उच्च शिक्षा विधेयकको मस्यौदा : निजी र सामुदायिकलाई सिन्डिकेट गर्न खोजीयो

काठमाडौँ /१८ माघ – हिसानका अध्यक्ष रमेश सिलवालले उच्च शिक्षामा सिन्डिकेट गर्न खिजिएको बताएका छन् । उच्च शिक्षा विधेयकको मस्यौदा माथि टिप्पणी गर्दै निजी र सामुदायिक क्षेत्रलाई सिन्डिकेट गर्न खिजिएको बताएका हुन् ।


विधेयकको मस्यौदामा निजी र सामुदायिक क्षेत्रलाई विश्वविद्यालय खोल्न पाउने प्रावधान नराखिएको र त्यसै अनुरूप विधेयक बनेको उनको तर्क छ । सरकारले लगानी गरेर खोल्न सक्ने तर त्यही लगानी निजी क्षेत्रले गर्छौ, सरकारलाई कर तिर्छौ, सरकारले भन्दा गुणस्तरको शिक्षा दिन्छौँ भन्दा त्यसलाई रोक्ने गरी विधेयकको मस्यौदा तयार पारियो । सरकारले सामर्थ्य भएका लाई विश्वविद्यालय सञ्चालन गर्न दिदैन, सामर्थ्य नहुनेलाई विश्वविद्यालय सञ्चालन गर्न दिन्छ” उनले भने ।


कतिपय विश्वविद्यालयमा आफ्नो उपकुलपति, प्रोफेसर हुने क्षमता नभएका मान्छे रहेको, योग्यता नभएका व्यक्तिहरूलाई राख्नु पर्ने बाध्यता रहेको र त्यसको लगानी कस्ले गर्ने भन्ने एकिन नभएको, चार वर्ष जागिर मात्रै खाने हिँड्ने भएकोले अपनत्व लिने मान्छे नभएको सिलवालको भनाई छ । यसै सन्दर्भमा निजी क्षेत्रमा जिम्मेवारी लिने व्यक्ति भएकोले विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने र विधेयमा उल्लेख गर्नुपर्ने बताए ।


त्यसैगरी सामुदायिक विश्वविद्यालय समुदायले अपनत्व महसुस गर्न पाउनु पर्ने बताउँदै निजीलाई मात्रै नभएर सामुदायिक विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने उनको सुझाब छ ।


आफुहरू गुणस्तरीय शिक्षाका लागि प्रतिस्पर्धा गर्न तयार भएको र मापदण्ड बनाएर सञ्चालन गर्न दिए गुणस्तर र सेवामा विश्वस्तरको शिक्षा दिन तयार रहे पनि प्रतिस्पर्धा गर्न नदिएर निजी र सामुदायिकलाई हतोत्साहित गर्ने गरी विधेयकको मस्यौदा आएको उनले बताए ।


उनले भने “विधेयकले सरकारी तहमा विश्वविद्यालय खोल्न सक्ने भने पनि लगानी कस्ले गर्ने भन्ने गम्भीर विषय छ । केही विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या कम छ, त्यसलाई हेर्ने हो भने प्रति विद्यार्थी ८ लाख ६९ हजार सम्म खर्च हुन्छ । केन्द्रीय विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयमा ३५ हजारबाट घटेर यो वर्ष प्रति विद्यार्थी खर्च २४ हजार छ । जसले मेडिकलदेखि इन्जिनियरिङ पढाउछ । एउटा विश्वविद्यालय र अर्को विश्वविद्यालयमा प्रति विद्यार्थी हुने खर्चका विषयमा ठुलो अन्तर छ । यसबारे छलफल हुन आवश्यक छ । संस्कृत र लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रति विद्यार्थी खर्च ३ लाख भन्दा बढी छ । त्यो खर्च राज्यले गर्न सक्छ की सक्दैन ? “


साथै संस्कृत विश्वविद्यालयलाई संस्कृत पढाउन र लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धिजम पढाउनका लागि खोलिएको हो भने त्रिभुवन विश्वविद्यालयमा संस्कृत र बुद्धिजम पढाउन आवश्यक नरहेकोले विधेयमा यसलाई व्यवस्थापन गर्नुपर्ने उनको सुझाब छ । भाषा, दर्शन, चिन्तन र मौलिकाताका बारेमा पढाउने विश्वविद्यालयलाई फरक फरक बनाउन आवश्यक नभएकोले एउटै बनाउन उनको सुझाब छ ।