काठमाडौँ /१६ माघ – विद्यार्थीको सङ्ख्या अत्यधिक धेरै भएको भन्दै क्यानाडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा कटौती गर्ने निर्णय गरेपछि यसले विद्यार्थी तथा अभिभावकमा अलमल देखिएको छ । विशेष गरेर उच्च शिक्षा अध्ययनका लागि आवेदन दिएका विद्यार्थीलाई क्यानाडा गएपछिको अवस्था कस्तो हुने हो भन्ने विषयले समेत दोधारमा पारेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या धेरै हुँदा विद्यार्थीको सङ्ख्या नियन्त्रण बाहिर गएको, विद्यार्थीहरूले रोजगार पाउन नसकेको, भाडामा आवास पाउन नसकेको भन्दै विद्यार्थीको सङ्ख्यामा कटौती गर्ने निर्णय गरेको छ । विद्यार्थीको सङ्ख्या धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको सरकारको भनाई छ ।
क्यानाडाका अध्यागमन मन्त्री मार्को मेन्डिसिनोले अर्को दुई वर्षमा क्यानाडामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रवेशलाई नियन्त्रण गर्ने उद्देश्यले अस्थायी उपायहरूको घोषणा गरेका छन् । घोषणाको उद्देश्य अस्थायी आवासको दिगो स्तर कायम राख्न र क्यानाडाको शिक्षा प्रणाली भित्रको महत्वलाई विश्वव्यापी रूपमा बढाइ राख्नका लागि गरिएको बताएका छन् ।
घोषणा गरिएका मुख्य बुँदाहरू
१. अध्ययन अनुमति : क्यानाडा सरकारले लगभग तीन लाख चौँसठ्ठी हजारको सङ्ख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भित्राउने गरी सिमा निर्धारण गरेको छ । यसले जुन २०२३ को तुलनामा ३५% प्रतिशतले विद्यार्थीहरू घटने छन् । यो नीतिबाट विद्यार्थीको ठुलो सङ्ख्या कटौती हुने चिन्ता गरेका प्रान्तहरूलाई उनीहरूको जनसङ्ख्याको आधारमा शैक्षिक संस्थाहरूको गतिविधिहरूलाई व्यवस्थापन गर्न सहयोग गर्ने घोषणा गरेको छ ।
२. प्रादेशिक प्रमाणीकरण आवश्यकता : आवेदकहरूले अब उनीहरूको अध्ययन अनुमति आवेदनहरूको साथमा प्रादेशिक प्रमाणीकरण प्रदान गर्न आवश्यक छ ।
३. पोस्ट–ग्य्राजुएटमा कामको अनुमति : पोस्ट–ग्रेजुएट कार्यक्रमहरुमा अध्ययनरत विद्यार्थीहरुले काम गर्न नपाउने व्यवस्था गरेको छ । तर, मास्टर्स, डाक्टर, चिकित्सा क्षेत्र र कानुनमा पढ्दै गरेका विद्यार्थीले भने काम गर्न पाउनेछन् ।
४. डिपेन्डेनमा अध्ययन गर्न जानेका लागि कामको अनुमति : उच्च शिक्षा अध्ययनका लागि डिपेन्डेनमा जाने विद्यार्थीहरूलाई समेत सीमित गरेको छ । यसका लागि स्नातकोत्तरमा डाक्टर र व्यावसायिक कार्यक्रमहरूमासँगै जाने विद्यार्थीहरूमा मात्रै सीमित हुनेछ ।
५. नयाँ विद्यार्थीहरूमा लागु : अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानाडा सरकारले घोषणा गरेको नीति अनुसार नयाँ विद्यार्थीहरूमा लागु हुने जनाएको छ । हाल भर्ना भएका विद्यार्थीहरू वा उनीहरूको अध्ययन विस्तार गर्न खोज्नेहरूका लागि यो नीति लागु हुँदैन । साथै सरकारले यो नीति दुई वर्षका लागि लागु हुने र दुई वर्ष पछि अवस्था हेरेर नीति परिवर्तन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गरिने जनाएको छ ।
