म जस्ता शिक्षक न्याय खोज्न कहाँ जाने सरकार ?

सुर्खेत/१२ माघ – २०६५ सालमा दस जोड दुईको कक्षा सञ्चालनको अनुमति लिएर कक्षा ११/१२ अध्यापन गराउन ग्रामीण क्षेत्रका तत्कालीन अवस्थामा स्नातकोत्तर योग्यता प्राप्त शिक्षक नपाउँदा सरोकारवालाहरू हार गुहार मागेर बारम्बार अनुनय विनय गर्दा पनि चरम राजनीति र बाटोको असुविधाका कारण जो कोही शिक्षक भएर जाने वातावरण थिएन । मेरो त्यति बेला स्नातकोत्तर तहको शोधपत्र सकिएको थिएन, थेसिस बाँकी भए पनि हुन्छ भन्ने कुरा विद्यालय प्रशासनबाट भए पछि, विद्यालयको दस जोड् दुईका कक्षा धानीदिन पर्यो भनेर आग्रह गरेपछि म आफ्नो घर बिरेन्द्रनगर सुर्खेत बजार देखी ५० किमि दुरिमा रहेको विद्यालयमा जाने निर्णय गरे ।


साबिक अवलचिङ्ग गाविस वडा न ४ हाल चिङ्गाड गापा वड न ५ अबस्थित श्री भैरव माबी अवलचिङ्ग सुर्खेतमा मिति २०६५ भाद्र १ गते देखि साबिक उमावि तह अङ्ग्रेजी विषयको शिक्षक पदमा निजि श्रोतमा नियुक्ति भै २०६८ मंसिर १८ गते विद्यालयको शिक्षक छनौट उपसमितिको सिफारिस र विद्यालय व्यवस्थापन समिति श्री भैरव उच्च माबी अवलचिङ्ग सुर्खेतको २०६८-९-२२ मा बसेको बैठकको निर्णय अनुसार २०६८-०८-१८ गते देखि लागु हुने गरि साबिक उमावि तह अङ्ग्रेजी शिक्षक पद सङ्घीय सरकारको अनुदान कोटामा नियुक्त भएर पढाइ रहे ।


जिल्ला शिक्षा कार्यालय सुर्खेतको २०७२-११-१९ गतेको चलानी न १४४८ को पत्र अनुसार उक्त कार्यालयमा अभिलेखमा रहेको र तत्कालीन साबिक उमावि तहमा नियुक्ति प्रक्रियाका लागि शिक्षा ऐनमा लाइसेन्सको प्रावधान थिएन ।


तर हाल आएर व्यक्तिगत रिसवत साधी २०७९-१२-२१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार २०७०-०१-१२ गते भित्र विद्यालय प्रशासनमा माबी स्थायी लाइसेन्स पेस गर्न पत्राचार गर्ने भनी निर्णय भएता पनि कुनै जानकारी बिना अकस्मात् २०८० बैशाख देखी तलब रोकि राखिएको छ । हालसालै भएको मावि तहको स्थायी अध्यापन अनुमति पत्रको परीक्षाको २०८०-०६-१८ प्रकाशित नतिजामा उत्तीर्ण भएको सप्रमाण सहित २०८०-०६-२४ गतेका दिन विद्यालयमा तलब निकासको लागि निवेदन दिदा समेत तलब पाउन सकिन ।


विद्यालय प्रशासन तथा चिङ्गाड गापाको कार्यालयले शिक्षा सेवा आयोगको २०८०-०२-१४ को शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतलाई लेखेको पत्रको हवाला दिदै २०८० देखी रोकि राखेको तलब निकासाको बदलामा २०८०-०९-०४ को चलानी ७०८ को पत्रबाट मलाई विद्यालयमा हाजिर नगराउन निर्देशन भएको निर्णय सुनाईयो ।


