शिक्षामा महिला नेतृत्व : समान अवसर पाउनुपर्नेमा जोड्

काठमाडौँ/२५ फागुन– ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिक्षामा महिलाको नेतृत्व र भूमिका सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । खबर एजुकेशन अनलाइनको आयोजना र अक्षरा स्कुलको सहयोगमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विज्ञान प्रविधि सचिव, खुला विश्वविद्यालयकी उपकुलपति, शिक्षाविद्, शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका र निरन्तर शिक्षा क्षेत्रमा लागेका महिलाहरूको सहभागिता रहेको थियो ।


हरेक वर्ष खबर एजुकेशनले नारि दिवसको अवसरमा शिक्षा क्षेत्रमा लागेका महिलाहरूको योगदान र गुणस्तरीय शिक्षामा खेलेको भूमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका स्टिम विभाग प्रमुख प्राध्यापक विनोद पन्तले शिक्षामा महिलाको नेतृत्व बारे प्रस्तुति दिएका थिए । पन्तले समाजमा सबै भन्दा सम्मानित व्यक्ति शिक्षक रहेको बताउँदै हामीसँग भएको संस्कार र हामीले गर्ने अभ्यासलाई अपनत्व गर्नुपर्ने बताए । उनले कुनै पनि संस्थामा हाकिमलाई नेतृत्व गर्ने व्यक्ति मान्ने गरेको र शैक्षिक संस्थामा यस्तो अभ्यास गलत भएको भनाई राखे ।


शैक्षिक संस्थाको नेतृत्व अन्य क्षेत्रको भन्दा फरक हुने र त्यसमा शक्तिले भन्दा पनि जानेको बुझेको हने र जो सँगपनि अनुभव हुने भएकोले समूहमा काम गर्न सक्ने क्षमता प्रिन्सिपलमा हुनु पर्ने बताए ।


उनले भने “हामी कहाँ प्राविको कम जान्ने, निमाविको अल्लि जान्ने र माविको शिक्षक धेरै जान्ने भन्ने गर्छौ, तर त्यो गलत हो । यसले गर्दा ज्ञान सबैसँग हुन सक्छ । यदी यसो गरियो भने ज्ञान उत्पादन नहुन सक्छ । प्रिन्सिपलमा शिक्षकलाई सहयोग गर्ने क्षमता हुनु पर्छ । शैक्षिक संस्थामा पोजिसनले भन्दा पनि कसले कति क्षमता देखायो त्यसले पोजिसन निर्धारण गर्छ ।”


त्यसैगरी प्रशासनमा बस्नेले नियम बनाउने र त्यसका आधारमा काम भयो की भएन प्रश्न गर्ने गरेको र शैक्षिक संस्थामा नियम आवश्यक भएपनि एकेडेमीक कुरालाई केन्द्रमा राखेर प्रिन्सिपलले काम गर्नुपर्ने उनको जोड् थियो ।


नेकपा एमालेकी प्रतिनिधि सभा सदस्य माननीय दिपा शर्माले शिक्षामा महिलाले नेतृत्व गरेको देख्दा खुसी लागेको बताउँदै महिलाले बोल्दा पाथी बासेको राम्रो हुँदैन भन्ने समाजलाई महिलकै नेतृत्वमा रूपान्तरण गरेको बताइन । ५१ प्रतिशत भन्दा बढी महिलाको जनसङ्ख्या हुँदा पनि अझै पछाडी परेको र महिलाका लागि बनाइएका कानुन कार्यान्वयन नभएको बताइन ।
शर्माले शिक्षामा भनेजती बजेट नहुनुले धेरै समस्या उत्पन्न भएको भनाई राख्दै शिक्षण पेशालाई मर्यादित पेसा बनाउनुपर्नेमा जोड् दिइन् । देशलाई समृद्ध बनाउनका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताइन ।


संविधानमा शिक्षा निःशुल्क र अनिवार्य भनिएको र कार्यान्वयनमा लैजान चुनौतीका रूपमा रहेको बताउँदै अहिले समितिमा छलफल भइरहेको विद्यालय शिक्षा ऐन सबै एक भएर ल्याउनु पर्ने बताइन । जुन जुन विद्यालयमा महिला प्रधानाध्यापक हुनुहुन्छ त्यहाँ भ्रष्टाचार नभएको, सुशासन र अनुशासन भएकोले महिलाले नेतृत्व लिनुपर्नेमा जोड् दिइन ।


शिक्षा मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमीला बज्राचार्यले प्रारम्भिक बालविकास वा विद्यालय तह देखिनै उच्च तहसम्म महिलाहरूको नेतृत्व हुन आवश्यक रहेको बताउँदै त्यो सम्भव भए पनि महिला आउन नचाहेको बताइन । उनले नारी दिवस महिलाहरूले मात्रै मनाउने भन्दा पनि पुरुषहरूको पनि सहभागिता हुनुपर्नेमा जोड् दिइन ।


खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु मानन्धर बज्राचार्यले पहिलाको समय भन्दा धेरै परिवर्तन, विकास हुँदै आएकोले महिला नेतृत्वमा पुग्न सको भनाई राख्दै समाजका सबै पक्षलाई समावेश गरी विकास गर्न सके मुलुकको अनुहार फेर्न सकिने बताइन । बज्राचार्यले शिक्षामा महिला नेतृत्व आउनका लागि सक्षम हुँदा हुँदै महिलालाई पछाडी पारिएको बताउँदै महिला पुरुषको समानता हुनुपर्नेमा जोड् दिइन ।


