काठमाडौँ /८ असार – त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले सबै प्रकारका कर्मचारीहरूलाई अविलम्ब स्थायी गर्न माग गरेको छ । ठेक्का करार कार्यविधि २०६९ लागु हुनु पूर्व त्रि.वि. मा नियुक्ति भैसकेका सम्पूर्ण श्रेणी विहीन कर्मचारीहरू करार सेवामा कर्मचारी नियुक्ति सम्बन्धी विनियम २०७९ लागु हुनु अगावै सबै प्रकारका कर्मचारीहरूलाई स्थायी गर्न माग गरेको हो ।
पेसागत सुरक्षा, वृत्तिविकासका सवालमा धेरै पटक विश्वविद्यालयका पदाधिकारीहरूसँग सम्बाद छलफल गरि थुप्रै विषयमा सम्झौता गरेपनि सम्झौता कार्यान्वयनमा विश्वविद्यालयले उदासीनताले देखाएको र पेसागत इमान्दारीता र विश्वविद्यालय प्रतिको कर्तव्यबोधमा अडिग रहिरहन समस्या पैदा भएको भन्दै माग पत्र पेस गरेको जनाएको छ ।
त्यस्तै त्रि.वि. कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७९/२०८० असोज १९ को संशोधनसहित) लाई संशोधन गरि त्रि.वि. का सम्पूर्ण रिक्त दरबन्दीमा तुरुन्त विज्ञापन प्रकाशित गर्न, विज्ञापन नं १८ को अन्योलतालाई हल गरि सम्पूर्ण परीक्षार्थीहरूलाई न्याय दिन, त्रि.वि. सेवामा कायम रहेको श्रेणीगत प्रणालीलाई खारेज गरी तहगत प्रणाली सुरु गरि तह वृद्धि सम्बन्धी व्यवस्था लागु गर्न माग संघले माग गरेको छ ।
त्यसैगरी यस अघि त्रि.वि. कर्मचारी संघ केन्द्रीय समितिसँग भएका सम्झौताहरू मध्ये विशेष तलबी विदा, घर विदा, औषधी उपचार खर्च, कर्मचारी संघको सदस्यता खुला गर्ने, बढुवा सम्बन्धी विशेष व्यवस्था लगायतका विषयहरूमा नियम संशोधन गरि कार्यान्वयन गर्नु पर्ने भएकोले आगामी त्रि. वि. सभाको बैठकबाट निर्णय गराई लागु गर्न र कार्यान्वयन गर्न बाँकी मागहरू पनि यथाशीघ्र कार्यान्वयनमा ल्याउन भनेको छ ।
संघका मागहरू असार २० गतेभित्र यथोचित र न्यायपूर्ण ढङ्गले सम्बोधन नगरिएमा त्रि.वि. कर्मचारी संघ आन्दोलनको जस्तोसुकै बाटो रोज्न पनि बाध्य हुने चेतावनी दिएको छ ।



