शिक्षा मन्त्रालयको स्वकीय सचिवालयमा ११४ दिन : तर विद्यार्थीका कुरा लिएर कोही आएनन्

चितवन/१४ साउन – (२०८० फाल्गुन ३० देखि २०८१ असार २१) अघिल्लो दिन ग्याल्पो ल्होसार बिदाको दिन खैरहनी नगरपालिका, रत्ननगर नगरपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा वडा स्तरीय कार्यक्रमहरूमा सहभागी भइयो । ब्याच्लर्सका विद्यार्थीहरू पढाई सकिएर बोर्ड परीक्षाको तयारी बिदामा छन् । कक्षा १२ को अन्तिम परीक्षा वैशाखको १४ गते भएकाले पढाई सकिएर QT परीक्षामा छन् । कक्षा १२ परीक्षाको दिनमा कक्षा ११ बिदा दिइएको छ । कक्षा १२को QT परीक्षामा गार्ड बसिरहेको थिएँ । मोबाइलमा फोन आएको संकेत आयो । एक जना रनिङ्ग गार्डलाई एकछिन मलाई सहयोग गरिदिन अनुरोध गर्दै कक्षा कोठाबाट बाहिरिएँ । त्यो फोन पार्टी महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालज्यूको थियो । औपचारीक कुराकानी पछि उहाँले भन्नु भयो । “तपाई केन्द्रीय शिक्षा समितिमा सदस्य हुनुहुन्छ । केन्द्रीय शिक्षा समितिको संयोजक मन्त्री हुनुहुन्छ । यो बेलामा देशको लागी केही गर्नु पर्‍यो । के सोच्दै हुनुहुन्छ ? “हाम्रो पार्टी सरकारमा गएको त्यसमा पनि शिक्षा मन्त्रालय समालेको बेला केही त गर्नुपर्छ भन्ने कामना गरिरहेको थिएँ, त्यस भन्दा बढी त के गर्ने हो र ? मैले जवाफ दिएँ । “होइन आज म मन्त्रालयमा गएको थिएँ, मन्त्रालयमा स्वकीय सचिवालयमा मानिसको भिड थियो । सबै जना मन्त्रिलाई भेट्ने भनेर कराईरहेका थिए । एक जना माननीय हुनुहुँदो रहेछ । हामीलाई वास्ता नगर्ने, अपमान गर्ने भन्दै रिसाउँदै निस्कनु भयो । सचिवालय समाल्न एक जना विद्वान्, यही क्षेत्रको अनुभवी, विश्वासिलो मानिस चाहियो भन्ने मलाई लाग्यो । पहिलो पटक एक्कासि तपाईलाई सम्झिएँ । तपाईँ काठमाडौँ आउनु पर्‍यो । “उहाँले भन्नु भयो । मैले धेरै कुरा सोचिन । देश र जनताको लागी केही गर्छु भनेर निस्किएको मलाई पार्टीले यती भन्दा भो भन्ने कुरा भएन । कहिले आउनु पर्‍यो डा. साप मैले सोधेँ । मैले सुमना दिदीसँग केही भनेको छैन, सल्लाह गरेको पनि छैन, त्यहाँको अवस्था देखेर मैले हजुरलाई सम्झेको हो । म भरे दिदीसँग सल्लाह गरेर तपाईँलाई बेलुका फोन गर्छु । मुकुलजीले भन्नु भयो, । हस् डा. साप ।


