काठमाडौँ /५ भदौँ – नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षकहरूसँग सरकारले गरेको सम्झौता अनुसार राहत,अस्थायी, इसिडी शिक्षक, प्राविधिक धारका शिक्षक तथा विद्यालय कर्मचारीको स्थायित्व कार्यान्वयन गर्न माग गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा शैक्षिक मूल्य मान्यता र पेसाकर्मीहरूको हक, हित तथा संरक्षणको प्रबन्ध हुने गरी नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग पटक पटक विगतमा गरेका सहमतिहरू कार्यान्वयन गर्न माग गरेको हो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औं राष्ट्रिय परिषद्को बैठक पछि आज आयोजित पत्रकार सम्मेलनमा सरकारसँग ८ बुँदे माग अगाडी सारेको छ । गुणस्तरीय शिक्षाको लागि शिक्षामा गुणस्तरीय लगानीको ग्यारेन्टी, स्थानीय तहमा पेसागत हक, अधिकार र शिक्षकको संरक्षण, संविधान सम्मत ट्रेड युनियन अधिकारहरूको प्रत्याभूति, निजी क्षेत्र र निजि स्रोतका सबै प्रकारका शिक्षकहरूको आधारभूत सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी, विद्यालय शिक्षालाई तीन तहका सरकारको साझा दायित्व र उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, दरबन्दी मिलान तथा पुनर्वितरण कार्यदलको प्रतिवेदनका सुझावहरू समय सापेक्ष पुनरावलोकन गरी शिक्षा ऐन जारी गर्नुपर्ने संगठनको माग छ ।
त्यसैगरी राहत, बालविकास शिक्षक, विद्यालय कर्मचारी, साविक उमावि, प्राविधिक धार, पेन्सन वञ्चित, सबै प्रकारका अस्थायी छुट करार, तीन तहकै अनुदान शिक्षक, सामुदायिक विद्यालयका नीजि स्रोत शिक्षक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय नर्स तथा विभिन्न प्रशिक्षकहरू लगायत शिक्षा क्षेत्रमा काम गर्ने अस्थायी प्रकृतिका शिक्षाकर्मीहरूलाई स्थायित्व, स्थायी शिक्षक सरहको तलब र योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध गर्न माग गरेको छ ।
सार्वजनिक शिक्षा क्षेत्रमा स्थानीय तहले मनलाग्दी रूपमा शिक्षा कार्यविधि बनाउने, सरुवा, घटुवा र तलब सम्म रोक्ने र शिक्षक, विद्यालय कर्मचारी माथि कार्य स्थलमा हुने आक्रमण तथा दुर्व्यवहार जस्ता कार्य हुने उल्लेख गर्दै यस्ता कार्य तत्काल बन्द गर्न नेपाल सरकारसँग माग गर्दछ विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस माग
१.विद्यालय शिक्षा ऐन २०८०
पञ्चायती शिक्षा ऐन २०२८ लाई पटक पटक टालेर काम चलाइएको संविधानसँग बाझिएका बुँदाहरू निष्कृय र विवादग्रस्त भएकाछन्। सार्वजनिक शिक्षा क्षेत्रमा एक प्रकारको अराजकता मच्चिएकोछ। नयाँ संवैधानिक व्यवस्था अनुसारको विद्यालय शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएकोछ, तर अपेक्षा अनुसारको डेलिवरी दिन नसकेको अनुभव रहेकोछ। स्थानीय तहहरूले नेपाल सरकारले गरेका व्यवस्थाहरूलाई चुनौती दिईरहेकाछन्। प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा शैक्षिक मूल्य मान्यता र पेशाकर्मीहरूको हक, हित तथा संरक्षणको प्रबन्ध हुने गरी नेपालको संविधान अनुसारको निःशुल्क, समावेशी शिक्षाको सुनिश्चितता, नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग पटक पटक विगतमा गरेका सहमतिहरू (राहत,अस्थायी,ईसिडि शिक्षक,प्राविधिक