काठमाडौँ /२८ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकमा अघिल्ला बैठकको निर्णयको समीक्षा गर्दै विभिन्न निर्णय गरेको छ ।
बैठकले विषयगत समितिमा सहभागितालाई फराकिलो बनाउन प्रादेशिक तथा भौगोलिक प्रतिनिधित्व र सन्तुलन मिलाई एक पटकमा ७ जना स्थानीय तहको प्रमुखहरूलाई आमन्त्रित सदस्यका रूपमा विषयगत समिति बैठकमा सहभागी गराउने निर्णय गरेको छ । आवश्यकता अनुसार समितिको बैठक हरेक ४ महिनामा बस्ने समेत निर्णय भएको छ ।
बैठकबाट मन्त्रालयमा संरचनागत दोहोरोपना हटाउन मन्त्रालयको ओ एण्ड एममा समावेश गर्ने गरी सङ्गठन व्यवस्थापन सर्भे गर्ने र संरचनागत एकरूपता कायम गर्ने निर्णय भएको छ। सङ्घीय तहमा रहेका हस्तान्तरण गर्नुपर्ने संरचना, स्रोत साधनको विषयमा कानुन संशोधन, परिमार्जन, निर्देशिका, कार्यविधि, मापदण्ड निर्माणका कार्य अगाडि बढाउने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका कार्य एवं संरचना हस्तान्तरणको मोड्यालिटी तयार गर्ने निर्णय भएको छ । शैक्षिक संरचना तथा शिक्षण संस्थाहरूको नक्साङ्कन गरी कार्य सञ्चालनमा चुस्तता र प्रभावकारिता ल्याउने समेत निर्णय भएको छ ।
शिक्षा क्षेत्रका योजना र कार्यक्रममा एकरूपता ल्याइने
तहगत सरकार तथा विभिन्न निकायले निर्माण गर्ने सफ्टवेयरको तथ्याङ्क संरचनालाई एकरूपता कायम गर्ने, तथ्याङ्कको प्राप्ति, विश्लेषण, अध्ययन–अनुसन्धान र उपयोगमा सबैको पहुँच स्थापना गर्ने, सफ्टवेयर निर्माण तथा मर्मत सम्भार खर्च घटाउने, तथ्याङ्क प्रणालीलाई सफ्टवेयर एज सर्भिस (एसएएएस) मोडल विकास गर्ने जस्ता विषय सम्बोधन गरी शैक्षिक तथ्याङ्क प्रणालीलाई भरपर्दो, व्यवस्थित र लागत प्रवाही बनाई वास्तविक तथ्यमा आधारित भएर नीति तथा योजना निर्माण र कार्यान्वयन गर्नका लागि रियल टाइममा मा आधारित एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयनमा लैजाने निर्णय बैठकले गरेको छ ।
असल अभ्यास आदान–प्रदान गरिने
जुम मिटिङ, भाइबर तथा ह्वाट्स एप ग्रुप जस्ता डिजिटल माध्यम मार्फत अन्तर तह र निकाय बिचको सूचना सम्प्रेषण प्रणाली बनाउने पनि बैठकले निर्णय गरेको छ । विद्यालय, स्थानीय तह, प्रदेश र सङ्घले गरेका असल अभ्यासहरूको आदान प्रदान गरी असल अभ्यासहरूलाई अनुसरण गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्नेछ । शिक्षा मन्त्रालयको वेबसाइटमा राम्रा अभ्यास आदान प्रदान गर्ने व्यवस्था गरिनेछ ।
स्टार्ट अप एण्ड इनोभेसन फन्डको प्रभावकारी परिचालन गरी नतिजा मुखी बनाउनका लागि स्थानीय तह र प्रदेश स्तरमा ज्ञान आदानप्रदानका लागि आवश्यक संयन्त्र विकास गर्ने निर्णय भएको छ । विद्यालय शिक्षाको गुणस्तर सुधारको मेरुदण्डको रूपमा रहेका शिक्षकहरूका सक्षमता एवम् वृत्ति विकासका लागि शिक्षक तालिमलाई आवश्यकतामा आधारित, पर्याप्त र पहुँचयोग्य बनाउन आवश्यक कार्य गर्ने निर्णय भएको छ ।



