काठमाडौँ/६ भदौ – काठमाडौँको पुतलिसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले बुधवार बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिई सिभिल, बीटेक इन बायोटेक्नोलोजी, बीबीए र बीएचएम तह पास गरेका विद्यार्थीहरूलाई बिदाइ तथा सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन देवी भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ देश भित्रकै अब्बल दर्जामा पर्ने बताउँदै स्नातक र स्नातकोत्तर तहका सबै कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरिएको जानकारी दिए ।
उनले मूल्याङ्कन पद्धति अत्याधुनिक रहेको र परम्परागत इन्टर्नल परीक्षा खारेज गरेर निरन्तर मूल्याङ्कन प्रणाली लागु गरेको बताए । विद्यार्थीको हाजिरी, प्रस्तुति, फिल्ड वर्क, गृहकार्य र आन्तरिक परीक्षा आदिको भरमा मूल्याङ्कन गरिन्छ ।
उनले भने “हामीले अनिवार्य इन्टर्नसिपको व्यवस्था गरेका छौँ । पाठ्यक्रम परिमार्जन गरिएको स्थानीय उद्योग, व्यवसाय तथा स्थानीय निकायसँग समन्वय गरि ईन्टर्नसिपको व्यवस्था गरिएको छ, नेपालको पर्यावरण, प्राकृतिक अवस्था र हाम्रा विकासका चाहनालाई सम्बोधन गर्न सक्ने गरि पाठ्यक्रम परिमार्जन गरिएको छ । त्यसैगरि हाम्रा जनशक्तिलाई समेत क्रमशः तालिम तथा उच्च शिक्षाको अवसर प्रदान गरि पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउँदै लगिएको छ ।”

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै देशका लागि उत्कृष्ट काम गर्न र विश्वविद्यालय तथा कलेजबाट आर्जन गरेको ज्ञान सिपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सुझाब दिए । देशको इन्जिनियरिङ शिक्षालाई व्यवस्थित गर्नका लागि नेपाल इन्जिनियरिङ परिषद् लागेको बताउँदै देशमा अझै धेरै इन्जिनियरको आवश्यकता रहेको बताए ।
कलेजका प्रिन्सिपल प्रा.तोयानारायण पौडेलले आफूलाई ज्ञान र सिप दिने शिक्षक र शैक्षिक संस्थालाई जीवनभर भुल्न नहुने बताउँदै नराम्रो कुरालाई बिर्सिएर सकारात्मक कुलाई लिएर जीवनमा अगाडी बढ्न विद्यार्थीलाई शुभकामना दिए ।
उनले विद्यार्थी नेपालमै नबस्ने वातावरण सिर्जना भइरहेको अवस्थामा सबै विद्यार्थीलाई देशमै बसे केही गर्न सकिने र विदेश नै जान नपर्ने सुझाब दिए । साथै विद्यार्थीहरू पास भएर गएपनि मार्गदर्शन गर्न सधैँ कलेजको ढोका खुला रहेको र अप्ठेरो परेको खण्डमा कलेजलाई सम्झिन विद्यार्थीहरूलाई आग्रह गरे ।
विद्यार्थीहरूले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा पढ्न पाएकोमा खुसी व्यक्त गर्दै कलेजले दिएको ज्ञान र सिपलाई व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालय र कलेजलाई धन्यवाद दिए । कलेजले सिप सहितको शिक्षा दिँदा आफुहरू पढ्दै गर्दा पनि रोजगार गर्न सफल भएको उनिहरूको भनाई थियो ।



