काठमाडौँ /२६ पुस – काठमाडौं महानगरपालिका शिक्षा विभागले, काठमाडौँ महानगरपालिका वडा नं. ७ स्थित पशुपति मित्र माध्यमिक विद्यालयका माध्यमिक शिक्षक ज्योती पाण्डेलाई सेवाबाट हटाउने निर्णय गरेको छ । गत जेठदेखि विद्यालयमा उपस्थित नभएपछि सेवाबाट हटाउने निर्णय गरेको हो ।
पाण्डेलाई काठमाडौँ महानगरपालिकाले वडा नं. १६ मा रहेको श्री तरुण माध्यमिक विद्यालय, बालाजुबाट श्री पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलमा सरुवा गरिएको र सरुवा भएको विद्यालय कतै पनि उपस्थित भई कामकाज गरेको नदेखिए पछि सेवाबाट हटाउने जनाएको छ ।
साथै पटक पटक पत्राचार सार्वजनिक सूचना प्रकाशन र जानकारी गराउँदा समेत अटेर गरी सरुवा गरिएको विद्यालयमा नगई सूचनाको बेवास्ता गरेको र पदीय दायित्व पूरा नगरेको पाइएकोले शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) उपदफा (५) बमोजिम नोकरीबाट हटाउने प्रक्रिया अघि बढाउने विभागको भनाई छ ।
सूचनामा भनिएको छ ‘सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र स्वयं उपस्थित भई हटाउनु नपर्ने भएमा कारण पेस गर्नुहुन सूचित गरिन्छ । अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ को खण्ड (ख) र (ग) बमोजिम नोकरीबाट हटाउन आवश्यक प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत जानकारी गराइन्छ ।’