धारका शिक्षक तथा विद्यालय कर्मचारीको स्थायित्व) को कार्यान्वयन, गुणस्तरीय शिक्षाको लागि शिक्षामा गुणस्तरीय लगानीको ग्यारेन्टी, स्थानीय तहमा पेसागत हक, अधिकार र शिक्षकको संरक्षण, संविधान सम्मत ट्रेड युनियन अधिकारहरूको प्रत्याभूति, निजी क्षेत्र र नीजि स्रोतका सबै प्रकारका शिक्षकहरूको आधारभूत सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी, विद्यालय शिक्षालाई तीन तहका सरकारको साझा दायित्व र उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, दरबन्दी मिलान तथा पुनर्वितरण कार्यदलको प्रतिवेदनका सुझावहरू समय सापेक्ष पुनरावलोकन गरी लागु गर्नुपर्छ भन्ने कुरामा हामी दृढ छौँ। सोही अनुसार शिक्षा ऐन शीघ्रातिशीघ्र जारी गर्न सरकार समक्ष जोडदार माग गरिन्छ ।
२.शिक्षा बजेट
सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरू मध्ये एक तिहाइको लागि साविकको दरबन्दी छ, बाँकी दुई तिहाइ शिक्षकहरू राहत, ई सि डी र बढ्दो सङ्ख्यामा रहनुभएको विद्यालय कर्मचारी, प्राविधिक विद्यालयका शिक्षक, विद्यालय नर्स, परम्परागत तथा विशेष विद्यालयका शिक्षकहरूको पेशा प्रवेश, ज्याला तलब, प्रोत्साहन, पेशागत विकास र सुरक्षामा हाम्रो गम्भीर चासो रहेकोछ। शिक्षामा लगानी कम छ, करिब ५४ हजार शिक्षकको अभाव छ। कक्षागत र विषयगत शिक्षक व्यवस्था, विद्यालयको भौतिक अवस्था, तालिम, प्रोत्साहन र पेशागत सुरक्षा कमजोर भएकोछ। नेपालको संविधानले विद्यालय शिक्षालाई मा.वि. तहसम्म निःशुल्क तथा आधारभूत तहसम्म अनिवार्य समेत गर्न र शिक्षा समावेशी र समतामूलक समेत गर्ने घोषणा गरेको,नेपाल एजुकेशन २०३० तथा SDG-4 लगायत शिक्षा सम्बन्धी विविध अन्तर्राष्ट्रिय सन्धि सम्झौताको सदस्य राष्ट्र पनि रहेको सन्दर्भमा तीन वटै सरकारहरूले सार्वजनिक शिक्षामा बजेटको २०% विनियोजन गरी सरोकारवालाहरूको सहमतिमा शिक्षा विकासका योजना निर्माण गरी कार्यान्वयन गराउन सरकार समक्ष जोडदार माग गर्दछ ।
३. राहत, बालविकास शिक्षक, विद्यालय कर्मचारी, साविक उमावि, प्राविधिक धार, पेन्सन वञ्चित, सबै प्रकारका अस्थायी छुट करार, तीन तहकै अनुदान शिक्षक, सामुदायिक विद्यालयका निजी स्रोत शिक्षक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय नर्स तथा विभिन्न प्रशिक्षकहरू लगायत शिक्षा क्षेत्रमा काम गर्ने अस्थायी प्रकृतिका शिक्षाकर्मीहरूलाई स्थायित्व, स्थायी शिक्षक सरहको तलब र योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध गरिनु पर्छ । हाल कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाका लागि रू. १५ का दरले प्रदान गरिदै आएको रकम अत्यन्त न्यून भएकाले वृद्धि गरी रू. ५० पु–याएर कक्षा १२ सम्म विस्तार गर्नु पर्छ ।
४. संविधान संशोधनको क्रममा संवैधानिक शिक्षा आयोग, शिक्षक सेवा आयोगको व्यवस्था गर्ने र विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय सरकारको साझा सुचीमा राख्न नेपाल सरकार र सम्बन्धित सबैसँग जोडदार माग गर्दछ ।
५. सार्थक गुणस्तरीय सार्वजनिक शिक्षा हाम्रो ध्येय हो, तर हाल नेपालमा विद्यमान रहेको निजी क्षेत्र तथा सामुदायिक विद्यालयका निजी श्रोतमा कार्यरत शिक्षक कर्मचारीहरूको नियुक्ति, सेवा सुविधा, पेसागत विकास र सुरक्षाको भरपर्दो व्यवस्थापन साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागु गर्न नेपाल सरकारसँग माग गर्दछ ।
