काठमाडौं /७ माघ – राष्ट्रिय परीक्षा बोर्डले शोधपत्र (रिसर्च पेपर) तयार पार्नका लागि अनुदान दिने भन्दै प्रस्ताव सहित आवेदन माग गरेको छ । माध्यमिक तहको परीक्षा सुधार, मूल्यांकन र गुणस्तर मापन, नतिजा विश्लेषण एवं परीक्षासँग सम्बन्धित विषयमा शोधपत्र तयार पार्नका लागि प्रस्ताव माग गरेको हो ।
बोर्डले तीन तहका निम्ति शोधपत्र (रिसर्च पेपर) तयार पार्न अनुदान दिने र त्यसका लागि स्नातकोत्तर, एमफिल र पीएचडीका निम्ति क्रमशः ७५ हजार, एक लाख र एक लाख २५ हजार रुपैयाँ अनुदान दिन लागेको हो ।
आवेदक स्नातकोत्तरको हकमा दोस्रो सेमेस्टर पास गरेको, एमफिलमा पहिलो सेमेस्टर पास गरेको र पीएचडीमा रजिस्ट्रेसन भइसकेको नेपाली नागरिक हुनुपर्नेछ । साथै आवेदन दिने म्याद आउँदो फागुन १५ गतेसम्म दिनुपर्ने बोर्डले जनाएको छ ।



