पर्वत/२१ फागुन – पर्वतका विभिन्न स्थानीय तहहरुले शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका छन् । स्थानीय जनशक्ति तयार गर्ने उद्देश्यले यस्ता कक्षा सञ्चालन गर्न लागिएको हो ।
जिल्लाका विहादी गाउँपालिका र महाशिला गाउँपालिकाले शिक्षक सेवा आयोगसँगै लोक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका हुन् । युवायुवतीलाई निजामती सेवा र शिक्षक सेवा आयोगको रोजगारीतर्फ आकर्षित गराउन र ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति नै तयार गर्ने उद्देश्यले यस्ता कक्षा सञ्चालन गर्न लागिएको जनाएका छन् ।
महाशिला गाउँपालिकाले यसअघि नै सूचना प्रकाशन गरी गत महिनादेखि कक्षा सञ्चालनमा ल्याएको छ भने विहादी गाउँपालिकाले हालै सूचना जारी गर्दै तयारी कक्षामा सहभागी हुने पालिकाभित्रका युवायुवती, विद्यार्थी तथा योग्यता पुगेका अन्य सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशिलामा २५ जनाले नियमित तयारी कक्षा लिइरहेका छन् ।
सरकारी सेवा क्षेत्रमा विहादीभित्रका युवाको न्यून उपस्थितिलाई उच्च बनाउन, आर्थिकरुपले विपन्न तथा जेहेन्दार युवालाई शैक्षिक र रोजगार क्षेत्रमा सहजीकरण गर्ने उद्देश्यले निःशुल्क तयारी कक्षाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिए ।
गाउँपालिकाभित्र बसोबास गर्ने तथा निर्धारित योग्यता पुगेका इच्छुक व्याक्ति कक्षा लिन इच्छुक भएमा गाउँपालिकाको कार्यालयमा पुगेर निवेदन दिन सक्नेछन् । कक्षामा सहभागीलाई जिल्लाभित्र एवं बाहिर रहेका निजामती सेवामा आबद्ध एवं अनुभवी प्रशिक्षकबाट प्रशिक्षण दिइने पनि पालिकाले जनाएको छ । रासस