नीति कार्यान्वयन नहुँदा शिक्षामा समस्या देखिएको सरोकारवालाहरूको भनाई

काठमाडौं /१२ बैशाख – शिक्षा सम्बन्धी नीतिहरू बनेपनि कार्यान्वयन हुन नसक्दा शिक्षामा रूपान्तरण हुन नसकेको विज्ञ तथा सरोकारवालहरूले बताएका छन् ।


एनसिई नेपालले आज आयोजना गरेको शिक्षाका लागि कार्यसप्ताहका सन्दर्भमा सार्वजनिक शिक्षामा रूपान्तरण किन र कसरी ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यले शिक्षामा रूपान्तरण गर्नका लागि बनेका नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा जोड् दिएका हुन् ।


एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गराउनको लागि शिक्षामा रूपान्तरणको विकल्प नरहेको बताए । अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा नीति निर्माताहरू गम्भीर हुनुपर्ने बताउँदै राजनीतिक दलले निर्वाचनका समयमा जारी गरेको घोषणापत्र तथा वाचालाई छोड्न नहुने भनाई राखे ।


काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. प्रमोद केसीले शिक्षामा विनियोजन भएको कुल बजेट मध्ये ३.६ प्रतिशतसम्म मात्रै खर्च हुने देखिएकोले यसलाई पूर्ण रूपमा सदुपयोग गर्नुपर्नेमा जोड् दिए । उनले बजेट निर्धारण गर्दा नै आवश्यकता अनुसार विद्यालयलाई बजेट उपलब्ध गराउन सके शिक्षामा रूपान्तरण ल्याउन सम्भव भएको बताए ।


एनसिई नेपालका पूर्व अध्यक्ष राजकुमार गन्धर्वले शिक्षा मन्त्रालयले आफ्नो दायरा भन्दापनि बाहिर निस्किएर विभिन्न मन्त्रालय, स्थानीय तह र विभिन्न निकायहरूसँग समन्वय गरे मात्रै शिक्षामा रूपान्तरण हुन सक्ने बताए । उनले शिक्षालाई निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नुपर्नेमा जोड्दिँदै शिक्षा राज्यले बेच्न नहुने बताए । साथै शिक्षामा धेरै नीतिको थुप्रो भएको तर कस्का लागि हो भन्ने भ्रम सबै नीति निर्मातामा रहेको बताए ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारीले राज्यले संविधानमा उल्लेख भएका मौलिक हक अनुसार निःशुल्क शिक्षालाई कार्यान्वयन गर्न नसक्ने भए संविधान बाट हटाई दिए हुने भन्दै आक्रोश व्यक्त गरे । भण्डारीले कार्यान्वयन नगर्ने भए आश्वासन नबाड्न र निर्वाचनमा उठ्नका लागि मात्र नलाग्न आग्रह गरे ।


नेकपा एमालेकी नेता तथा सांसद विद्या भट्टराईले नेपालको शिक्षा प्रणाली राजनीतिक दलका कारणले मात्रै बिग्रिएको आरोप लाग्ने गरेको बताउँदै सुधारका लागि सबै लाग्नुपर्ने भनाई राखिन । उनले अहिले पनि २०२८ साल कै शिक्षा ऐन बाट काम चलाईराखिएको बताउँदै बन्दै गरेको नयाँ शिक्षा ऐन समितिमा छलफलमा रहेको र छिटो ल्याउन आफू गम्भीर भएर लागेको प्रस्ट पारिन ।


शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षामा रूपान्तरणका लागि प्रक्रियामै रूपान्तरण गर्न आवश्यक रहेको बताए । उनले शिक्षामा राजनीतिकरण भएपनि दलीयकरण गर्नु अपराध भएको विचार व्यक्त गरे । पछिल्लो समय शिक्षकहरू शिक्षण सिकाईका सवालमा परिवर्तन हुन चाहे पनि यसलाई राज्यले व्यवस्थापन गर्न नसकेको उनको आरोप छ । साथै सबै शिक्षकहरूलाई एउटै डालोमा हालेर हेर्न नहुँने बताउँदै अब्बल शिक्षकलाई अगाडि सार्नुपर्ने, अल्लि कमजोरलाई सिकाउनु पर्ने र सिक्न नसक्ने तथा नचाहानेलाई राज्यले बिदा गर्नुपर्ने धारणा राखे ।