बेलुका ८ बज्यो, ९ बज्यो, १० बज्यो फोन आएन । बिहानै उठेर फोनमा मिस्कल हेरेँ, मुकुलजीको छैन । काठमाडौँ जान नपर्ने भएछ, सुमनाजीले पर्दैन भन्नु भएछ कि सौच्दै अब कलेज जानु पर्‍यो भनेर कपडा लगाएर हिँड्ने तयारी गर्दै थिएँ । मोबाईलमा घण्टी बज्यो । फोन डा. सापको थियो । “कृष्णहरि सर बलुकै फोन गर्न खोजको थिएँ । सुमना दिदीसँग राती ९ बजे मात्र कुराकानी भयो । कृष्णहरि पौडेल सरलाई सचिवालयमा ल्याउनु पर्‍यो भन्ना साथ दिदी साह्रै खुसी हुँदै तुरुन्तै बोलाउनु भन्नु भएको छ । तपाई आजै हिड्नु पर्‍यो काठमाडौँ । “हुन्छ, डा. साप म घरमा सल्लाह गर्छु मैले भनेँ । घरमा बलुकै देखि यो विषयमा छलफल भएकै थियो, तर अन्तिम निर्णयमा पुगेका थिएनौँ । चितवनमा बसेर राम्रो आम्दानी गरिरहेका छौँ, सबै परिवार एकै ठाउँमा छौँ । छोराहरू बि.ई. पढाई अन्तिम वर्ष तिर छन् । यो बेलामा अभिभावकको अझबढी आवश्यकता हुन्छ । पैसाको पनि अझबढी जरुरी हुने बेला छ, के गर्ने, कसो गर्ने । जाँदा ठिक हुने हो की नजाँदा ? धेरै समयसम्म केही निर्णय गर्न सकिएन । के गर्ने, के गर्ने । देशको लागि, परिवर्तनको लागि राजनीतिमा हिँडीसकेको मान्छे, आफ्नो व्यक्तिगत स्वार्थमात्र सोचेर पनि भएन । यस्तै दोमनमा केही समय परिरहेँ ।

यो बेलामा अभिभावकको अझबढी आवश्यकता हुन्छ । पैसाको पनि अझबढी जरुरी हुने बेला छ, के गर्ने, कसो गर्ने । जाँदा ठिक हुने हो की नजाँदा ? धेरै समयसम्म केही निर्णय गर्न सकिएन । के गर्ने, के गर्ने ।


त्यसको १० मिनट पछि फेरि मोबाइलमा घण्टी बज्यो । यसो हेरेको माननीय सुमना श्रेष्ठ लेखिएको थियो । माननीय शिक्षा मन्त्री सुमनाजीको फोन थियो । म शिक्षा समितिमा रहे देखी नै सुमनाजीसँग राम्रो चिनजान र केही मिटिङमा भेटघाट पनि भईरहन्थ्यो । सुरु सुरुमा माननीय सुमनाज्यू भन्ने गर्थे । तर एक दिन उहाँले मलाई कृष्णहरिजी हजुरले त्यतिका आदरार्थी शब्द प्रयोग नगर्नुस । मलाई सुमनाजी मात्र भन्नुस्, माननीय, मन्त्रीज्यू आदि इत्यादि प्रयोग नगर्नुस भन्नु भए पछि उहाँलाई सुमनाजी मात्र भन्न थालेको थिएँ । “कृष्णहरिजी महामन्त्रीजीले हजुरलाई फोन गर्नुभयो ?” उहाँले एकै सासमा भन्नु भयो ।” मैले अँ भने ।”


“कृष्णहरिजी मलाई हजुरको आवश्यकता पर्‍यो, मन्त्रालयलाई हजुरको आवश्यकता पर्‍यो, देशलाई हजुरको आवश्यकता प¥यो । देश बनाउनु छ कृष्णहरिजी हजुर जसरी पनि मन्त्रालय आउनु होस् । म सचिवज्यू सँग सल्लाह गरेर हजुरलाई के पोजिसनमा, कुन पदमा राख्नु पर्छ मिलाउँला हजुर जसरी पनि आउनु पर्‍यो ।” उहाँले एकै सासमा भन्नुभयो । दुई मिनेट अगाडी सम्मको मेरो दोधारेपन एकाएक समाप्त भयो । कलेजमा फोन गरेँ । प्रिन्सिपल हरि भण्डारी सर पिएचडीको लागि इन्डिया जानु भएको थियो । म्यासेन्जरमा सबै कुरा जानकारी गराएँ । उहाँले एक मिनेट समय पनि नलगाई तुरुन्तै भन्नुभयो “ यो अवसर हो, शिक्षामा धेरै काम गर्नु पर्ने छन् । तपाईँहरू माथि जनताको आशा र भरोसा छ । तपाईँ मन्त्रालय जानुहोस् । ब्याच्लर्स र १२ कक्षाको पढाई सकिएको छ । ११ को कक्षाको लागि हामी व्यवस्था गरौंला ।“ त्यसपछि दुई जोर कोट पाइन्ट र केही लत्ताकपडाको ब्याग लिएर कलेज जानुको सट्टा गाडीको स्टेरीङ्ग काठमाडौँ तिर मोडाएँ । करिब २ बजे मन्त्रालय पुगेँ । सुमनाजीलाई फोन गरेँ । उहाँ सदनमा जानुभएको रहेछ । स्वकीय सचिवालयमा आकृति घिमिरे र हरिश भट्ट हुनुहुन्थ्यो । आकृतिजी सुरुदेखि नै स्वकीय हुनुहुँदो रहेछ र हरिशजी कानुनविद् र विज्ञको रुपमा हुनुहुँदो रहेछ । सुमनाजी सदनबाट आउनुभयो र सा¥है खुसी हुँदै मलाई स्वागत गर्नुभयो । त्यो दिन थियो २०८० फागनु ३० ।


२०८० चैत्र १ गतेबाट शिक्षा मन्त्रालयमा स्वकीय सचिवको रूपमा काम सुरु गरेँ । मलाई थाहा थियो “शिक्षामा गर्नुपर्ने धेरै छन् । जताततै विकृति मात्रै छन् । जनचाहाना र अपेक्षाहरू धेरै छन् । सामुदायिक विद्यालयमा मापदण्ड अनुसारका सबै शिक्षकको पूर्ति गर्नुपर्ने छ । शिक्षा क्षेत्रको जनशक्ति व्यवस्थापन गर्नुपर्ने छ । कार्यरत सबै शिक्षकहरूलाई सघन क्षमता विकास वा तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । शिक्षण पेसामा मेधावी जनशक्ति भित्र्याउन कानुनी व्यवस्था गर्नुपर्ने छ । प्रारम्भिक बालविकास शिक्षाका शिक्षक तथा विद्यालयका कर्मचारीहरूलाई उपयुक्त तलबको व्यवस्था गर्नुपर्ने छ । हरेक स्थानीय तहले विद्यालय बाहिरका सबै बालबालिकालाई विद्यालयमा ल्याउने रणनीति बनाउनु पर्ने छ । स्थानीय तहको शिक्षा हेर्ने शाखा वा संयन्त्रको पुर्नसंरचना, सबलीकरण र क्षमता विकास गर्नुपर्ने छ ।


सबै तहको सरकारले आफ्नो बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने सङ्घीय प्रारूपको विकास र कार्यान्वयन अनिवार्य गर्नुपर्ने छ । विदेशी कलेज/ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका हरेक शिक्षण संस्थाहरूलाई नियमन गर्दै यिनीहरुलाई मापदण्ड अनुरूप सञ्चालनमा ल्याउने र राज्यको नियम बाहिर गएर सञ्चालनमा आएकाहरूलाई खारेज गर्नुपर्ने छ । दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैन । विद्यालय र विश्वविद्यालयहरूमा दलीय राजनीतिकरणको अन्त्य गर्नुपर्ने छ । शिक्षा ऐन पारित गर्नुपर्ने छ । उच्चशिक्षा विधेयकको मस्यौदालाई सरोकारवाला पक्षसँग राय सुझाव र परामर्श लिएर अघि बढाउनु पर्नेछ । कन्सल्टेन्सीहरू सञ्चालनमा नियमन गर्नुपर्ने छ ।”

विदेशी कलेज/ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका हरेक शिक्षण संस्थाहरूलाई नियमन गर्दै यिनीहरुलाई मापदण्ड अनुरूप सञ्चालनमा ल्याउने र राज्यको नियम बाहिर गएर सञ्चालनमा आएकाहरूलाई खारेज गर्नुपर्ने छ । दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैन ।


हिजो देशको शिक्षा क्षेत्रमा रहेका विविध समस्या र त्यसको समाधान पहिल्याउन मैले धेरै आवाज उठाएँ । यो भएन त्यो भएन, यस्तो हुनुपर्छ भनेर बोल्ने र लेख्ने गर्दै आएँ । समय र परिस्थितिले आज मलाई ति प्रश्नहरूको समाधान खोज्ने ठाउँमा पु¥याएको छ । हिजोका दिनहरूमा उठाएका प्रत्येक प्रश्नहरूको उत्तर खोज्नु पर्नेछ । यतिखेर ममा अझ बढी मिहिनेत र लगनशीलताका साथ अध्ययन अनुसन्धान तथा विश्लेषण गर्नुपर्ने कर्तव्य बोध भएको छ । अनुत्तरित हुने वा कमजोर प्रस्तुति गर्ने छुट मलाई छैन ।


नयाँ शिराबाट नयाँ किसिमको कामको सुरु भयो । बिहान ९ बजे अफिस पुग्ने, मन्त्रीजीसँग १५/२० मिनेट कुराकानी गर्ने, दिनभरी नै मन्त्रालयमा वा खासगरी सचिवालयमा आएका साथीहरू र सेवाग्राहीहरूको समस्या सुन्ने, समाधानको उपाय खोज्ने र आवश्यक परेमा मन्त्रीसँग भेट गराउने, सचिव, सहसचिव, उपसचिव र अधिकृतहरूसँग सहकार्य र छलफल गर्ने दैनिकी यसै गरी चल्ने रहेछ । सबै यूनिभर्ससिटिका रजिस्ट्रार, डिन, रेक्टर, उपकुलपतिहरूसँग यूनिर्भसिटी सम्बन्धी समस्याको बारेमा छलफल, सानोठिमीका सम्पूर्ण निकाय र विभाग, विश्वविद्यालय अनुदान आयोगसँगको छलफल बढी नै हुँदो रहेछ ।


दैनिक भेट्न आउने सङ्ख्या औसतमा ३०/४० जनाको दरले यो १ सय १४ दिनमा ३ हजार भन्दा बढि जनालाई प्रत्यक्ष भेटियो । दैनिक सरदर २ सय जनाको फोन उठाएँ । ६०/७०% भन्दा बढीको समस्या सचिवालयबाट समाधान गरेँ । म आफैले समाधान गर्न सक्ने समस्याहरू आफैले विभिन्न ठाउँमा सम्पर्क गरेर गरेँ । धेरै जसो समस्याहरूलाई सम्बन्धित ठाउँमा पठाएर समाधान गराएँ । सचिव, सहसचिव, उपसचिव अधिकृतहरू सबैसँग राम्रो सम्बन्ध स्थापित गरि मेरो नाम वा सचिवालयको नाम लिनासाथ सहज सुनुवाइ हुने वातावरण बनिसकेकाले सेवाग्राहीको कामलाई सहज भयो । त्यसपछि लगभग १५/२०% जतिलाई मन्त्रीजीसँग भेट गराएँ । लगभग १५/२०% जति सचिवालयमा भेटघाटको लागि मात्र आउनु भएको थियो भने कति त उजुरी, निवेदन र बजेटको माग गर्न मात्र आउनु भएको थियो ।


बजेट भाषण २०८१ जेष्ठ १५ गते भन्दा अगाडी धेरै गाउँपालिका र नगरपालिकाबाट अध्यक्षज्यूहरू, मेयरज्यूहरू र वडाध्यक्षहरू आउनु भयो । हामीले केन्द्रीय मन्त्रालय सञ्चालन गरिरहेका छौँ भने स्थानीय सरकार त उहाँहरूले सञ्चालन गरिरहनु भएको छ । उहाँहरूको अनुभव र सल्लाह हामीलाई मार्गदर्शन हुन सक्छ भन्ने कुरामा म सधैँ सचेत रहेँ । धेरै विद्यालयबाट प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षज्यूहरु मन्त्रालय आउनु भयो । लगभग सबै यूनिभर्सिटीबाट भिसी, रजिष्ट्रारहरू आउनु भयो । सबैलाई सकेसम्म मन्त्रीज्यूसँग भेटाउने मेरो प्रयास रह्यो । मन्त्रीज्यूले मैले सिफारिस गरेका मानिसलाई भेट्न सकेसम्म समय मिलाउनु भयो । एक दुई जना बाहेक भेट्न समय दिएको मानिसलाई फर्काउन परेन ।


तर नेपालमा एउटा नराम्रो परिपाटी विद्यमान रहेछ । कोही मानिस मन्त्रालय छिर्नासाथ पहिलो वाक्य “मन्त्रीज्यू हुनुहुन्छ ? मलाई भेट्नु छ ।” भन्नेबाट सुरु गर्छन् । तपाई को हो, किन भेट्ने ? केही समस्या पर्‍यो कि भन्ने बुझ्दा र मन्त्रीलाई भेट्नु पर्दैन । यहीँबाट समाधान हुन्छ भनेर बुझाउँदा धेरै समय र शक्ति खर्च गर्नु पर्नेरहेछ । हामी बटम टु टप अवधारणामा काम गर्न चाहन्छौँ । उजुरी र समस्यालाई दर्ता गरेपछि मन्त्री, सचिव, सह–सचिव, उपसचिव हुँदै विभागमा जाओस् । त्यहाँ पुग्नासाथ तुरुन्तै शाखाबाट नेपालको वर्तमान कानुन र प्रावधान अनुसार यो यो हुन्छ, यो यो हुँदैन भनेर टिप्पणी गरी फेरी माथितिर आवश्यक परे उप–सचिवले पनि आफ्नो धारण लेखोस् र सह–सचिवमा फरवार्ड गरोस् । सह–सचिवले आवश्यक निर्णय गरेर त्यहीँ फाइल टुङ्गियोस् र सम्बन्धित व्यक्तिलाई खबर गरियोस् । उसले नसके आवश्यक सल्लाह सहित सचिवकोमा जाओस्, उसले निर्णय गरेर फाइल टुङ्गाओस् । उसले नसके मन्त्रीकोमा आवश्यक टिप्पणी सहित अगाडि बढोस् । आवश्यकता हो, पास गर्नैपर्ने हो भने मन्त्रीले टुङ्गाओस् । नसके क्याबिनेटमा लैजाओस् । नियममा परिवर्तन गर्नुपर्ने भएमा सदनमा बहस होस् । यो मेडल हामीले चाहेका छौँ ।

जनताको काम एक मिनट पनि रोकिनु हुँदैन, फाइल भन्नेकुरा दराजमा थन्काउने कुरा होइनन् । यो नटुङ्गिन्जेल सम्म अगाडि बढ्नु पर्दछ नदी जस्तै । मैले यो कुरा सबै कर्मचारीहरूलाई पनि भनेको छु ।


जनताको काम एक मिनट पनि रोकिनु हुँदैन, फाइल भन्नेकुरा दराजमा थन्काउने कुरा होइनन् । यो नटुङ्गिन्जेल सम्म अगाडि बढ्नु पर्दछ नदी जस्तै । मैले यो कुरा सबै कर्मचारीहरूलाई पनि भनेको छु । तर हामी जनताको बानी नै सुरुमै मन्त्रीलाई भेट्ने, तोक लगाउने र उसैले भन्दिओस् सबै कर्मचारीलाई कि उहाँको काम जसरी पनि हुनुपर्छ तर यो उल्टो तरिका हो । मन्त्रीज्यू पनि क्लियर हुनुहुन्छ ।


धेरै ठगी र बदमासीका घटनाहरू पनि यहाँ आउँछन् । वंगलादेश जान खोजेका विद्यार्थीहरूको नाम काटेर नयाँ नाम राखियो भनेर एक हप्ता तनाव भयो । पिपुल्स डेन्टल कलेजमा बिडिएस पढेका मेडिकल डाक्टरहरूलाई २३ लाख भनेर पढाउन थालियो । पछि ३०–३४ लाख रकम मागियो भनेर अर्कै थरि विद्यार्थी आए । पेन्सन पाइएन भनेर शिक्षकको समूह त कहिले हामी कार्यरत शिक्षकलाई लाइसेन्स नभएर तलब नै दिइएन भनेर शिक्षक समूह, बालविकास शिक्षक, सामुदायिक विद्यालय कर्मचारी परिषद्, राहत शिक्षक, शिक्षक महासङ्घ, विद्यालय व्यवस्थापन महासङ्घ, इस्टु, हिस्टुन, प्याब्सन, एनप्याब्सन, हिसान आदि धेरै संघसंस्थाहरू आफ्ना मागहरू लिएर आए । थप यूनिभर्सिटीको माग लिएर धेरै समूह आए तर विद्यार्थीहरूको माग लिएर, राम्रो पढाई गर्नुपर्छ भनेर कोही आएनन् ।


यो १ सय १४ दिन हामी दिनरात नभनि केही गर्न सकिन्छ कि भनेर खटिई रह्यौँ । मन्त्रीज्यू कतै बाहिर जानु भएन । बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म सधैँ मन्त्रालयमा रहनु भयो । आठ, नौ वटा वैदेशिक भ्रमण समेत रद्ध गरियो । पूर्वाञ्चल र बन तथा कृषि विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा समेत नगई मन्त्रालयमा नै समय दिइयो । कुनैपनि कार्यक्रममा प्रमुख अतिथि भएर रिबन काट्ने पानसमा वत्ति बाल्ने गरिएन । मात्र काम, काम, काम । मात्र मन्त्रालय, मन्त्रालय, मन्त्रालय । एउटा काम गर्छु भन्ने मन्त्रीलाई समयको त जति नै गरेपनि कमी हुँदो रहेछ ।


जसरी एउटा चलचित्र तयार हुन, कथा, पटकथा, क्यामेरा, डाइरेक्टर, मेकअप म्यान, भान्छा, शृङ्गार प्रोड्यूसर पनि चाहिन्छ तर फिल्म बनेपछि हिरो, हिरोनी वा कलाकार मात्र देखिन्छन् । त्यसरी नै मन्त्रालयमा प्रत्येक निर्णयको लागि दैनिक गतिविधि सञ्चालनको लागी एउटा ठूलो टिमको साथ सपोर्ट र सहयोग चाहिने रहेछ । त्यसको सबैभन्दा महत्वपूर्ण भाग सचिवालय हुने रहेछ । सचिवालयले धेरै मिहिनेत गर्नुपर्ने रहेछ, धेरै प्रेसर थेग्नु पर्ने रहेछ । विभिन्न समस्या र अनुरोधहरू लिएर मानिसहरू आउनुहुन्छ सचिवालय । यो १ सय १४ दिनमा विद्यालय भवन तथा कक्षाकोठा निर्माणमा बजेटमाग ३ सय २८ (लगभग ७ अर्ब बराबरको), विभिन्न गुनासोहरू ५ सय वटा दरबन्दी मागको ५० वटा निवेदनहरू प्राप्त भए । यी सबैसँग प्रत्यक्ष, फोनमा, ह्वाटस्अप कतैन कतै मलाई जोडिन अवसर मिल्यो । यो सबैलाई दैनिक सन्तुलन मिलाउनु महत्वपूर्ण काम हुने रहेछ ।

