विश्वविद्यालयमा उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग

काठमाडौं/२८ साउन – बागमती प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयले उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको छ । प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९, प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिस सम्बन्धी कार्यविधि, २०८१ अनुसार आवेदन माग गरिएको हो ।
बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्षको नियुक्तिका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारहरू सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालय समयमा आवेदन दिन सक्ने छन् ।


आवेदन दिन संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय हेटौंडामा र सचिवालयमा उपस्थित हुन नसकेमा [email protected] मा आवश्यक कागजात सहित निवेदन पेस गर्न पनि सकिने छ । साथै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश उच्च शिक्षा नियमावली, विधान र सिफारिस सम्बन्धी कार्यविधि प्रदेशको वेबसाइट www.mosd.bagamati.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।


उम्मेदवारले पेस गर्नुपर्ने कार्ययोजना सहितको निवेदन र आवश्यक कागजातहरू


१. निवेदन,
२. वैयक्तिक विवरण
३. विश्वविद्यालयको अवधारणा सहितको व्यावसायिक कार्य योजना (बढीमा ३,००० शब्द सम्म),


४. निवेदनका साथ पेस गर्नुपर्ने थप कागजात र सर्तहरू


क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
ख) उमेर ५६ वर्ष ननाघेको (उमेर खुलेको प्रमाणपत्र ),
ग) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सोभन्दा माथिको शैक्षिक योग्यता भएमा सो बमोजिमका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि,
घ) शैक्षिक प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त भएको हुनुपर्नेछ,
ङ) कम्तीमा दस वर्ष विश्वविद्यालय अन्तर्गत शिक्षण अनुभव भएको वा सरकारी क्षेत्रको अनुभव भएको सम्बन्धित निकायबाट प्रमाणित कागजात,
च) शैक्षिक प्रशासनिक अनुभव भएको प्रमाणित कागजात,
छ) कुनै पनि फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको स्वः घोषणा ( कुनै कानुनले अयोग्य नठहरिएको),
ज) कुनै राजनितिक दलको सदस्य नरहेको स्वः घोषणा,
(झ) व्यावसायिक कार्य योजनाको बाहिरी पृष्ठमा मात्र आफ्नो नाम र दस्तखत गर्नुपर्नेछ ।
ञ) आवेदन पेस गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिनेछ ।