काठमाडौँ /१३ साउन – नेपाल राष्ट्रिय शिक्षक संगठनले सबै प्रकारका विद्यालय शिक्षक कर्मचारीहरूको बिदा सम्बन्धी सेवा सुविधामा एकरूपता कायम गर्न माग गरेको छ । सामुदायिक विद्यालयमा दुई दशकदेखि कार्यरत राहत शिक्षकहरूको पेसागत हक अधिकारको हनन् गरिएको भन्दै सो माग गरेको हो ।
संगठनले एक आर्थिक वर्षमा उपभोग गर्न पाउने १२ दिनको बिरामी बिदालाई अर्को आर्थिक वर्षमा सञ्चित गरी राख्ने, उपभोग गर्ने एवम् विद्यालयबाट उक्त समयको तलब भत्ता लिने गरेकोले सो नगर्नको लागि परिपत्र जारी गरी दिएको निर्देशनले शिक्षकहरूको अधिकार हनन् भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।
‘उक्त निर्देशन गरिएबाट सामुदायिक विद्यालयमा दुई दशकदेखि कार्यरत राहत शिक्षकहरूको पेसागत हक अधिकारको हनन् हुने देखिएकोले तत्कालीन शिक्षा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम नै उपभोग गरी आएको बिरामी बिदाको सहुलियतलाई हाल आएर कटौती गर्ने कुराले शिक्षकको कानुनी हक हनन् भएको छ । शिक्षकहरूको बिरामी बिदा सञ्चित गरेर आवश्यकता अनुसार उपभोग गर्न गराउनको लागि सम्पूर्ण सरोकारवालालाई हाम्रो सङ्गठन हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
साथै शिक्षकहरूले आफ्नो स्वास्थ्य बिग्रिएको अवस्थामा उपभोग गर्ने गरी वर्षोँ देखि सञ्चित गरिराखेको बिदालाई हाल आएर उपभोग गर्न नपाउने कुरा मानवीय समवेदना र प्राकृतिक कानूनको समेत विपरीत भएको संगठनको ठहर छ ।
यसले विद्यालयमा विदालिने प्रवृतिलाई बढवा दिनुका साथै सेवाप्रति वितृष्णा पैदा गर्ने र समग्र शिक्षाको गुणस्तरमा ह्रास ल्याउने हुनाले सबै प्रकारका विद्यालय शिक्षक कर्मचारीहरूको बिदा सम्बन्धी सेवा सुविधामा एकरूपता कायम गर्न माग गरेको छ ।