विद्यालय व्यवस्थापन समितिको २०८०-०९-१२ को बैठकको निर्णय अनुसार २०८०-०९-१३ गतेको चलानी १६९ को मेरो नाममा लेखिएको पत्र अनुसार २०८०-०९-२९ गतेसम्म शिक्षा मन्त्रालय मातहतका निकायबाट जागीर थमौतीको पत्र ल्याउनुहुन्न र सो नभएमा सेवामा निरन्तरता दिइरहन नसकिने पत्रमा उल्लेख छ । विद्यालय र स्थानीय तहमा पक्षीकरण गर्दा एक अर्कालाई दोष लगाउने र मलाई दुःख दिने काम अहिलेसम्म भइरहेको छ । यसै सन्दर्भमा दुबै संस्थाको मिलेमतोमा लाइसेन्स नभएको अयोग्य शिक्षक नियुक्त गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ट्ङ्गाल काठमाडौँमा समेत उजुरी परेको र तलब भत्ता निकासा नगर्न शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतले मौखिक निर्देशन दिएको हुँदा राजीनामा दिएर निकास निकाल्न मलाई दबाब आयो । यदि म अयोग्य नै हो भने तत्कालीन अवस्थामा मलाई साबिक उमावि तहमा नियुक्त गर्ने उक्त विद्यालय, विषय विज्ञ, जिसिका प्रतिनिधि र मेरो नियुक्ति समर्थन गर्ने जिल्ला शिक्षा कार्यालय पनि म बराबर नै दोषी हुनु पर्ने होइन र ?


अर्कोतर्फ २०६८ सालमा साबिक उमावि तहमा अनुदान कोटामा नियुक्त हुँदा लाइसेन्सको अनिवार्य प्रावधान थिएन हाल शिक्षा ऐनको आठौँ संशोधन बाट लाइसेन्स अनिवार्य भएको भनी शिक्षण सेवाबाट हटाउने प्रपञ्च गर्नु र बर्तमान संविधान लागु हुनु पूर्व १८ वर्ष उमेर पुगेर अभिभावकको सहमतिमा बिहे गरेकालाई अहिलेको संविधानले बाल विवाह गरेको मान्छ भनेर दण्ड सजाय दिनु जस्तै हो ।


म कार्यरत विद्यालय र चिङ्गाड गापाले प्राकृतिक तथा सामाजिक न्यायको सिद्धान्त र कोरोना महामारीको विपत्तिको शून्य समयको मान्यता विपरीत मलाई शिक्षण सेवाबाट नै अवकाश दिने नियोजित रूपमा चालेको कदम विरुद्ध, स्थानीय तहका राजनैतिक नेतृत्व हुँदै जिल्ला प्रदेश र केन्द्रसम्म धाउँदा समेत मैले न्याय पाउन सकेको छैन ।


पेसागत निरन्तरता र हालसम्मको तलब भत्ता निकासाको लागि शिक्षकहरूको पेसागत सुरक्षाको खातिर स्थापित सङ्घ संस्था र महासङ्घ मार्फत समस्या निराकरण गर्न शिक्षा मन्त्रालय ,कानुन मन्त्रालय र प्रतिनिधि सभा अन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समेत साबिक उमावि तहका शिक्षकको संस्था हिस्टुनले आवाज उठाएको छ सरकाले यसको सुनुवाइ गर्नु पर्दैन रु र आवाज उठाएकोमा हिस्टुनप्रति आभारी छु ।


विगतमा विद्यालयलाई र गाविसलाई परेको अप्ठ्यारो टारेको मलाई अहिले पेशाबाटै हटाउने र २०८० बैशाख देखीको तलब भत्ता नदिएर ठूलो पुरस्कार प्रदान गरेको महसुस गरेको छु । ममा भएको ऊर्जाशील र सिर्जनात्मक क्षमता भर पुर प्रयोग भैसकेको र अन्य क्षेत्रमा जान सक्ने उमेर हद समेत सकिएको मध्य चालिसको दशक उमेरमा म माथि भएको यस्तो व्यवहार उखुको रस सकिए पछि छोक्रा थुके जस्तै वा मिठास सकिएको चुइँगम थुके जस्तै नै महसुस भएको छ ।


यस्तो परिस्थितिमा मेरो पहुँचले भ्याएसम्म सम्बन्धित र सरोकारवाला सबै स्थान र राजनैतिक ब्यक्तिसम्म बारम्बार धाइसकेको छु । तर पनि बिसको उन्नाइस नभएको अवस्थामा अब म न्याय माग्न कहाँ जाउँ सरकार ? म मात्रै होइन म जस्तै धेरै शिक्षकहरू हुनुहुन्छ जो अन्यायमा पर्नु भएको छ । तसर्थ हामी जस्ता अन्यायमा परेका शिक्षक न्याय खोज्ने कहाँ जाउँ ?

शिक्षक अनन्त राज पन्त