काठमाडौं/१५ भदौं – पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहमा नयाँ भर्नाका लागि लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८१/०८२ का लागि भदौं ८ सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
विश्वविद्यालयले योग्यताक्रम सूची अनुसार नतिजा प्रकाशित गरेको जनाएको छ । सम्बन्धित स्कुल/क्याम्पस/कलेजहरूले संलग्न प्रवेश परीक्षाको योग्यताक्रम सूची अनुसार विश्वविद्यालयद्वारा तोकिएको भर्ना सङ्ख्या ( कोटा ) का आधारमा ५ प्रतिशत जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था अनुसार विद्यार्थीले तोकिएको सबै डकुमेन्ट पेश गरेको खण्डमा भर्ना गर्न मिल्ने विश्वविद्यालयको भनाई छ । साथै आरक्षित छात्रवृत्तिका लागि आवेदन दिएका आवेदकहरूको परीक्षाफल पछि प्रकाशित गरिने भएकाले आरक्षित तर्फको ५ प्रतिशत छात्रवृत्ति सिट खाली राखेर उर्त्तीण भएका आवेदकहरूबाट भदौं ३० गतेसम्म भर्ना गर्न आग्रह गरेको छ ।
विद्यार्थी भर्ना सम्बन्धी विनियमावली २०७८ (संशोधन सहित) मा तोकिएको शैक्षिक मापदण्ड अनुसारका शैक्षिक योग्यताका सम्पूर्ण प्रमाणपत्र एवं कागजातहरू बुझी लिई विद्यार्थी भर्ना गरी विद्यार्थीहरूको सम्बन्धित शैक्षिक कार्यक्रम अनुसारको विवरण खुलाई इन्जिनियरिङ संकाय डीनको कार्यालयमा भदौं ३१ गते भित्र अनिवार्य रूपमा जानकारी गराउन भनिएको छ ।
विश्वविद्यालयद्वारा तोकिएको मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना भए/गरे/गराएमा स्वयं विद्यार्थी र सम्बन्धित स्कुल/क्याम्पस/कलेज जबाफदेही हुने जनाएको छ ।