६. March to local level-2024 को अभियान अनुसार ७५३ वटा पालिकाहरूमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एक पालिका एक विद्यालयमा सरोकारवालाहरूसँगको अन्तरक्रिया÷छलफल गराई समस्या पहिचान र प्राथमिकिकरण गरी शैक्षिक सुधारका कार्यक्रमहरू बढाइने छ ।
७ . शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, मेधावी जनशक्ति भित्र्याउन विशेष शैक्षिक नीति ल्याउन नेपाल सरकारसँग माग गर्दछ ।
८. सार्वजनिक शिक्षा क्षेत्रमा स्थानीय तहले मनलाग्दी रूपमा शिक्षा कार्यविधि बनाउने,सरुवा,घटुवा र तलब सम्म रोक्ने र शिक्षक,विद्यालय कर्मचारी माथि कार्य स्थलमा हुने आक्रमण तथा दुर्व्यवहार कार्य निन्दनीय छ, यस्ता कार्य तत्काल बन्द गर्न नेपाल सरकारसँग माग गर्दछ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकले पारित गरी जारी गरिएको काठमाडौँ घोषणापत्र–२०८१
२०८१ भाद्र २ गते आइतवार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठक काठमाडौँ बबरमहल स्थित कार्की व्याड्क्युटमा भव्यताका साथ सम्पन्न भयो। भाद्र १ र २ गते सञ्चालित दुई दिवसीय परिषद्मा भएको घनीभूत छलफलबाट परिषद्ले निम्नानुसारको काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
१.सरकारको स्थायित्व, सुशासन र समृद्धिका लागि नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा नयाँ समीकरणसहित सरकार गठन भएको छ । यो परिषद् बैठक यसको समर्थन गर्दै सरकारलाई बधाई ज्ञापन गर्दछ । साथै यो कार्यकालमा विद्यमान शैक्षिक मुद्दाहरू हल हुनेछन् भन्ने अपेक्षासहित सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।
२. नेपालको संविधान २०७२ लाई संशोधन गरी संविधानको अनुसूची ८ हटाई विद्यालय शिक्षालाई अनुसूची ९ को साझा सूचीमा राख्ने प्रबन्ध गर्दै विगतदेखि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले माग गर्दै आएको शिक्षा आयोग र शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
३. संसदको विषयगत समितिको छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई पेन्सन वञ्चित शिक्षकहरूको पेन्सनको प्रबन्ध गर्ने एवम् बाल विकास शिक्षक, विद्यालय कर्मचारी, राहत शिक्षक, साविक १०+२ का शिक्षक, छुट करार शिक्षक, प्राविधिक धारका प्रशिक्षण जनशक्ति र विशेष शिक्षामा कार्यरत जनशक्ति लगाएतका सबै वर्गका शिक्षाकर्मीलाई दरबन्दी व्यवस्था गर्दै स्थायित्व हुने गरी नेपाल शिक्षक महासङ्घसँग र नेपाल सरकारका बिच पटक पटक भएका सम्झौताहरू सम्बोधन हुने गरी अविलम्ब शिक्षा ऐन जारी गर्न यो परिषद् जोडदार माग गर्दछ ।
४. शिक्षक महासङ्घ गठनमा भएको असङ्गतिप्रति यो परिषद् भर्त्सना गर्दछ । साथै विधान विपरीत गठन भएका नेपाल शिक्षक महासङ्घका सबै तहका समितिहरू खारेज गर्दै विधान सम्मत महासङ्घ गठन प्रक्रिया अगाडि बढाउन महासङ्घका अन्य घटक संस्था र सम्बन्धित पक्षलाई यो परिषद् आह्वान गर्दछ ।
५. स्थानीय तहहरूले आस्थाको आधारमा शिक्षकको सरुवा, प्रधानाध्यापक नियुक्तिमा धाँधली, शिक्षकको बर्खास्त र विदा कटौती जस्ता ज्यादती गर्दै आएकाले यस्ता हर्कतहरू रोक्न यो परिषद् जोडदार माग गर्दछ ।
