काठमाडौं/१७ असार – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटिी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक कार्यक्रमको परीक्षा आवेदन फाराम खुला गरेको छ ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, सामान्य चिकित्सा आयुर्वेद, अकुपन्चर, डेन्टल साइन्स (डेन्टल हाइजिन), अप्थाल्मिक साइन्स, मिडवाइफरी, फार्मेसी, फिजियोथेरापी, योग एन्ड नेचुरोपेथी, फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक एवं डिप्लोमा तह कृषि (बाली) विज्ञान र पशु विज्ञान) को प्रथम, दोस्रो र तेस्रो वर्षको आंशिक परीक्षाहरू भदौमा सञ्चालन हुने भएकोले आवेदन फाराम भर्नका लागि खुला गरेको हो ।
परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम २०८१ साल साउन ०६ गतेभित्र नियमित शुल्कमा र २०८१ साउन १३ गतेभित्र विलम्ब शुल्कमा भरी बुझाउन सुचनामा उल्लेख छ ।
त्यसैगरी प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, लोपोन्मुख जाति अन्तर्गत वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सामान्य चिकित्सा, नर्सिङ, फिजियोथेरापी, फार्मेसी, कृषि (बाली विज्ञान र पशु विज्ञान) र फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले समयमा आवेदन फाराम भर्न अनुरोध गरेको छ ।