यो १ सय १४ दिनमा विद्यालय भवन तथा कक्षाकोठा निर्माणमा बजेटमाग ३ सय २८ (लगभग ७ अर्ब बराबरको), विभिन्न गुनासोहरू ५ सय वटा दरबन्दी मागको ५० वटा निवेदनहरू प्राप्त भए । यी सबैसँग प्रत्यक्ष, फोनमा, ह्वाटस्अप कतैन कतै मलाई जोडिन अवसर मिल्यो । यो सबैलाई दैनिक सन्तुलन मिलाउनु महत्वपूर्ण काम हुने रहेछ ।


यही रफ्तारमा अगाडी बढिरहेको दैनिकीमा एक्कासि ब्रेक लाग्यो । असार १८ गते नयाँ समिकरणको सरकार बन्ने हल्ला मन्त्रालय सम्मै आएको थियो । तर होइन यो समिकरण चुनावसम्म जान्छ भन्ने कुरामा हामीलाई विश्वस्त गराइयो । १९ गते रास्वपा पार्टी केन्द्रीय समितिको मिटिङ महामन्त्री मुकुलजीको शैलीलाई लिएर बसेको थियो । उहाँलाई कारबाही गरेर बैठक उठ्यो ।


हिजोसम्म सकारात्मक रूपमा देश र पार्टीको बारेमा मात्र सोचिरहने महामन्त्रीज्यूमा एकाएक नकारात्मक विद्रोही सोच कसरी आयो ? मुकुलजीमा अनपेक्षित रूपमा आएको परिवर्तन, पार्टीलाई तहसनहस पार्ने अभिव्यक्तिहरू हामीलाई स्वीकार्य छैन । मुकुलजीले पार्टीलाई बारम्बार गरेको प्रहारले हामीलाई नराम्रो चोट पर्‍यएको छ । पार्टी सभापति रवि लामिछाने माथिको यो प्रहार पार्टी माथिको प्रहार हो, सम्पूर्ण भोटर र शुभचिन्तकहरू माथिको प्रहार हो । “घण्टी चिन्हका रूपमा आएको नयाँपन र पार्टी सभापति रवि लामिछाने प्रतिको जनमानसमा रहेको लोकप्रियताका कारण रास्वपाले उल्लेख्य सफलता प्राप्त गरेको स्पष्ट छ ।


पार्टी निर्माण भन्ने कुरा सामान्य होइन, यो एउटा जटिल कार्य हो । त्यस माथि पनि स्थापित गरेर टिकाइ राख्नु त भिन्नै ठुलो चुनौती हुन्छ । त्यसमा वैचारिक, सैद्धान्तिक र सवालगत स्पष्टता चाहिन्छ । संस्थागत पद्धति र प्रक्रिया चाहिन्छ । बलियो सांगठनिक स्वरूप चाहिन्छ । संस्थापनकालीन लक्ष्य र उद्देश्यप्रति दृढ र चट्टानी अडान चाहिन्छ । सङ्गठनात्मक कौशल र व्यवस्थापन रणनीतिक क्षमता चाहिन्छ । राजनैतिक दलहरूमा यी कुराको प्रतिपादन हुन नसक्नु नै घातक दुर्भाग्य हो । अरू भन्दा फरक तरिकाले हिँड्न खोज्ने हामीलाई आफ्नैबाट प्रहार किन ?” पछिल्लो समयमा यस्तै कुरा मन्त्रीज्यूसँग र अन्य शुभचिन्तक साथिहरूसँग पनि बारम्बार भईरहन्छ ।


उता १८ गते रातीनै सरकार परिवर्तन गर्नेगरी नयाँ सम्झौता भएछ । १९ गते एमालेका ८ मन्त्रीहरूले राजीनामा दिएपछि हाम्रो सरकार अल्पमतमा पर्यो । पार्टीले विश्वासको मत सामना गर्ने निर्णय गरेता पनि म मन्त्रालय नबस्ने सल्लाह गरि चितवन फर्किएँ ।


(लेखक कृष्णहरि पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय शिक्षा विभाग सदस्य हुनुहुन्छ । )

[email protected]