नयाँ नीति घोषणा पछि मन्त्री मेन्डिसिनोले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र शिक्षा प्रणाली सुधारका लागि नयाँ नीति घोषणा गर्नुपरेको बताएका छन् । उनले नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरेजस्तो देखिएपनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि घोषणा गरिएको प्रस्ट पारे । साथै गलत गतिविधि गर्ने संस्थाहरूलाई नियमन गर्न प्रान्तीय सरकारहरू सँगको सहकार्यमा नीति कार्यान्वयन गरिने जानकारी दिए ।
प्रादेशिक सहकार्य र सहयोग :
क्यानाडाका मन्त्री सेनफ्रेजरले प्रान्तीय सरकारहरूसँग सहकार्य गरेर विश्वविद्यालय र कलेजहरूलाई सहयोग गर्नुपर्ने बताए । उनले विद्यार्थी कटौती पछि केही सार्वजनिक विश्वविद्यालय र कलेजहरूमा आर्थिक समस्या उत्पन्न हुन सक्ने भन्दै सहकार्य र सहयोग गर्नुपर्ने बताए । साथै सार्वजनिक विश्वविद्यालय र कलेजहरूमा सम्भावित आर्थिक प्रभावहरूलाई सम्बोधन गर्न सावधानी पूर्वक लागु गरिएका उपायहरूसँग ओन्टारियोले नयाँ आगमन विद्यार्थीहरूमा ५०% कमीको सामना गर्ने अपेक्षा गरिएको छ ।
नयाँ नीति लागु गरेपछि विश्वविद्यालय र सरोकारवालहरूको चिन्ता :
क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीमा कटौती गर्ने नीति लागु गर्दै गर्दा यसले विश्वविद्यालयहरूमा र शिक्षा प्रणालीमा पार्ने प्रभाव बारे विश्वविद्यालय र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
क्यानाडाका विश्वविद्यालयहरूका अध्यक्षहरूको प्रतिनिधित्व गर्ने संस्थाले पहिले नै बोझ रहेको प्रणाली माथि थप तनाव हुने अनुमान गर्दै प्रान्तमा आधारित विद्यार्थीको सङ्ख्या सीमित गर्ने बारेमा चिन्ता व्यक्त गरेका छन् । आवेदकहरूलाई उनीहरूको अध्ययन अनुमति आवेदनको साथ प्रादेशिक प्रमाणीकरण प्रदान गर्न भर्खरै लागु गरिएको आवश्यकताले प्रक्रियामा ढिलाइ हुन सक्ने चिन्ता व्यक्त गरे । यस्तो प्रक्रियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू उच्च शिक्षाका लागि अन्य देशहरूमा मोडिने जनाएका छन् ।
त्यसैगरी १ सेप्टेम्बर २०२४ देखि लागुहुने नीतिले नाफामा सञ्चालित हुने शैक्षिक संस्थामा उत्पन्न हुने समस्याहरूलाई सम्बोधन नगरिएको जनाएका छन् । सार्वजनिक–निजी साझेदारीमा सञ्चालन शैक्षिक संस्थाहरूमा स्नातकोत्तरमा अध्ययन गर्ने विद्यार्थीलाई काम गर्न अनुमति नदिएपछि समस्या हुने र यसलाई सरकारले सम्बोधन नगरेको बताएका हुन् ।
उनिहरुले सुझाब दिँदै अध्ययन अनुमतिका लागि योग्य विद्यालयहरू स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरू कामका लागि पनि योग्य हुने हुँदा एकल प्रणाली लागु गरेर भएपनि काम गर्न दिनुपर्ने सुझाब दिएका छन् ।

त्यसैगरी निजी रूपमा नियमन गरिएका क्यारियर कलेजहरूको छाता संगठनले नीति निर्माताहरूले यी संस्थाहरूलाई अनुचितरूपमा लक्षित गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थी प्रणालीलाई स्थिर गर्ने सरकारको प्रयासलाई समर्थ नगर्ने बताउँदै यसबारे सहज समाधान खोज्न आग्रह गरेको छ ।
क्यानाडा कलेज एण्ड इन्स्टिच्युटहरुको राष्ट्रिय संघले यस्तो नीतिले पोस्ट–सेकेन्डरी शिक्षालाई दूरगामी असर गर्न सक्ने भन्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि गन्तव्यको रूपमा क्यानाडाको प्रतिष्ठामा अवरोधहरू र सम्भावित क्षतिबाट बच्न प्रान्तहरूसँगको सहकार्यमा सावधानी पूर्वक कार्यान्वयन गर्न आवश्यकता रहेकोमा जोड दिएको छ ।



