काठमाडौं/ ९ माघ – शैक्षिक परामर्श संस्था सञ्चालन गर्न उच्च शिक्षा आयोगबाट अनुमति लिनु पर्ने प्रस्ताव गरिएको छ । उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा शैक्षिक परामर्श सञ्चालन गर्न चाहाने संस्थाले आयोगबाट अनुमति लिने व्यवस्था गरेको हो ।
विधेयकको मस्यौदामा उच्च शिक्षाको नियामक निकायका रुपमा उच्च शिक्षा आयोग रहने र यसै अन्तर्गत परिच्छेद १४ मा अन्य शैक्षिक कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ । उच्च शिक्षा सम्बन्धी विधेयकले शैक्षिक परामर्श संस्थहरुलाई अन्यमा राख्दै सञ्चालनका लागि आयोगबाट अनुमति लिनुपर्ने प्रस्ताव गरेको छ ।
विधेयकको मस्यौदाको दफा ७० को उपदफा ३ मा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि शैक्षिक परामर्श सेवा सञ्चालन गर्न चाहाने संस्थाले सो कार्य सञ्चालन गर्नु पूर्व आयोग समक्ष अनुमतिको लागि तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । यसै दफाको उपदफा ४ मा उपदफा (३) बमोजिम पर्न आएको निवेदनका सम्बन्धमा आयोगले छानबिन गराउन सक्ने उल्लेख छ ।
साथै उपदफा ५ मा उपदफा (३) बमोजिम निवेदन उपयुक्त देखिएमा वा (४) बमोजिम छानबिनको क्रममा ब्यहोरा मनासिब देखिएमा आयोगले तोकिएको बमोजिम धरौटि राख्न तथा अनुमतिपत्र दस्तुर बुझाउन लगाई सञ्चालन अनुमति पत्र प्रदान गर्नेछ ।
उपदफा १ मा विदेशमा सञ्चालन हुने उच्च शिक्षाको तयारीलाई लक्षित गरी सञ्चालन हुने तयारी कक्षा वा विदेशमा अध्ययन अध्यापन हुने भाषा शिक्षण कक्षा सञ्चालन गर्न चाहाने संस्थाले आयोगबाट अनुमति लिने प्रस्ताव विधेयकको मस्यौदामा उल्लेख छ । यसका लागि अनुमति, दर्ता, नवीकरण, नियमन तथा व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति दिदै आएको थियो । साथै शैक्षिक परामर्श संस्था दर्ता तथा नविकरण गराएपछि एउटै संस्थाले परामर्श र तयारी कक्षा वा विदेशमा अध्ययन अध्यापन हुने भाषा शिक्षण कक्षा सञ्चालन गदै आएका थिए ।