६. समय सापेक्ष शिक्षक विद्यार्थी अनुपात (STR) कायम गरी, सामुदायिक विद्यालयहरूको शिक्षक दरबन्दी मिलान गर्न र दरबन्दी अपुग भएका विद्यालयहरूमा क विषयगत दरबन्दी उपलब्ध गराउन यो परिषद् बैठक नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
७. तल्लो तहबाट माथिल्लो तहमा बाह्य प्रतिस्पर्धाबाट तह वृद्धि भएका शिक्षकहरूको छुट प्राविधिक ग्रेड समायोजन गरी सेवा सुविधा उपलब्ध गराउन यो परिषद् बैठक नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी भएको शिक्षक सरुवा निर्देशिका ज्यादै यान्त्रिक भएको र यसबाट अपाङ्ग शिक्षक, गर्भवती एवम् ३ वर्ष मुनिका बालबच्चा भएका महिला शिक्षक, स्वयम् वा परिवारका सदस्य दीर्घरोगी भएका शिक्षक, एवम् तल्लो तहका शिक्षकहरूबाट माथिल्लो तहको कक्षा सञ्चालन गरेका प्रस्तावित विद्यालयहरूको समस्या समाधान हुने गरी निर्देशिकालाई अविलम्ब न्यायपूर्ण र व्यवहारिक हुनेगरी संशोधन गरियोस् भनी यो परिषद् जोडदार माग गर्दछ ।
९. शिक्षकहरूको विदाको सम्बन्धमा हालै जारी भएको निर्देशन अविलम्ब खारेज गरी अस्थायी, करार, राहत तथा प्राविधिक धारमा कार्यरत प्रशिक्षकहरू लगाएत सबै प्रकारका शिक्षकहरूको विरामी विदा सञ्चित हुने र सञ्चित विदाको नियमानुसार सुविधा उपभोग गर्न पाउने प्रबन्ध गर्न यो परिषद् जोडदार माग गर्दछ ।
१०. नेपाल सरकारको आ.व. २०८१/०८२ नीति तथा कार्यक्रममा शिक्षकहरू कुनै पनि राजनैतिक दलको सदस्य हुन नहुने विषय उल्लेख गरिएकोमा वर्तमान शिक्षा ऐन २०२८ विपरीतको उक्त विषयले समस्त शिक्षक समुदाय आतङ्कित बनेको छ । यसलाई सुधार गरी शिक्षकहरूलाई सामूहिक सौदाबाजीको पूर्ण उपयोग गर्न पाउने राजनैतिक अधिकारसहितको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न यो परिषद् जोडदार माग गर्दछ ।
११. सर्वोच्च अदालतको आदेशअनुसार नेपाल सरकाबाट सैनिक सेवा र निजामती सेवामा रहेका राष्ट्रसेवकहरूको तलब र ग्रेड समायोजनको प्रक्रिया अगाडि बढाउदा उक्त समायोजनमा सबै तहका शिक्षकलाई पनि अनिवार्य रूपमा समायोजन गर्न यो बैठक जोडदार माग गर्दछ ।
१२. वर्तमान शिक्षा नीतिले प्रभावकारी परिणाम दिन सकेको छैन तसर्थ व्यवहारिक एवम् सामयिक शिक्षा नीति तर्जुमा र कार्यान्वयन गरी २०७६ मा लागु गरिएको पाठ्यक्रम पुनर्व्यवस्थित गर्न, STEAM Education को अन्तराष्ट्रिय मान्यतालाई लागु गर्न मूल्याङ्कन प्रणालीलाई विश्वसनीय, स्थिर र सार्थक बनाउन यो परिषद् जोडदार माग गर्दछ ।
१३. हाल देशमा पुँजीगत खर्च नहुने र साधारण खर्चमात्र हुने कार्यले देशमा आर्थिक वृद्धि, पूर्वाधार निर्माण र रोजगारी सिर्जना हुन सकिरहेको छैन तसर्थ यो परिषद् पुँजीगत खर्चको प्रतिशतको आधारमा कर्मचारीहरूको कार्य सम्पादनको मूल्याङ्कन गर्ने नीति लागु गरियोस् भनी माग गर्दछ ।
१४. हाल १० प्रतिशतको हाराहारीमा रहेको शिक्षाको बजेट वृद्धि गरी तिनै तहका सरकारले आफ्नो वार्षिक विकास बजेटको न्यूनतम २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्न साथै सबै प्रदेश जिल्ला र स्थानीय पालिकाहरूमा शिक्षकका संघ सङ्गठनका प्रतिनिधिहरू सम्मिलित शैक्षिक संवाद समिति गठन र उक्त समितिमार्फत शैक्षिक समस्या हल गर्ने नीति अवलम्बन गरियोस् भनी यो परिषद् माग गर्दछ ।