महिलाहरू नेतृत्वमा पुगेपनि धेरै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहेको र समाजले त्यसैगरी हेर्ने गरेको नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले बताईन । उनले आफू नेपाल शिक्षक महासङ्घको अध्यक्ष हुँदै गर्दा काम गर्न सक्छे र भन्ने प्रश्न गरेको सुनाउँदै हरेक क्षेत्रमा महिलाले नेतृत्व गर्न सक्षम रहेको भनाई राखिन । आफू अध्यक्ष भइसकेपछि शिक्षक संगठनहरूमा धेरै महिलाहरू नेतृत्वमा आउनका लागि तयार भएको उनको भनाइ थियो । उनले भनिन “हरेक क्षेत्रमा नेतृत्व लिन महिला तयार हुनुपर्छ । आफू सक्षम भएर पनि अधिकार दिएनन भने खोसेर भएपनि लिनुपर्छ ।”


प्याब्सन उपाध्यक्ष दीपिका थापा रिमालले परिवर्तनका लागि महिला नै अग्रसर हुन आग्रह गर्दै प्यब्सनमा पनि महिला नेतृत्व आउनु पर्ने भनाई राखिन । उनले अहिलेसम्म प्याब्सनमा महिला अध्यक्ष कोही नबनेको भन्दै अब नारी हुनुपर्ने बताइन ।


आफूले अक्षरा स्कुलमा संस्कार सहितको शिक्षा अभियानलाई प्राथमिकताका साथ पढाइरहेको र त्यसले बालबालिकामा प्रभाव परीरहेको बताउँदै महिला नेतृत्वले कुनै न कुनै एउटा माइनसेटमा काम गर्न अक्षरा स्कुलकी संस्थापक निर्देशक अञ्जु भट्टराईले आग्रह गरिन । कहिलेकाहीँ चुनौती आएपनि उदेश्य लिएर काम गर्न सके सफल भईने उनको भनाई थियो । देशको विकासलाई हेर्नका लागि महिला कति शिक्षित छन् हेरे पुग्ने बताउँदै संस्कारको जननी आमाहरू नै भएको तर्क राखिन । नारीले आफूले आफैलाई चिनेर आफ्नो नारीत्व जोगाउने आफ्नो संस्कार, संस्कृति बचाएर आफ्नो पहिचानमा आफैले विश्वास गरेर अगाडी बढ्नुपर्ने बताइन ।


कार्यक्रममा प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सुचाना प्रविधि समिति सदस्य मा. दिपा शर्मा,राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला वली, नेपाल खुला विश्वविद्यालयकी उपकुलपति, प्रा.डा. शिलु बज्राचार्य, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमीला बज्राचार्य, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभाग प्रमुख प्राध्यापक विनोद पन्त, नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधर, प्यब्सनकी उपाध्यक्ष दिपीका रिमाल थापा, अक्षरा स्कुलकी संस्थापक निर्देशक अञ्जु भट्टराई, प्रविधि मैत्री शिक्षक समाज ललितपुरकी उपाध्यक्ष तथा शिक्षक मनिता श्रेष्ठ, प्रसिद्ध मोडेल स्कुलकी प्रिन्सिपल शौर्य खनाल, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलकी प्रिन्सिपल सुनिता पौडेल, निर्देशक, एम्बिसन कलेजकी निर्देशक गिता बराल, न्यु मिनेनियम स्कुलकी संस्थापक प्रिन्सिपल कविता अर्याल, ज्ञान संस्कार स्कुलकी प्रिन्सिपल नीलम बानियाँ, श्रृंगार घर स्कुल अफ ब्युटिसियनकी फाउण्डर प्रिन्सिपल शुष्मा रावल, काठमाडौँ डनबस्को कलेजकी प्रिन्सिपल रश्मि शर्मा, संस्कृत इन्टरनेशनल स्कुलकी डाइरेक्टर दिप्ती आचार्य, इम्पेरियल स्कुलकी संस्थापक प्रिन्सिपल जुनीता शाही, अनर्ल ज्योति स्कुलकी प्रिन्सिपल ज्योती केसी, लोकन्थली आधारभूत विद्यालयकी प्रिन्सिपल निमर्ला थापा, रिभेरा स्कुलकी डाइरेक्टर संगिता श्रेष्ठ, सरस्वती आधारभूत विद्यालयकी प्रिन्सिपल इन्दिरा महत, आस्था महिला विद्यालयकी प्रिन्सिपल विना देउजा, सेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्मा, प्रणोदय विद्यालयकी प्रिन्सिपल सरीता अधिकारी, सिद्धिकाली मावीकी प्रिन्सिपल मञ्जु झा, स्किमस् पिब्लीक स्कुलकी प्रिन्सिपल देबु फुयाँल, शिक्षाकर्मी मोहना खनाल, हिमालयन ह्वाइटहाउस कलेजकी निर्देशक अलका सापकोटा, युरो स्टार मन्टेसरीकी प्रिन्सिपल दिपा पाण्डे लगायत महिला शिक्षा पत्रकार, विभिन्न विद्यालयका प्रिन्सिपलहरूको सहभागीता रहेको थियो ।