त्रिविले ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्रै आवेदन लिने

काठमाडौँ /१ असार – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले साउन १ गतेदेखि ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गरिएको जनाएको छ । चार वर्षे स्नातक तह अन्तर्गतका बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो ।


साउन १ गतेदेखि शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन नगरिने परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलले जानकारी दिए ।


आवेदन दिँदा विद्यार्थीले आफ्नो रजिष्ट्रेसन कार्डमा भए बमोजिमको विवरण दुरुस्त भर्नुपर्ने र अनलाइन प्रणालीबाटै तोकिएको शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।


विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइट www.exam.tu.edu.np मा गएर ’स्टुडेन्ट पोर्टल’ मार्फत आफ्नो विवरण भरी आवेदन दिन सक्नेछन् ।