करिब ६ वर्ष हुँदा पनि शिक्षक महासङ्घको महाधिवेशन सम्पन्न गर्न सकिरहेका छैनौँ

काठमाडौँ /१८ माघ – नेपाल शिक्षक महासङ्घको महाधिवेशन गर्ने समय निकै ढिला भईसकेको छ । विधान अनुसार तीन वर्षमा हुनुपर्ने महासङ्घको महाधिवेशन करिब ६ वर्ष पुग्न लाग्दा पनि हुन सकेको छैन । जिल्ला र पालिकाहरूमा अधिवेशन हुन नसकेपछि तत्काल महाधिवेशनको कुनै तयारी देखिदैन । त्यसैगरी विद्यालय शिक्षा विधेयक बारे शिक्षा समितिले दफावार छलफलको तयारी गरिरहेको छ । शिक्षाकहरूसँग राज्यले गरेका सहमति कार्यान्वयनमा ल्याउन ऐनमा व्यवस्था गर्नुपर्ने शिक्षकहरूलाई दबाब छ । यसै सन्दर्भमा खबर एजुकेशनले नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीसँग गरेको संवाद ।


नेपाल शिक्षक महासङ्घको तीन वर्षमा हुनुपर्ने महाधिवेशन करिब ६ वर्ष पुग्न लाग्दा पनि हुन सकेको छैन, अब महासङ्घ कसरी अगाडी बढ्छ ?


तीन वर्ष अवधी भएको महासङ्घ आज करिब ६ वर्ष पुरा हुँदैछ । हामीले महासङ्घको अधिवेशन, महाधिवेशन सम्पन्न गर्न सकिरहेका छैनौँ । यो मुलुकको शिक्षा ऐन, शिक्षा नियमावली र समग्रमा सरकारले नै चिनेको आधिकारिक संस्थाको रूपमा रहेको महासङ्घ अद्यावधिक हुन नसक्दा वास्तवमा हाम्रा बिचमा धेरै समस्याहरू आएका छन् । यो विषयमा नेपाल शिक्षक संघ अत्यन्तै गम्भीर भएको छ ।


हिजो मात्रै मैले अब महासङ्घ कुनै पनि अवस्थामा गठन गर्नुपर्छ भन्ने भएकोले महासङ्घका अध्यक्ष र महासचिवलाई तत्काल बैठक राख्न र तुरुन्त निकास दिन आग्रह गरेपछि माघ २२ गते महासङ्घको बैठक बोलाइएको छ । त्यसबाट छिटो भन्दा छिटो महासङ्घको संरचनालाई पूर्णता दिनेगरी अगाडी बढ्दै छौँ । अहिलेसम्म २५ जिल्लामा अधिवेशन सम्पन्न भईसकेको अवस्थामा करिब ४५ भन्दा बढी जिल्ला भई सकेपछि हामीले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सोच बनाएका छौँ । त्यो सङ्ख्या पुर्‍याउनका लागि अब हामीले जिम्मेवार संस्थाका साथीहरू सबै मिलेर आबद्ध संस्थाका अध्यक्ष, महासचिव र महासङ्घको सबै टिमहरू आफै गएर तत्काल मिति दिने र सङ्ख्याका आधारमा घोषणा गर्ने गरी प्रदेश राष्ट्रिय महाधिवेशन गर्ने सोच बनाएका छौँ ।


बारम्बार छिटो अधिवेशन गर्न विभिन्न माध्यमबाट निर्देशन दिँदा पनि जिल्लाहरूमा अधिवेशन हुन नसक्नुलाई के भन्नु हुन्छ ?


हामी धेरै विकल्पहरूमा गयौँ । ति सबै विकल्पहरूमा जाने सन्दर्भहरूमा सबै जिल्लाहरूमा गठन गर्न सकेनौँ त्यसकारणले अन्तिम विकल्पका रूपमा अघि मैले भने जस्तै हामी महासङ्घको टिम र आबद्ध संस्थाका अध्यक्ष महासचिवहरू नै सम्बन्धीत क्षेत्रमा गएर गठन गरेर फर्किने सोचमा छौँ । यस भन्दा अगाडी पत्राचार भयो, मिति तोकियो तर त्यसले काम गरेन भन्ने कुरालाई हामीले एउटा शिक्षाको रूपमा सिकेर अब जुनसुकै अवस्थामा पनि गठन गर्ने र संरचना बनाउने गरी अगाडी बढेका छौँ ।


यो अवस्थामा शिक्षकहरूले महासङ्घको औचित्य के भन्ने प्रश्न गरेको सुनिन्छ, आम शिक्षकलाई के भन्नु हुन्छ ?


