काठमाडौँ /२८ चैत–मर्यादित महिनावारीबारे विद्यालयमा सचेतना नजगाइनुले छात्राको पठनपाठनमा प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । राधा पौडेल फाउण्डेसनले काठमाडौँ, जुम्ला र सर्लाही गरी १८ वर्ष देखी २५ वर्ष उमेर समुहका ४ सय ७१ जनामा गरेको एक अध्ययनमा महिनावारीका कारण छात्रा विभेद, यौन हिंसामा पर्ने गरेको देखाएको हो ।
फाउण्डेसनले मंगलबार आयोजना गरेको ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ बारे आधारभूत सर्वेक्षण प्रतिवेदन माथि छलफल कार्यक्रममा महिनावारी हुँदा ५२ प्रतिशत छात्राको पठनपाठन प्रभावित हुने देखाएको जनाएको छ । साथै लैङ्गिक समानता प्राप्त गर्न विकास, नारीवाद मानवअधिकारको इतिहासमा मर्यादित महिनावारी नयाँ आयाम भएकाले यसलाई जागरणको विषय बनाउनुपर्ने कार्यक्रममा बताइएको छ ।
फाउण्डेसनको अध्ययनमा महिनावारी हुँदा ८५ प्रतिशत विद्यालयले कमसल सेनिटरी प्याड वितरण गरेको पाइएको जनाइएको छ । साथै केही विद्यालयले मर्यादित महिनावारीबारे पढाउने र केहीले सूचना मात्रै टास गरेको भन्ने सुनेपनि विद्यालयमै अनुगमन गर्दा त्यसो नपाइएको जनाए । विद्यालय जानु हुँदैन, विद्यालयमा नाता पर्ने पुरुष हुन्छन्, विद्यालय आफैमा सरस्वतीको मन्दिर हो भन्ने गलत सोचले छात्राहरूमा बीचैमा कक्षा छाड्ने समस्या देखिएको प्रतिवेदनले देखाएको छ । त्यसैगरी १३ प्रतिशत छात्राले विद्यालयमा विभेद भाग्नु परेको बताएका छन् भने ९ प्रतिशत छात्राहरू महिनावारी कै कारण यौन हिंसामा परेको जनाइएको छ ।
सामाजिक अभियन्ता एवं लेखक राधा पौडेलले हरेक मानवको जन्म महिनावारी प्रक्रियाबाट हुने भएकाले महिनावारीको रगत अशुद्ध वा फोहोर हो भनाइ मिथ्या रहेको बताउँदै गुणस्तरीय र नियमित पढाइमा बाधा ल्याउने अध्ययनबाट देखिएको बताइन ।