काठमाडौं/२० असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सिपमूलक तालिमका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताले सीटीईभीटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ ।
बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी र शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको समेत उपस्थिति थियो । साथै सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले पनि समारोहमा उपस्थित रहेको थियो ।
सम्झौतापत्रमा हस्ताक्षर पछि शिक्षामन्त्री सुमना श्रेष्ठले हाम्रो शिक्षाले श्रम बजारको माग अनुसारको सिप दिन सक्नुपर्ने बताइन । ‘सोह्रौँ योजनाले पनि ७०–३० अर्थात् सत्तरी प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत नियमित शिक्षामा जानुपर्ने भनेको छ । हाम्रा युवाहरूलाई देशमै रोक्ने भनेको रोजगार दिएर मात्र सक्छौँ ’ मन्त्री श्रेष्ठले भनिन् । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सम्झौता पत्र कार्यान्वयनमा लैजान सके अशल अभ्यासको विस्तार हुने बताए । विद्युत् प्राधिकरणले विभिन्न परियोजनामा अहिले पनि इन्टर्न राखिरहेको र उनीहरूको काम र अनुभव एकदमै राम्रो रहेको बताए ।
यस्तै उर्जामन्त्री शक्तिबहादुर बस्नेतले हामीले सिप र श्रमलाई संस्कृति बनाउन नसकेकाले विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यवहारिक सिप सिकाउन यो सम्झौता गरिएको बताए । ‘ढल्केवरको एउटा टनेलको काममा ५ सय जना श्रमिक थिए । एक जना पनि नेपाली रहेनछन् । हाम्रा प्राविधिक शिक्षाका विद्यार्थीहरूलाई कार्यस्थल र श्रमसँग जोड्न यो सम्झौता कोशेढुंगा साबित हुनेछ’ मन्त्री बस्नेतले भने ।
समझदारी पत्रको मुख्य उद्देश्य “कमाउँदै सिक्दै“ भन्ने अवधारणालाई सिप विकासमार्फत कार्यान्वयनमा ल्याउनु हो । यस अवधारणाले विद्यार्थीलाई कार्यस्थलमा आधारित सिकाइद्वारा सिप विकासमा गुणस्तर अभिवृद्धि गराउनेछ भने विद्यार्थीहरूको वृत्तिमार्गलाई स्पष्ट पार्दै एप्रेन्टिसलाई उत्प्रेरित गर्न मद्दत पु¥याउनेछ ।
यस सम्झौताले खासगरी सीटीईभीटीमा अध्ययनरत विद्यार्थीहरूलाई ऊर्जा मन्त्रालय मातहतका निकायहरूद्वारा सञ्चालित विकास परियोजनाहरूमा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ । सम्झौता अनुसार ऊर्जा मन्त्रालयले एप्रेन्टिस परिचालन गर्न आवश्यक परियोजनाहरूको सम्बद्ध विषय र क्षेत्रको विवरण पाठ्यक्रम विकासको लागि शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ । ऊर्जा मन्त्रालयले तालिम कार्यक्रम संचालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रचलित नियमअनुसार हुन आउने आर्थिक स्रोत शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ ।
शिक्षा मन्त्रालयले ऊर्जा मन्त्रालयका परियोजनाको आवश्यकता बमोजिमको पेशा तथा व्यवसायमा कार्यस्थलमा आधारित पाठ्यक्रम निर्माण, परिमार्जन र अद्यावधिक गर्ने जिम्मेवारी लिनेछ । ती परियोजनाहरूमा आवश्यक पर्ने तालिममा सहभागीहरूको समूहगत सङ्ख्या तथा पेशागत दक्षताको विवरण उपलब्ध गराउने र सो विवरण पाठ्यक्रमले निर्धारण गरे बमोजिमको हुनेछ । सिप विकास तथा कार्यस्थलमा आधारित एप्रेन्टिसशिप कार्यक्रम सञ्चालनका लागि परीक्षा, सिप परीक्षण, स्तरीकरण, प्रमाणीकरण तथा छनोटका मापदण्ड निर्धारण गर्ने व्यवस्था मिलाउने जिम्मेवारी शिक्षा मन्त्रालयको हुनेछ ।
समझदारीको कार्यान्वयनमा आवश्यक समन्वय गर्नका लागि दुवै पक्षबाट सम्पर्क व्यक्ति तोकी जिम्मेवारी दिने र सोको जानकारी एक अर्कालाई उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नको लागि रोजगार प्रदायक संस्थाहरूसँग ऊर्जा मन्त्रालयको समन्वयमा सहकार्य र सहजीकरण तथा अप्रेन्टिसशिप सम्बन्धमा प्रचार प्रसार गरिनेछ ।
सम्झौताले दीर्घकालमा नेपालका युवाहरूलाई आवश्यक प्राविधिक तथा व्यावसायिक सिप प्रदान गरी देशको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । यस समझदारीमार्फत ऊर्जा मन्त्रालयका विभिन्न परियोजनामा विद्यार्थीहरूको सक्रिय सहभागिता हुनेछ, जसले उनीहरूको व्यवहारिक सिपमा सुधार ल्याउनेछ र रोजगारको अवसर बढाउनेछ ।