यस्ता प्रश्नहरू उठ्ने गरेका छन र यी जायज पनि छन् । ती प्रश्नहरूको उत्तर छिटो भन्दा छिटो महासङ्घ गठन गरेर दिन चाहन्छौँ । अहिले शिक्षा र शिक्षकका पक्षमा महासङ्घ जति सक्रियताका साथ लाग्नु पर्ने थियो कार्यावधि लामो भई सकेपछि र धेरै कोणबाट प्रश्न उठ्ने भैसकेपछि जुन रूपमा अगाडी बढेर सक्रियता देखाउनु पर्ने थियो त्यो नहुँदो रहेछ । त्यसकारण तत्काल गठन प्रक्रियामा गएर पूर्णता दिने पक्षमा हामी लागि रहेका छौँ ।


महासङ्घको नेतृत्वमा संघबाट लैजाने सहमति भएको छ, अब कस्तो नेतृत्व लिएर जाँदा ठिक हुन्छ जस्तो लागेको छ रु
नेपाल शिक्षक संघ नेपाल शिक्षक महासङ्घको सबै भन्दा ठुलो आबद्ध संस्था भएका नाताले अबको नेतृत्व नेपाल शिक्षक संघले गर्नुपर्छ र गर्छ भन्ने सबै तिर छ । नेपाल शिक्षक संघले कस्तो नेतृत्व अगाडी बढाउने भन्ने सन्दर्भमा संघ सँग विगतमा लामो समयसम्म शिक्षा क्षेत्रमा अनवरत रूपमा काम गरेका अनुभवी नेताहरू धेरै हुनुहुन्छ । ती अनुभवी नेताहरूबाटै नेतृत्वमा लैजान्छौँ ।


शिक्षा विधेयकको सवालमा शिक्षा समिति दफावार छलफलमा जाने तयारीमा छ, यसबारे कस्तो योजना बनाउनु भएको छ रु माग सम्बोधन नभए के गर्नु हुन्छ ?


अहिले विद्यालय शिक्षा विधेयक संसदको विशेष समितिमा दफावार छलफलमा रहेको छ । हामीले एक चरण आफ्ना कुराहरू राखि सकेका छौँ । सभापति र माननीयहरू यसमा सबै सकारात्मक देखिनु भएको छ । सबैसँग छलफल गरेर फागुन भित्रै निष्कर्ष लेख्ने तयारी गरिरहनु भएको छ । निष्कर्ष लेख्नु पूर्व पुन नेपाल शिक्षक महासङ्घसँग बसेर छलफल गर्ने सभापति र अन्य माननीयहरूले भन्नु भएको छ ।


नेपाल शिक्षक संघले त्यसलाई तार्किक निष्कर्षमा लैजानका लागि नेपाली काँग्रेसका तर्फबाट शिक्षा समितिमा रहनुभएका माननीयहरूलाई केही दिन भित्रै हाम्रै कार्यालयमा आमन्त्रण गरेर हाम्रा कुरा बुझाउने योजनामा छौँ । विगतमा गरिएका सम्झौताहरू ऐनमा ल्याउने विषयलाई ऐनमा ल्याउने र नियमावलीमा ल्याउने विषयहरू नियमावलीमा ल्याउने गरी सहमति भएको छ । अहिलेसम्मको प्रक्रियामा धोका हुन्छ भन्ने लागेको छैन । ठिक बाटोमा हिँडेका छौँ र यसले निकास पाउछ भन्ने विश्वास छ । यदी फेरि पनि धोका भयो, अविश्वासमा गयो, गुणस्तरीय शिक्षाका विरुद्ध सणयन्त्रहरू भए भने हाम्रो अरू विकल्प के नै रहन्छ र फेरि सङ्घर्षमा नै जाने हो । त्यो भन्दा बलियो सङ्घर्षमा जान बाध्य हुने छौँ ।