको बताएका छन् । प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारबाही गर्ने बताएको छ ।