काठमाडौं/३१ साउन – अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को शैक्षिक मेला सम्पन्न भएको छ । बिहीबार आयोजना गरिएको मेला विद्यार्थीको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको हो ।
स्टडी इन नेपाल (नेपालमै बसौँ नेपालमै पढौँ) भन्ने नाराका साथ आयोजना गरिएको शैक्षिक मेलामा २३ वटा विदेशी सम्बन्धन प्राप्त कलेजहरुको सहभागीता थियो ।
मेलामा सहभागी विद्यार्थीले अन्तर्राष्ट्रिय सम्बन्धनप्राप्त कलेजहरूले अध्यापन गराउने शैक्षिक कार्यक्रम, छात्रवृत्ति, भर्ना, अध्ययनपछिका अवसरलगायत विषयमा जानकारी लिएका छन् । आइप्यानमा आबद्ध कलेजहरूले विश्वका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमै विदेशी डिग्री उपलब्ध गराउँदै आइरहेका छन् ।

कक्षा १२ पछिको शैक्षिक भविष्यलाई कसरी अघि बढाउने भनेर अन्योलमा रहेका विद्यार्थीलाई यो शैक्षिक मेला लाभदायिक बनेको आइप्यानका अध्यक्ष लक्ष्मण केसी बताए । विदेशमा अध्ययन गर्न गएका विद्यार्थीले विभिन्न समस्या तथा दुःखको सामना गर्नुपरेको उल्लेख गर्दै अध्यक्ष केसीले सम्पूर्ण विद्यार्थीलाई नेपालमै उच्च शिक्षा अध्ययन गर्न आग्रह गरेका छन् ।