१५. हालसालै चितवन जिल्लाको सिमलताल बस दुर्घटना, सौर्य एयरलाइन्स र एयर डाइनाष्टिक हवाई दुर्घटनाबाट ठूलो धनजनको क्षती भएको छ । यसले बस तथा हवाई यात्राको विश्वसनीयता गुमेको छ । जनताको जनधनको सुरक्षा एवम् स्थल तथा हवाइ यात्रा सुरक्षित बनाउनेतर्फ उचित कदम चालियोस् भनी सरकार समक्ष यो परिषद् बैठक आह्वान गर्दछ ।
१६. संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूलाई मासिक पारिश्रमिक खुल्ने गरी नियुक्तिपत्र दिन र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन विद्यालय सञ्चालक समिति समक्ष र उक्त कुरा नियमन गर्न तिनै तहका सरकार समक्ष यो परिषद् माग गर्दछ ।
१७. मुलुकमा व्याप्त ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारले जनतामा विद्रोहको भाव सिर्जना भएको छ । यसलाई समयमै निराकरण गरी सुशासन कायम गर्न र देशलाई समृद्ध बनाउन यो परिषद् जोडदार माग गर्दछ ।
१८. सार्वजनिक शिक्षाको उन्नयन, विकास र गुणस्तरीय कायम गर्न नेपाल सरकार र शिक्षक समुदायबिच विभिन्न समयमा भएका सम्झौताको मर्म प्रतिकूल हुनेगरी कतिपय माननीय सांसदहरूबाट समग्र नेपाली शिक्षकहरूको मानमर्दन हुने गरी अशोभनीय अभिव्यक्ति दिएको कुराले सबै शिक्षकहरूलाई दुःखी तुल्याएको छ । यस्ता अभिव्यक्तिहरू सच्याइ जिम्मेवार ढङ्गले प्रस्तुत हुन माननीय लगाएत सम्बद्ध सबैमा यो परिषद् बैठक आह्वान गर्दछ ।
१९. हालै छिमेकी राष्ट्र बंगालादेशमा भएको राजनैतिक परिवर्तन त्यस देशको आन्तरिक मामिलाको विषय हो तर विद्रोहका नाममा त्यहाँ भइरहेको अल्पसङ्ख्यक लगायत अन्य नागरिकहरूमाथि गरिएको लुटपाट,हत्या, हिंसा, भौतिक तोडफोड तथा आगजनी जस्ता क्रियाकलाप कदाचित् मनासिब होइनन् । यस्ता अमानवीय हर्कतहरू रोक्न सम्बन्धित पक्षलाई यो परिषद् ध्यानाकर्षण गर्दछ ।
२०. नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेपालको शैक्षिक आन्दोलनको इतिहासमा एकमात्र गौरवशाली सङ्गठन हो। यसलाई कमजोर बनाउन विभिन्न कालखण्डमा अनेकौँ हर्कतहरू भएका छन् तर पनि अनेक शिक्षक सङ्गठनमा विभक्त साथीहरू यस मातृ संस्थामा फर्कने क्रममा यही परिषद्को बैठकमा एल्ल्त्ब् बाट ३४८ जना शिक्षक साथीहरू हाम्रो गौरवशाली सङ्गठनमा समाहित हुनुभएको छ । यो परिषद् सम्पूर्ण समाहित साथीहरूलाई स्वागत गर्दै अरू छरिएर विभिन्न संस्थामा रहनुभएका साथीहरूलाई यो गौरवशाली सङ्गठनमा समाहित हुन आह्वान गर्दछ ।
२१. खोटाङ जिल्ला रावावेशी गाउँपालिका स्थित श्री विश्वज्योति माध्यमिक विद्यालय लामिडाँडामा प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक सावित्रीदेवी नेवार मगर गत २०८१ साल श्रावण ३० गतेका दिन घरबाट विद्यालय जाँदै गरेको अवस्थामा बिहान अन्दाजी ९ : ३० बजे अचानक आएको पहिरोमा परी कार्यसम्पादनको सिलसिलामै दुःखद निधन भएकोमा स्व. शिक्षक सावित्रीदेवी नेवार मागर प्रति भावपूर्ण श्रद्धाञ्जली एवम् परिवारमा गहिरो समवेदना प्रकट गर्दछ । साथै उक्त दुर्घटनाको उचित क्षतिपूर्ति तथा परिवारले पाउने सुविधा अविलम्ब उपलब्ध गराउन यो परिषद् जोडदार माग गर्दछ ।
धन्यवाद !



