काठमाडौं/२० भदौं – जापानबाट नेपाल फर्किएका विद्यार्थीहरूमा भाषाका कारण समस्या आएको र त्यसको समाधानका लागि सरकारले यस सम्बन्धी छुट्टै नीति बनाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जापानमा जन्मिएका नेपाली बालबालिका नेपाल फर्कन चाहेपनि भाषाका कारणले नपाल फर्कन नसकेको सन्दर्भमा भाषा सिकाइका लागि छुट्टै नीति बनाउन आवश्यक रहेको बताएका हुन् ।
प्रवासी नेपाली बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आएको समूह ( एमआईसिएलई) ले बालबालिकालाई भाषा सिकाएपनि बालबालिकाहरूले सिक्नका लागि कुनै किताब वा सामग्री नरहेको बताउँदै त्यसका लागि सरकारले नीति बनाएर काम गर्नुपर्ने जनाएको छ ।
उनीहरूले अनलाईनबाट नेपाली भाषा सिक्न चाहाने बालबालिकाका लागि अनलाईन सामग्री उपलब्ध गराउनु पर्ने, देश बाहिर बस्ने बालबालिकाहरूका लागि छुट्टै किताब हुनुपर्ने माग गरेका छन् । साथै नेपाल फर्किएका बालबालिकाहरूमा भाषाकै कारणले शैक्षिक स्तर खस्किएको, पढाईमा कठिन हुने गरेको र त्यस्ता बालबालिकाहरूलाई विद्यालयले लिन पनि गाह्रो मान्ने गरेको बताएका छन् ।
जापानमा जन्मिएका नेपाली बालबालिकाहरूलाई नेपाल सरकारले नेपाली भाषा, संस्कृति सिकाउन सके उनीहरू नेपाल फर्कने र नेपालमा आएर पठन पाठन गर्न सहज हुने उनीहरूको धारणा रहेको छ ।